राउटरको गुणस्तर तोक्दै दूरसञ्चार प्राधिकरण, ग्राहकको गुनासो सुन्न अनुगमन पनि गर्ने

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले राउटरको गुणस्तर तथा मापदण्ड तोक्ने भएको छ । त्यसका लागि आफूहरू अन्तिम तयारीमा रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । त्यस्तो मापदण्डअनुसार ग्राहकले राउटर राख्दा इन्टरनेट सेवाको गुणस्तरमा पनि सुधार आउने उनीहरूको विश्वास छ । 

प्राधिकरणका उपनिर्देशक सूर्य लामिछानेले कर्पोरेट नेपालसँग भने, ‘गुणस्तरीय राउटर राख्दा ग्राहकलाई नै सहज हुन्छ । उहाँहरूको सन्तुष्टिमा पनि वृद्धि हुन्छ ।’ अहिले बजारमा विभिन्न किसिमका राउटरहरूको बिक्री वितरण भइरहेको छ । तर अधिकांश राउटरहरूको गुणस्तरमा समस्या हुँदा इन्टरनेट प्रयोगकर्ताहरूले सास्ती भोग्नुपर्दै आएको छ । 

Advertisement

जुनसुकै कम्पनीको राउटर राखे पनि त्यसले इन्टरनेटको गुणस्तरमा असर पार्न नहुने लामिछाने बताउँछन् । 

एक महिनाभित्रै मापदण्ड
प्राधिकरणले राउटरको गुणस्तर कस्तो राख्ने ? भन्ने बारे १५–२० दिनमा सबै प्रक्रिया टुंगिने हिसाबले काम गरिरहेको जनाएको छ । अहिले राउटरको गुणस्तर नतोकिँदा ग्राहकहरू कमजोर किसिमका राउटर जडान गर्न बाध्य हुँदै आएका छन् । सोही कारण उनीहरू आर्थिकरुपमा पनि ठगिनुपर्ने अवस्था रहेको छ । पैसा बुझाएर पनि सेवामा भने सम्झौता गर्नुपर्ने अवस्था नेपाली इन्टरनेट प्रयोगकर्ताहरूलाई रहेको प्राधिकरणका अधिकारीहरू स्वीकार गर्छन् । 

प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले भने, ‘ग्राहकले पैसा तिरेपछि सेवासँग कुनै पनि सम्झौता गर्न नपरोस् भनेर राउटरको गुणस्तर र मापदण्ड कस्तो हुने ? भनेर अध्ययन गरेका हौंं । अबको १५–२० दिन भित्रमै यसको आधारहरू तयार हुन्छ ।’ ग्राहकको घर–घरमा राउटर जडान गर्ने काम सेवा प्रदायकले गर्छन् । त्यसरी जडान गर्ने क्रममा नै राउटर कुन मापदण्डको राख्ने ? भन्नेबारे सेवा प्रदायकलाई स्पष्ट निर्देशन गर्ने उनले बताए । 

प्राधिकरणले अनुगमन गर्ने
इन्टरनेट सेवाको गुणस्तरसँग सम्झौता हुने किसिमका कुनै पनि काम सेवाप्रदायकले गरे नगरेको बारेमा आफूहरूले अध्ययन गर्ने प्राधिकरणले बताएको छ । तोकिएको मापदण्ड पूरा भए नभएको वा ग्राहकले पाएको इन्टरनेट सेवाको बारेमा समस्या आएको छ छैन् ? भन्ने बारेमा अनुगमन गर्ने जनाइएको छ ।

ग्राहकको हितको लागि नै यो मापदण्ड ल्याउन लागेकोले उनीहरूले आफूले खर्च गरेअनुसार सही सेवा पाइरहेको महशुस गर्नुहोस् भनेर यस्तो कदम चाल्न लागेको अर्यालको तर्क छ । हालसम्म ग्राहकलाई राउटर कति टिकाउ हुन्छ ? यसमा वारेन्टी कतिको हुनुपर्छ ? जस्ता विषयमा अन्यौलताको अवस्था छ । यस्ता समस्याका कारण इन्टरनेटको गुणस्तरमा पार्ने प्रभाव कम गर्न राउटरको गुणस्तर तोक्न लागेको उनले बताए । 

कस्तो राउटर ठिक हो ? भन्ने बारे सेवाप्रदायक नै जिम्मेवार हुनुपर्ने प्राधिकरणको भनाई छ । सेवाप्रदायकले लिने जिम्मेवारी नै राउटरबाट ग्राहकले पाउने सेवा तथा सुरक्षामा जोडिने उनको भनाई छ । अर्यालले थपे, ‘सेवा प्रदायकलाई हामीले न्यूनतम मापदण्ड तोक्दिन्छौं । त्यही मापदण्डअनुसार सेवाप्रदायकले काम गर्नुपर्छ । यसले ग्राहकको सन्तुष्टि वृद्धि गर्ने हाम्रो विश्वास छ ।’

ग्राहकले सेयरिङ् गरेर चलाउँदा इन्टरनेटको गुणस्तरमा केही कमी आएको इन्टरनेट सेवा प्रदायकहरूको तर्क छ । इन्टरनेट ‘स्लो’ हुनुमा राउटरको गुणस्तरसँगै ग्राहकले बोक्ने मोवाइल सेट प्रकार जस्ता कुराले पनि भूमिका खेल्ने उनीहरूको भनाई छ । 

Advertisement