नेपाल-चीन संयुक्त विज्ञप्तिः 'बीआरआई'लाई संवृद्धिको आधारको रुपमा स्वीकार

Advertisement

काठमाडौँ । नेपालमा २३ बर्षपछि चिनियाँ राष्ट्रपतिको भएसँगै दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालयमार्फत सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा चीनको विश्वव्यापारी रणनीतिक योजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)लाई दुवै देशको साझा संवृद्धिको आधारको रुपमा स्वीकार गरिएको छ ।

दुई देशका उच्च राजनीतिक नेतृत्वबीच भएको द्धिपक्षीय बैठकमा भएको छलफलका आधारमा जारी गरिएको विज्ञप्तिमा दुवै देशले एक अर्काको चासोलाई सम्मान गर्ने र नेपाली भूमि चीनविरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने कुरा उल्लेख छ । यस्तो छन् विज्ञप्तिमा रहेका कुराहरु

  • दुवै देशले एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एकअर्काको चासो र सरोकारलाई सम्मान गर्नेछ । नेपाली पक्षले एक चीन नीतिमा अडान दोहोर्‍याउँदै ताइवान चीनको अभिन्न अंग रहेको र तिब्बत चीनको आन्तरिक मामला भएको धारणा स्पष्ट पारेको छ । नेपाली भूमीबाट चीन विरुद्धको कुनै पनि गतिविधि हुन नदिने प्रतिवद्धता नेपालले दोहोर्‍याएको छ।

  • राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र द्रुत आर्थिक विकासका आधारमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई चीन सरकारको सहयोग कायम रहने।

  • द्विपक्षीय उच्चस्तरीय भ्रमण र आदानप्रदानलाई निरन्तररुपमा अघि बढाउने । सरकारका मन्त्रालयहरु, विभाग, कानुनी निकाय र राजनीतिक दलबीचको आदानप्रदान निरन्तर राख्ने।

  • बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाइ सेवा आदि माध्यमबाट हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्ने। क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्यन गर्ने र यसलाई काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे परियोजनाका रुपमा अघि बढाउने । झाङमु।खासा बन्दरगाहलाई पुनःसञ्चालन, जिलोङ।केरुङ नाकालाई अद्यावधिक गर्ने र लिजी।नेचुङ नाका जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने । अरनिको राजमार्गको स्तर उन्नति गर्ने र स्याफ्रुबेंसी–रसुवागढी सडक समेत पुनर्निर्माण गर्ने। जिलोङ।केरुङ हुँदै काठमाडौं जोड्न सुरुङहरु निर्माण गर्ने । कोशी, गण्डकी र कर्णाली कोरिडर निर्माणमा प्रतिबद्धता दोहोर्‍याउने।

  • चीनको सिचुवान प्रान्तको छेङ्दूमा नेपालको कन्सुलेट जेनेरल स्थापना गर्न समझदारी भएको छ।

  • दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुद बनाउँदै विभिन्न क्षेत्रहरुमा दुवै मुलुकको हित हुने गरी सहकार्य गरेर अगाडि बढ्ने।

  • संयुक्त राष्ट्रसंघमा नेपाल र चीनले आपसी सहकार्यलाई थप मजबुद बनाउने। दुई मुलुकबीचको हित हुने क्षेत्रीय मुद्दामा सहकार्य गर्दै अघि बढ्ने।

  • चनियाँ राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयम थपिएको।

  • दुई मुलुकबीच शिक्षा, पर्यटन, आयुर्वेदिक, मिडिया, थिंक ट्यांक लगायतमा प्रवर्द्धन गर्ने।

  • चिनियाँ सरकारको तर्फबाट सय वटा कनफ्युसयिस इन्स्टिच्युट छात्रवृत्ति प्रदान गर्ने।

  • नेपालको पर्यटन प्रवर्द्धनमा चीनको पक्षबाट सक्दो सहयोग गर्ने र भ्रमण वर्षमा पनि सहयोग रहने।

  • दुई मुलुकबीच सीमा व्यवस्थापन सम्बन्धी समझदारीमा भएको हस्ताक्षारमा सहमति जनाइएको।

  • सगरमाथा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्धको द्योतक रहेको उल्लेख गर्दै चिनियाँ पक्षले जलवायु परविर्तन र वातावरण संरक्षणमा जोड दिने। चीन र नेपालले संयुक्त रुपमा सगरमाथाको उचाइको घोषणा गर्ने सहमति। र विभिन्न वैज्ञानिक अनुसन्धान गर्ने।

Advertisement

Advertisement

Advertisement