युनियन, प्राइम र गुराँस लाइफ मर्ज हुँदै, सम्झौतामा हस्ताक्षर गर्न बैठक बस्दै

Advertisement

काठमाडौं । बीमा क्षेत्रमा अहिलेसम्म कै ठूलो मर्जर हुने भएको छ । तीन वटा जीवन बीमा कम्पनी गुराँश लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स मर्जरमा जाने अन्तिम तयारीमा जुटेका हुन् । 

स्रोतका अनुसार अहिले काठमाडौंको एक होटलमा यी तीनवटै कम्पनीका सम्बन्धित अधिकारीहरुले मर्जरमा जाने तयारी गरिरहेका छन् । उक्त मर्जरको (एमओयू) सम्झौता भएसँगै यो बीमा क्षेत्रमा हालसम्मकै ठूलो मर्जर हुनेछ ।

Advertisement

जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपियाँ तोकिएसँगै यी कम्पनीहरु मर्जरमा जाने भएका हुन् । अहिले प्राईम लाइफको चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९६ लाख रुपियाँ रहेको छ । त्यस्तै, युनियन लाइफको दुई अर्ब १५ करोड रुपियाँ मात्रै छ र गुराँस लाइफको चुक्ता पुँजी दुई अर्ब ८ करोड ४२ लाख रुपियाँ रहेको छ । मर्जरपछिको पुँजी ७ अर्ब रुपियाँभन्दा धेरै हुनेछ ।

हालसम्म जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै पुँजी नेपाल लाइफ इन्स्योरेन्सको आठ अर्ब रुपियाँ छ । अब तीन जीवन बीमा कम्पनीहरु मर्जरमा गएसँगै यी कम्पनीहरुको चुक्ता पुँजी दोस्रो ठूलो चुक्ता पुँजी हुनेछ । पाँच अर्ब रुपियाँ बराबरको चुक्ता पुँजीका लागि युनियन लाइफले तीन अर्ब ६० करोड रुपियाँ, प्राईम लाइफले २ अर्ब २२ करोड रुपियाँ तथा गुराँस लाइफले दुई अर्ब ९१ करोड रुपियाँ थप पुँजी पुर्याउनु पर्ने बाध्यता सिर्जना भएको हो ।  

Advertisement

Advertisement