उन्नाइस वाणिज्य बैंकले निर्धारण गरे ऋण र बचतको नयाँ ब्याजदर, कस्को कति ?

Advertisement

काठमाडौं ।  उन्नाइस बाणिज्य बैंकहरुले चैत १ गतेबाट लागू हुनेगरी नयाँ ऋण तथा बचतको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकको ऋण तथा बचतको ब्याजदर फागुन महिना कै यथावत छ । केही बैंकले भने फागुनको  भन्दा चैतमा ब्याजदर सामान्य बढाएका छन् ।

कुन बैंकको ब्याजदर कति ? 
हिमालयन बैंकले चैतको लागि बचतको न्यूनतम ब्याजदर ४ प्रतिशत र अधिकतम ६ दशमलव ५० प्रतिशत तोकेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६ दशमलव ८३ प्रशित रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।

Advertisement

नबिल बैंकले बचतमा न्यूनतम २ दशमलव ५१ प्रतिशतदेखि अधिकतम ४ दशमलव ५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम् ६ दशमलव ५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको यो एक वर्षभन्दा बढी समयको मुद्दतीको ब्याजदर हो । तीन महिनाको मुद्दतीको ब्याजदर ४ प्रतिशत निर्धारण गरेको छ । 

नविल बैंकको माघ मसान्तसम्म आधारदर ५ दशमलव ५८ प्रतिशत छ । बैंकले यस आधारदरमा  यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने मिल्छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८ दशमलव ४९ प्रतिशत देखि ११ दशमलव ५० प्रतिशतसम्म ब्याजदरमा कर्जा दिने जनाएको छ । 

एनआइसी एसिया बैंकले चैत १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा २ दशमलव १० प्रतिशत ब्याजदर दिने जानकारी दिएको छ । नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७ दशमलव १० प्रतिशतसम्म ब्याज पाइनेछ । बैंकको माघ मसान्तसम्मको आधार दर ६ दशमलव ६९ प्रतिशत छ । यसमा ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्न सकिने छ । एक वर्षभन्दा धेरै कर्जाको लागि बैंकले १३ प्रतिशत देखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंकले बचतको ब्याज शुन्य दशमलव ५० प्रतिशतदेखि ३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम् ६ दशमलव ५० प्रतिशत र न्यूनतम ३ प्रतिशत निर्धारण गरेको छ । यस बैंकको माघ मसान्तसम्मका आधारदर ७ दशमलव ३१ प्रतिशत छ । यसमा न्यूनतम् १ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जानकारी दिएको छ । 

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम् ब्याज २ दशमलव ७५ प्रतिशत र अधिकतम ४ दशमलव ७५ प्रतिशत निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ७ दशमलव ७५ प्रतिशत कायम गरेको छ । यो एक वर्षभन्दा धेरैको मुद्दतीको ब्याजदर हो । बैंकको माघ मसान्तसम्मको आधारदर ७ दशमलव ७९ प्रतिशत रहेको छ । यसमा ३ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाई छ । घर कर्जाका लागि ११ दशमलव ४९ प्रतिशत देखि १२ दशमलव ९९ प्रतिशत स्थिर ब्याज दर निर्धारण गरेको छ ।

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३ दशमलव १० प्रतिशत र अधिकतम ५ दशमलव १० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ८ प्रतिशत र न्यूनतम ५ दशमलव ७५ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७ दशमलव ४० प्रतिशत रहेको छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 

एभरेष्ट बैंकले बचतको न्यूनतम् ब्याज २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ६ दशमलव ७५ प्रतिशत र न्यूनतम ४ दशमलव ७५ प्रतिशत तोकेको छ । माघ मसान्तसम्म बैंकको आधार दर ६ दशमलव ४० प्रतिशत छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतकिो ब्याज ७ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्म बैंकको आधारदर ७ दशमलव ५६ प्रतिशत छ । यसमा बैंकले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जानकारी दिएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम ९ दशमलव ८९ प्रतिशत देखि अधिकतम १२ दशमलव २४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । 

मेगा बैंकले बचतको न्यूनतम ३ दशमलव ५० प्रतिशतदेखि अधिकतम् ५ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ७ दशमलव २५ प्रतिशत निर्धारण गरेको छ । यो दुई वर्षभन्दा धेरै मुद्दति निक्षेपको लागि हो । माघ मसान्तसम्म बैंकको आधार दर ६ दशमलव ९७ प्रतिशत छ । यसमा अधिकतम् ५ प्रतिशतसम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ । 

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीमा अधिकतम् ७ प्रतिशत ब्याज निर्धारण गरेको छ । बैंकको पुस मसान्तसम्मको आधारदर ६ दशमलव ७६ प्रतिशत छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुनेछ । स्थिर ब्याजदरका लागि बैंकले न्यूनतम ७ दशमलव ९९ प्रतिशत अधिकतम १३ दशमलव ९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

सनराइज बैंकले बचतमा न्यूनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याज दिने भएको छ । यता, मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ । माघ मसान्तसम्मको बैंकको आधार दर ७ दशमलव १२ प्रतिशत रहेको छ । यसमा ६ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरका लागि न्यूनतम १० दशमलव ५० प्रतिशतदेखि अधिकतम् १३ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । 

सिभिल बैंकले सबै बचतको ३ दशमलव ७५ प्रतिशत राखेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ८ दशमलव ७५ प्रतिशत कायम गरेको छ । साथै, ४ महिने मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गरेको छ । यता, बैंकको माघ मसान्तसम्मको आधार दर ८ दशमलव १६ प्रतिशत रहेको छ । यसमा १ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । 

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २ दशमलव ७५ प्रतिशत र अधिकतम ४ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ७ दशमलव ७५ प्रतिशत र न्यूनतम ६ प्रतिशत निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम् ९ दशमलव ९९ प्रतिशतदेखि अधिकतम् १२ दशमलव ९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २ दशमलव ५ प्रतिशतदेखि अधिकतम् ४ दशमलव ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६ प्रतिशत र एक वर्षमाथि ७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकको पुससम्मको आधार दर ७ प्रतिशत २४ प्रतिशत छ । यसमा ५ प्रतिशतसम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

कुमारी बैंकले बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ४ प्रतिशतसम्म ब्याजदर दिने निर्णय गरेको छ  । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ दशमलव ५० प्रतिशत देखि ७ प्रतिशतसम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको माघ महिनामा आधार दर ७ दशमलव ६१ प्रतिशत छ । बैंकले न्यूनतम १० दशमलव ५० प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म स्थिर कर्जा प्रवाह गर्ने जानकारी दिएको छ । 

सिद्धार्थ बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशत ५ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

यसको माघ महिनामा आधार दर ७ दशमलव १७ प्रतिशत छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३ दशमलव ५० प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८ दशमलव ९ प्रतिशत देखि अधिकतम ११ दशमलव ४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज २ प्रतिशतदेखि र अधिकतम ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम् ब्याज ७ प्रतिशत ब्याजदर कायम भएको छ । यो एक वर्षभन्दा धरैको मुद्दतिको ब्याजदर हो । माघ मसान्तसम्मको आधार दर ७ दशमलव ८५ प्रतिशत कायम गरेको छ । यसमा २ प्रतिशत देखि ५ प्रतिशतसम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । 

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २ प्रतिशत ५० देखि र अधिकतम ४ दशमलव ५० प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ दशमलव २५ प्रतिशत र न्यूनतम ५ प्तिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको आधारदर ७ प्रतिशत ८५ प्रतिशत रहेको छ । यसमा अधिकतम ६ दशमलव ७५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंले जानकारी दिएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १० प्रतिशत देखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २ दशमलव ५० प्रतिशत र अधिकतम ५ प्रतिशत तोकेको छ । व्यक्तिगत मुद्दतीको अधिकतम ब्याज ८ प्रतिशत र न्यूनतम ६ दशमलव २५ प्रतिशत निर्धारण गरेको छ । पुस मसान्तसम्मको अधारदर ७ प्रतिशत ८५ प्रतिशत रहेको छ । यसमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९ दशमलव ३५ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

स्रोतः बैंकहरुले पत्रपत्रिकामा सार्वजनिक गरेको सूचना

Advertisement

Advertisement