अध्ययनले भन्छ– महामारीपछि छापा, रेडियो र टेलिभिजन संकटमा, अनलाइन मिडियामा आकर्षण

Advertisement

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीले नेपाली मिडिया क्षेत्रमा पारेको असरसम्बन्धी रिपोर्ट सार्वजनिक भएको छ। सेन्टर फर मिडिया रिसर्चले प्रकाशन गरेको रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिक रुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ ।

लकडाउनका बेला केन्द्र र जिल्लाका छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको, पत्रकारहरूलाई जागिरबाट निकालिएको, समयमा पारिश्रमिक नपाएको, पारिश्रमिक घटाइएको, बिदा दिइएको, बिना पारिश्रमिक पनि पत्रकारले काम गरेको प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

रिपोर्टअनुसार प्रकाशन तथा प्रसारण भएका आमसञ्चार माध्यमहरूका लागि सामग्री संकलन गर्न कठिनाइ भएको र त्यसको प्रभाव गुणस्तरमा समेत परेको थियो । कोभिड १९ बाट पत्रकार संक्रमित हुनुका साथै निधन भएको, पत्रकारमा मनोवैज्ञिनक असर परेको, पत्रकारिताको भविष्यप्रति अन्योल सिर्जना भएको अध्ययनले देखाएको छ । 

आर्थिक समस्या र स्वास्थ्य संवेदनशीलता हुँदाहुँदै पनि पत्रकारहरू समाचार संकलन तथा प्रकाशन तथा प्रसारणमा खटिएको पनि रिपोर्टले देखाएको छ । संकटका बेला आम्दानी कम भए पनि मिडियालाई टिकाउनु नै महत्वपूर्ण पक्ष रहेको मिडिया सञ्चालकहरूको भनाइ छ । विपद्लाई सामना गर्ने गरी नेपाली मिडियाको पूर्वतयारी नभएको र त्यसोहुँदा मिडिया सञ्चालक र पत्रकार मारमा परेको पनि देखाइएको छ । 

महामारीका कारण अनलाइन मिडियाको आकर्षण बढेको, छापा माध्यमका सञ्चालकले अनलाइनलाई जोड दिएको र जागिर गुमाएका पत्रकारले अनलाइनलाई विकल्पका रुपमा लिएको भन्दै प्रतिवेदनमा मिडिया र पत्रकारलाई सहयोग गर्न सरकारले रेडियो टेलिभिजनको नवीकरणमा छुट दिएको, पत्रकारलाई बीमा, लेखनवृत्तिका साथै जनचेतनामूलक सामग्रीमार्फत सहयोग गरेको तर पत्रकारले त्यस भन्दा बढी सहयोगको अपेक्षा गरेको पनि रिपोर्टमा उल्लेख छ । सहज र छिटो सुरक्षा प्राप्त हुने भएकाले अनलाइन मिडिया अहिले जनताको सुचनाको मुख्य माध्यम बन्ने गरेका छन् । 

रिपोर्टमा विपद्मा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने कुरालाई मनन् गरी स्वतन्त्र र व्यवसायिक आमसञ्चार माध्यमको अस्तित्व कायम राख्न सहयोग हुने गरी नीति निर्माण गर्नुका साथै विपद्को अवस्थामा तत्काल राहत तथा सहयोग हुने कार्यक्रम ल्याउन सुझाव दिइएको छ ।

यस्तै, आमसञ्चार माध्यमहरूले कुनै पनि बेला विपद् आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भौतिक, आर्थिक र मनोवैज्ञानिक हिसाबले विपद् व्यवस्थापन योजना निर्माण गरी तयार रहन र पत्रकार  तथा कर्मचारीहरूलाई आवश्यक पूर्वतयारी ज्ञान र सीपका तालिम दिनुपर्ने उल्लेख छ । साथै पत्रकार र कर्मचारीलाई सहयोग  र प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने लगायतका सुझाव पनि उल्लेख गरिएको छ ।

रिपोर्ट तयार पार्ने क्रममा मिडिया सञ्चालक, पत्रकार सहित १४६ जनासँग अन्तर्वार्ता लिइएको अध्ययन गर्ने संस्थाले सेन्टर फर मिडिया रिसर्चले जनाएको छ । 

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कोभिड–१९ बाट थिलोथिलोमा परेको मिडिया क्षेत्रको पुनर्उत्थानका लागि अभियान नै चलाउनुपर्ने बताएका छन् । संकटका बेला पनि नेपाली पत्रकारिता क्षेत्रले जिम्मेवार रुपमा सूचना प्रवाह गरेकोमा प्रशंसा गर्दै अध्यक्ष पोखरेलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन तत्कालिन र दीर्धकालिन रणनीतिका साथ अघि बढ्नु पर्ने बताएका छन् । 

Advertisement

Advertisement