राष्ट्रपति भण्डारी भोलि बंगलादेश जाने, कस्तो छ तयारी ?

Advertisement

काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा राष्ट्रपति विद्या भण्डारीले सोमबार बंगलादेश जाने तयारी गरेकी छन् । यसअघि नै हुने भनिएको भ्रमण कोभिड १९ का कारण ढिलाई हुँदै आएकोमा भोलिबाट हुन लागेको हो । 

राष्ट्रपतिको दुई दिने भ्रमणमा ऊर्जा, पारवहन र आर्थिक सहकार्यसहित एक दर्जन आर्थिक एजेण्डाहरुमा छलफल हुने जनाइएको छ । यसअघि सन् २०१९ को नोभेम्बरमा बंगलादेशका राष्ट्रपति हमिदले नेपालको चार दिने भ्रमण गरेका थिए । 

Advertisement

राष्ट्रपति भण्डारीले यो भ्रमणले दुई मुलुकको सम्बन्धलाई थप प्रगाढ बनाउने सरकारी पक्षको आशा छ । नेपालबाट बंगलादेशतर्फ विशेषगरी तरकारी, तेज, फलफूल, औषधिका कच्चा पदार्थ निर्यात हुन्छ भने बंगलादेशबाट नेपालनेपालतर्फ विशेषगरी जुस, कागज, पेपर बोर्ड, जुट, कपडाजन्य वस्तु निर्यात हुने गर्दछ । 

दुई मुलुकबीच सन् १९९७ मा काकरभिट्टा–फुलबारी–बंगबन्धु पारवहन रुट खुला भए पनि भारतले असहज गरिदिँदा यो मार्गबाट खासै आर्थिक क्रियाकलाप हुन सकेको छैन् । बंगलादेशले नेपाललाई मोङ्ला बन्दरगाह प्रयोग गर्नसमेत दिए पनि त्यसको फाइदा लिन सकेको अवस्था छैन् । बहुप्रचारित विद्युत निर्यातको कुरा पनि नेपाल र बंगलादेशबीच जोडिँदै आएको विषय हो । तर, यसले अझै पनि मुर्तरुप लिन सकेको छैन् । 

नेपाल र बंगलादेशबीच सन् २०१९ को मार्चमा दोहोरो करमुक्ति सम्झौता भए पनि लगानी तथा व्यापार भने प्रवद्र्धन हुन सकेको छैन् । राष्ट्रपतिको भ्रमणमा यी विषयहरुलाई छलफलको एजेण्डामा राखिएका छन् । नेपाल, बंगलादेश, भुटानका शीर्ष नेतृत्वले तीन देशलाई यातायात सञ्जालबाट जोड्ने कुरा विगतमा उठे पनि अहिलेसम्म सम्झौता हुन सकेको छैन् । भारत सकारात्मक नहुँदासम्म यसमा सम्झौता हुन कठिन देखिन्छ । 

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव र अन्य मन्त्रालयका सचिव र सहसचिवको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र बंगलादेशबीच सन् १९७२ को अप्रिल ८ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । 

Advertisement

Advertisement