एमसीसीको नेपाल कार्यालयले भन्यो– भ्रामक सामग्री सम्प्रेषण भयो, दोषीलाई कारवाही गराउँछौं

Advertisement

काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताअनुसार नेपालको खुलेको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले आफूहरुको बारेमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाएको छ । 

सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमार्फत आफूहरुका लागि खरिद एजेण्ट तथा वित्तीय एजेण्टका रूपमा परामर्श सेवा उपलब्ध गराइरहेको कार्डनोको लोगोसहित नक्कली कागजपत्र प्रयोग गरी सामग्री सम्प्रेषण गरिएको पाइएको एमसीए– नेपालको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

उक्त सामग्रीमा कार्डनोको परिचयका रूपमा भ्रामक जानकारी उल्लेख गरिनुका साथै एमसीए–नेपालको सुरक्षा व्यवस्थासम्बन्धी सेवा आपूर्तिका लागि तयार गरिएको दस्तावेजलाई गलत अर्थ लाग्ने गरी कपोलकल्पित कुरा उल्लेख गरिएको जनाइएको छ । 

साथै उक्त सामग्रीमा उल्लेख गरिएका सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको जानकारी एमसीए–नेपालले दिएको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने काम निन्दनीय भएको भन्दै उक्त कार्यालयले त्यसको भत्र्सना गरेको छ । सूचना प्रदूषण फैलाउने कुत्सित मनसाययुक्त भ्रामक सन्देश सम्प्रेषकविरुद्ध कडा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको पनि जनाइएको छ । 

यसअघि गत भदौ महिनामा पनि ट्वीटरमार्फत् यस्तै भ्रामक सामग्री सम्प्रेषण भएको भन्दै एमसीए– नेपालले नेपाल प्रहरीको साइबर ब्यूरोले त्यसविरुद्ध छानबिन कार्य गम्भीरतापूर्वक अगाडि बढाइरहेको बताएको छ । 

Advertisement