मौद्रिक नीति समग्रमा सेयर बजारको लागि स्वागत योग्य नै छः लगानीकर्ता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । नीतिमा आएका सेयर बजारसँग सम्वन्धित विषय सकारात्मक रहेको लगानीकर्ताका नेताहरुको भनाई छ । 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडा गर्ने भन्ने हल्ला विभिन्न माध्यम आईरहेको थियो । सोही कारण मौद्रिक नीतिको प्रतिक्षामा धेरै लगानीकर्ता थिए । राष्ट्र बैंकले पूरानै नीतिलाई निरन्तरता दिँदै सेयर धितो कर्जाको सीमा यथावत् राखेको छ । हाल लगानीकर्ताले सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिन सक्छन् । 

Advertisement

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत यसलाई निरन्तरता दिएको हो । यसबाट सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिएको नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । यस्तै, मौद्रिक नीतिले साना साना लगानीकर्ताको हित प्रवद्र्धनतर्फ जोड दिएको उनको भनाई छ ।

राष्ट्र केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरेको छ । यसले पनि सेयर बजारलाई सकारात्मक बाटोतर्फ लैजाने लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसी ढकालको बुझाई छ । 

सीसीडी रेसियो घटेसँगै बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म सीडी अनुपात कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले सेयर कर्जा पनि सहयोग पुर्याउने ढकाल बताउँछन् । 

यता राष्ट्र बैंकले सेयर धितो कर्जा एउटा वित्तीय संस्थाबाट एक व्यक्तिले अधिकतम चार करोड र सबै संस्थाबाट गरी अधिकमा १२ करोडसम्म लिनसक्ने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई खासै असर नगरे पनि ठूला लगानीकर्तालाई भने असर गर्ने लगानीकर्ताको बुझाई छ । राष्ट्र बैंकको सबै नीति स्वागतयोग्य भएता पनि यो व्यवस्था भने स्वागत योग्य नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको भनाई छ । 

उनी भन्छन्, ‘राष्ट्र बैंकले सेयर बजारको लागि ल्याएका सबै नीतिहरु सेयर बजारको लागि स्वागतयोग्य छन् । तर, सेयर कर्जा लिने व्यक्तिको लागि ल्याईएको व्यवस्था एउटा संस्थाबाट अधिकतम चार करोड र सबै संस्थाबाट गरी अधिक १२ करोडसम्म भन्ने कुराले नीति हात्ति छिर्यो खै के ? भन्या जस्तै भयो । सेयर लगानीकर्ताले लिएको कर्जाको कारण कुनै पनि व्यवसायीक क्षेत्रमा असर गरेको भए राष्ट्र बैंकले यस्तो नीति ल्याउन राम्रो हुन्थ्यो।’

Advertisement

Advertisement