एमसीसी सम्झौता अनुमोदनमा ढिलाई गरिएकोमा एमसीसी मुख्यालयको पुनः चासो

Advertisement

काठमाडौँ । अमेरिकी संस्था एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)सँग नेपालले गरेको सम्झौता अनुमोदनको विषयमा एमसीसी मुख्यालयले पुनः चासो देखिएको छ । 

नेपालमा यस सम्झौता अनुमोदन गर्ने कुरामा चर्को विरोध भइरहेको बेला एमसीसी मुख्यालयले चासो देखाएको हो । यसअघि पनि एमसीसीको कार्यालयले यस विषयमा नेपालसँग जानकारी माग गरेको थियो । 

Advertisement

सम्झौता अनुमोदन नहुँदा आफू निराश भएको संकेत गर्दै एमसीसीको कार्यालयले जारी गरेको विज्ञप्तिमा सम्झौता अघि बढाउने वा नबढाउने निर्णय अब नेपालकै हातमा रहेको बताएको छ । उक्त सम्झौता संसदबाट अनुमोदन नहुँदै तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले कार्यान्वयन सम्झौता पनि गरिसकेका छन् । 

विपक्षीको अवरोधका कारण लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अधिवेशन हालै सरकारले अन्त्य गरेलगत्तै एमसीसी कार्यालयले विज्ञप्ति निकालेर यस विषयमा चासो राखेको हो । विज्ञप्तिमा सम्झौता अनुमोदनमा ढिलाई हुँदा नेपालीलाई भरपर्दो ऊर्जा र सुरक्षित सडक पहुँच पुर्‍याउने महत्वपूर्ण सहयोग जोखिममा परेको उल्लेख छ । 

एमसीसीकी प्रतिनिधि फातिमा सुमार नेतृत्वको प्रतिनिधि मण्डलको नेपाल भ्रमणको प्रसंग पनि कोट्याउँदै विज्ञप्तिमा त्यस क्रममा नेपालका नेताहरुले सम्झौता अनुमोदनमा जनाएको सकारात्मक प्रतिक्रियाको स्मरण पनि गरेको छ । 

Advertisement