शेयर बजारमा दैनिक रेकर्ड ब्रेकः यस्ता छन् कारण, जोखिम कति ?

Advertisement

काठमाडौं । केही समय यता शेयर बजारले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । गत वर्षको यसै अवधिमा ११ सय बिन्दुको हाराहारीमा रहेको नेप्से परिसूचक हाल २५ सय बिन्दुमाथि आइपुगेको छ । 

पुँजी बजारमा अहिले धेरै लगानीकर्ताको आकर्षण र विश्वास बढेकाले पनि नेप्से सूचकले दैनिक नयाँ रेकर्ड बनाउन सफल भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ताले उच्च मनोबनको साथ लगानी गरिरहेका छन् । 

Advertisement

कोरोना महामारीको समय भएकाले अहिले अन्य क्षेत्रको लगानीबाट खासै राम्रो कमाइ छैन् । बैंकहरुमा पनि लगानीयोग्य रकम प्रचुर मात्रामा छ । अहिले शेयर बजारमा ग्रिहिणी, बिद्यार्थी लगायत देश विदेशमा छरिएर बसेका नेपालीहरुको प्रवेश छ ।’

विदेशबाट आउने रेमिटान्स पनि केही मात्रामा शेयर बजारमा आएको छ । शेयर बजारमा ठूलादेखि लिएर सबै खालका लगानीकर्ताहरु सक्रिय रहेका छन् । हाल डिम्याट खाताको संख्या २७ लाख नाघेको छ । अनलाईन सेवा लिनेको संख्या लगभग चार लाख पुगिसकेको रौनियार बताउँछन् । 

अहिले दैनिक सरदर ८० हजारदेखि ९० हजार अनलाईन ट्रान्जेक्सन भइरहेको छ । यस कारण पनि बजारले दैनिक नयाँ रेकर्ड बनेको उनको भनाई छ । यता पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नेप्से सूचकले दैनिक नयाँ रेकर्ड कायम गर्नुको कारण बैंकिङ क्षेत्रमा अधिक तरलता हुनु, लगानीकर्ताले सस्तो ब्याजदरमा ऋण पाउनु र अन्य क्षेत्रको लगानीभन्दा अहिलेको अवस्थामा शेयर बजारको लगानी सुरक्षित हुनुले बजारलाई उत्साहित बनाएको बताउँछिन् ।

यस हप्ताको अन्तिम दिनसम्म नेप्से परिसूचकले २७ सय बिन्दुसम्मको यात्रा तय गर्नसक्ने शेयर बजार विश्लेषक बिष्णुप्रसाद बस्याल बताउँछन् । त्यसपछि भने शेयर बजारमा सामान्य उतार चढावहरु आउने उनी बताउँछन् । बस्याल भन्छन्, ‘अहिले अधिकांश लघुवित्त क्षेत्र, इन्स्योरेन्स क्षेत्र र अन्य क्षेत्रको त्रैमासिक प्रतिवेदन सकारात्मक आएको छ । बैंकिङ क्षेत्रमा पनि खासै नकारात्मक असर परेको छैन् । यसले गर्दा पनि शेयर बजारमा उत्साह आएको छ । 

छोटो समयका धेरै उचाइ कायम गरेको शेयर बजारमा जोखिम कति ? 
शेयर बजारप्रति लगानीकर्ताको बढ्दो उत्साह कायम राख्न सके बजारले अझै उचाइ लिने विश्लेषकहरुको धारणा छ । अहिलेको बजार छोटो समयमा धेरै उचाईमा पुगेको कारण लगानीकर्ताले कम्पनीको राम्रो विश्लेषण गरेरमात्र लगानी गर्नुपर्ने फोरमका अध्यक्ष रौनियार बताउँछन् । 

उनी भन्छन्, ‘अहिले बजारमा वित्तीय विवरण सार्वजनिक नै नगर्ने तथा साधारण सभासम्म नगर्ने कम्पनीको शेयर कारोबार उच्च गतिमा बढि रहेको छ । त्यस्ता कम्पनीलाइ निरुत्साहित गर्नुपर्छ । त्यस्ता कम्पनीको गलत प्रवृत्तिलाई रोक्नसके लगानीकर्ताको लगानी जोखिम कम हुन्छ ।’

नेपाल धितोपत्र बोर्डले समयमा वित्तीय विवरण सार्वजनिक नगर्ने र समयमा साधरणसभा नगर्ने ११ भन्दा बढि कम्पनीहरु कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त, नेशलन माइक्रो फाइनान्स नेपाल हाइड्रो डेभलपमेन्ट, पञ्चकन्या माई हाइड्रो पावर कम्पनी, पाँचथर पावर कम्पनी, राधि विद्युत कम्पनीको माग २६ गतेबाट सूचना जारी गर्दै शेयर कारोबार रोक्का गरेको छ । विशाल बजार कम्पनी र राष्ट्रिय बीमा संस्थाले पनि समयका साधारणसभा तथा वित्तीय विवरण नबुझाएको कारण बोर्डले कारोबार रोक्का गरेको थियो । धितोपत्र बोर्डको यस कदमले बजारमा हुने लगानीकर्ताको लगानीको जोखिम कम गर्ने रौनियार बताउँछन् ।  

यता बजार विश्लेषक बस्याल लगानीकर्ताले शेयर खरिद गर्नु अगाडि कम्पनीको बारेमा बुझ्न आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ताले हचुवाको भरमा लगानी गर्नुहुँदैन । आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा आफूभन्दा अग्रज लगानीकर्तासँग सल्लाह गरेर लगानी गर्दा जोखिम कम हुन्छ ।’ 

बजारको अवस्था 
हप्ताको दोस्रो कारोबार दिन नेप्से सूचक ३७ दशमलव ३८ अंकले बढेर २५६१ दशमलव ४७ बिन्दुमा पुग्न सफल भएको छ । यो इतिहास मै अहिलेसम्मको उच्च बिन्दु हो । कारोबार रकमले पनि अहिलेसम्म कै नयाँ रेकर्ड बनाएको छ । सोमबार नेप्सेमा १० अर्ब ६१ करोड ९१ लख रुपियाँभन्दा धेरै रकमको कारोबार भएको छ । 

आज २०५ कम्पनीको २ करोडभन्दा बढी कित्ता शेयर कारोबार भएका छन् । १२ समूहमध्ये ७ समूहको सूचक उकालो लागेको छ । वाणिज्य बैंक समूहको सूचक ६२ दशमलव ७२ अंकले बढेको छ । दुई कम्पनीको भाउ ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा प्रभु बैंक ५८ करोड रुपियाँभन्दा बढीसहित अग्रस्थानमा आइपुगेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ । 

Advertisement

Advertisement