रकम नभएको चेक काटेर करोडौं ठगी गरी फरार रहेकाहरु पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले करोडौं रुपियाँ ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका उनीहरु पक्राउ परेका हुन् । 

विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनीहरुलाई फैसला कार्यान्वयनको चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । निज प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नविल बैंक, सनराईज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ् कसूरजन्य अपराध गरेकोले अदालतले उनीहरुलाई बैंकिङ् कसूरमा सजायको फैसला गरेको थियो । 

Advertisement

प्रमोद ढुङ्गेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीका आधारमा उच्च अदालत पाटनको २०७६ पुस २५ गतेको फैसलाले हाल भरतपुर मनपा वडा नं. १४ हनुमाननगर घर भई काठमाडौंको रानीबारीस्थित अटो प्रालिका संचालक बर्ष ५१ का रामबहादुर अधिकारीलाई क्रमशः २१ दिन  कैद तथा दुई करोड १६ लाख २४ हजार एकसय जरिवाना, १८ दिन कैद तथा छ लाख ५० हजार जरिवाना र १६ दिन कैद तथा नौ लाख ५० हजार जरिवाना गरी कुल जम्मा ५५ दिन कैद तथा दुई करोड ३२ लाख २४ हजार एक सय जरिवाना गरेको थियो । 

तर, अभियुक्त फरार रहेकाले सजाय वेरुजु रहँदै आएको थियो । निजलाई लुकिछिपी बसिरहेको अवस्थामा सीआईबीको टोलीले आइतबार खैरेनी–८, चितवनबाट पक्राउ गरेर चितवन जिल्ला अदालतमा पेश गरिएको हो । 

त्यस्तै, वुना महत र गितादेवी अधिकारीको जाहेरीका आधारमा बैंकिङ् कसूरको मुद्दामा उच्च अदालत पाटनबाट गत जेठ ३२ २०७६ फागुन १० मा दोषी ठहर भएका हालको चन्द्रागिरी नपा वडा नं. २, चिसापानी बस्ने बर्ष ३१ का सुवास थापालाई क्रमशः १० दिन कैद तथा २९ लाख ७९ हजार जरिवाना र सात दिन कैद तथा ३० लाख जरिवाना गरी जम्मा १७ दिन कैद तथा ५९ लाख ७९ हजार जरिवाना गरेको थियो । 

फरार रहँदै आएका थापालाई सीआईबीले पुल्चोक, चितवनमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको हो । 

साथै, मिनाकुमारी अम्गाईको जाहेरीमा बैकिङ्ग कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७५ असार २४ गते दोषी ठहर भएका गोरखा गण्डकी गापा वडा नं. २ बस्ने बर्ष २९ का विष्णु अम्गाईलाई एक महिना कैद र १० लाख रुपियाँ जरीवाना गरिएको थियो । सजाय वेरुजु रही फरार रहेका निजलाई प्रहरीले भरतपुरबाट पक्राउ गरी आज अदालतमा पेश गरेको छ । 

Advertisement

Advertisement