आवश्यक परे सच्याएर एमसीसी पास हुन्छः परराष्ट्रमन्त्री, सच्याउने कुरा मान्य हुन्नः अमेरिका

Advertisement

रूपन्देही । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आवश्यक परे केही बुँदा सच्याएर वा हटाएर भए पनि एमसीसी सम्झौता अनुमोदन हुने बताएका छन् । 

अमेरिकी अधिकारीहरुले सम्झौता सच्याउने कुरा आफूहरुलाई मान्य नहुने बताइरहेको बेला मन्त्री ज्ञवालीले आवश्यक परे सच्याएर पास गर्ने कुरा दोहोर्याएका हुन् । प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले आफ्नो पार्टी नेकपाले पनि सम्झौताका केही बुँदा परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको सुनाए । 

Advertisement

अमेरिकी राजदूत र्याण्डी बेरीले एमसीसी कम्प्याक्टमा अहिले आएर कुनै संशोधन हुन नसक्ने बताइसकेका छन् । उनले केही महिनाअघि बीबीसी नेपालीसँग कुरा गर्दै सम्झौता टुङ्गोमा पुर्याउन पाँच वर्षसम्म दुई देशबीच कुराकानी भइसकेको,  सम्झौताका अन्तरवस्तुहरूबारे कैयन् चरणमा छलफल भएपछि सन् २०१७ मा नेपाल सरकार र अमेरिकी सरकारले हस्ताक्षर गरेको स्मरण गराएका थिए । 
एमसीसी सम्झौतामा अस्पष्ट रहेका केही बुँदाको उत्तर खोजेर भए पनि अनुमोदन गरिने भन्दै उनले भने, ‘एमसीसीका विषयमा पार्टीमा उठेका अस्पष्ट र सच्याउनु पर्ने बुँदा हटाएर वा सच्याएर भएपनि पारित हुन्छ, एमसीसी नेपालका लागि जरुरी छ ।’ 

उनले नेपालको विद्युत विस्तारका लागि क्रस बोर्डर ट्रान्समिसन लाइन विस्तार जरुरी रहेको र यो कुरा एमसीसीसँग जोडिएकाले यस सम्झौतालाई प्राथमिकतामा राखिएको भन्दै सरकार एमसीसी सम्झौतामा रहेका अस्पष्टता हटाएर पास हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । 

अर्थतन्त्र चलायमान गराउने गरी सरकार अघि बढेको बताउँदै उनले आर्थिक क्षेत्रको पुनरुत्थान हुने गरी सरकारले मौद्रिक नीति सार्वजनिक गरेको, पर्यटन व्यवसायमा सहुलियत प्याकेज, व्यवसायीका लागि न्यूनतम ब्याज, थप ऋणलगायतका सहुलियत प्रदान गरिएको बताए । 

Advertisement