तरकारी र फलफूलमा बिचौलिया अझै हटेन, उपभोक्ता सधैं मारमा

Advertisement

काठमाडौं । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार विकास समिति २४ घण्टा जागा हुन्छ तर बिहान २ बजेदेखि सुरु भएको चहलपहल ११ बजेसम्म कायम हुन्छ ।

उपत्यका र वरपरका तरकारी तथा फलफूलका ठूला व्यापारीदेखि साइकलमा घुमेर बेच्ने र किराना पसलमा तरकारी बेच्ने साना व्यापारीको बिहानैदेखि घुइँचो हुन्छ । सस्तो तरकारी पाइन्छ भनेर गृहणीहरू आउने गर्छन् तर कालीमाटीका लागि सबैभन्दा ठूलो समस्या भनेको मूल्य नै हो । बिचौलियाले पत्रपत्र गरेर मूल्य बढाउँछन् ।

छैन मूल्यसूची
त्यहाँको मूल्य कसैको नियन्त्रणमा छैन । खुद्रा व्यापारी त्यहाँ पुग्दासम्म तरकारीको मूल्य के हुन्छ भन्ने थाहा हुँदैन । त्यहाँ ठूला व्यापारीलाई सोधपुछ गरेपछि मात्र थाहा हुन्छ । मूल्य थाहा नहुँदा कतिपय व्यापारी तथा उपभोक्ता ठगिएको देखिएको छ । सरकारले सबै पसल तथा होटलमा देखिने गरी मूल्यसूची राख्न अनिवार्य गरेको छ । तरकारी बजारमा मूल्यसूची नै छैन ।

कालीमाटीको गेटभित्र छिर्नेबित्तिकै कुन तरकारी कति मूल्यमा पाइन्छ भनेर जान्नै समस्या भएको दुखेसो सानेपाका खुद्रा व्यापारी विपीन केसीले गरे । न समितिले देखिने गरी कहीँ सूची राखेको छ न कुनै स्टलमा मूल्यसूची झुण्डिएको पाइन्छ, त्यसले गर्दा त्यहाँका व्यापारीले भनेकै मूल्यमा तरकारी किन्न बाध्य हुनुपरेको उनी बताउँछन् ।

कालीमाटी तरकारी बजारभित्र समितिको भवन छ । भवनमाथि मूल्यसूची प्रदर्शन हुने ठूलो बोर्ड छ तर त्यो दुई महिनादेखि बन्द छ । मूल्यसूची अद्यावधिक गर्ने बजार सहायक राजेश श्रेष्ठसँग मूल्यसूचीबारे जिज्ञासा राख्दा उहाँले आफ्नो मोबाइल खोलेर मूल्य देखाए । उनले भने, “फेसबुक, अनलाइनमा मूल्यसूची हेर्न सक्नुहुन्छ ।”

मूल्यसूची कसरी अद्यावधिक गर्नुहुन्छ ? भन्ने जिज्ञासामा श्रेष्ठले बजारको अनुगमन गरी व्यापारीसँग सोधेर मूल्य तय गर्ने गरिएको जनाए । समर्थन मूल्य तोकेको छैन । दिनैपिच्छै मात्र होइन, घण्टैपिच्छे मूल्य फरक हुन्छ अर्थात् कालीमाटी बजारको मूल्य नियन्त्रणमा छैन । बिहान ३ बजेदेखि ५ बजेसम्म एउटा मूल्य हुन्छ भने ५ बजेदेखि ७ बजेसम्म अर्को र फेरि ७ बजेपछि अर्को मूल्यमा बिक्री भइरहेको हुन्छ । यस्तो हुनुको एउटै कारण तरकारी बजार किसान तथा उपभोक्तामुखी नहुनु हो । कालीमाटी तरकारी बजार न किसानमुखी हुन सकेको छ, न उपभोक्तामुखी । त्यसैले बजारको मूल्य सरकारको नियन्त्रणभन्दा बाहिर रहेको विश्लेषण गरिएको छ ।

किसानको पहुँच तरकारी बजारसम्म छैन । व्यापारीले किसानकै खेतमा गएर तरकारी किन्छन् । ठूल्ठूला व्यापारीले किसानलाई कालीमाटी बजारको गेटभित्र छिर्नै नदिएको गुनासो छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरे कालीमाटी तरकारी बजार किसान तथा उपभोक्तामुखी हुन नसकेको स्वीकार गरे  ।

फरक फरक मूल्य
एउटै बजारमा फरक फरक मूल्य पाइएको छ । काउलीको बिहीबार बिहान ४ बजेको मूल्य २०, २३ र २५ रुपियाँ प्रतिकेजी थियो । यो ठाउँअनुसारको काउलीको मूल्य हो । तराईको काउली सस्तो छ । पाँचखाल, काभ्रे, चितवनतिरको काउली महँगो छ तर त्यही गाडीबाट झारेको काउली त्यहीँका व्यपारीले खरिद गरेर आफ्नो स्टलमा राखेपछि त्यसको मूल्य ४० रुपियाँ प्रतिकेजी पुग्यो । उपभोक्ताको भन्सासम्म पुग्दासम्म ५० देखि ६० रुपियाँ पुग्छ ।
कालीमाटीका व्यापारी केशव रिमाल भन्छन, “कालीमाटीको तरकारीको मूल्य ठीक भए पनि सो मूल्यलाई बिगार्ने काम खुद्रा व्यापारीले गरेका छन्, जसको दोष कालीमाटी तरकारी बजारलाई परेको छ ।”

व्यापारी भीमसेन शाही ठाकुरी भन्छन्, “किसानबाट किनेर कालीमाटीसम्म ल्याउँदा ढुवानी, प्याकेजिङ लगायतका खर्च हुन्छ, त्यसैले मूल्यवृद्धि हुन्छ । झन् किराना पसलसम्म पुग्दा त किसानको खेतबाट किनेभन्दा धेरै फरक हुन्छ । न किसानले राम्रो भाउ पाउँछन् न उपभोक्ताले सस्तो नै । बिचौलिया र व्यापारीले अनेक चरणमा भाउ बढाउँछन् ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement