मिलनसार मिलनबाबुः १२०० को जागिरदेखि नाडाको कोषाध्यक्षसम्म

Advertisement

काठमाडौं । मिलनबाबु मल्ल नाडाका नवनिर्वाचित कोषाध्यक्ष हुन् । अटोमोवाइल क्षेत्रसँग उनको नाता जोडिएको पनि तीन दशक भइसकेको छ । नाडा अटोमोवाइल एशोसियशन अफ नेपालको हालै सम्पन्न निर्वाचनमा लोकप्रिय मतसहित कार्यसमिति सदस्यमा विजयी भएका मल्ल अटोमोवाइल क्षेत्रका परिचित र स्थापित व्यवसायी हुन् । 

मल्लको रिसिक ट्रेडिङ कन्सर्न प्राइभेट लिमिटेडले जेसीबीका निर्माण उपकरणहरु बिक्री गर्दछ भने अर्को कम्पनी रिसिक अटोमोवाइल्स प्राइभेट लिमिटेडले यामाहाका दुई पाङ्ग्रे सवारी साधनहरु बिक्री गर्दै आएको छ ।  

Advertisement

चौध वर्ष एमएडब्लु (मोरङ अटो वक्स)को डिष्ट्रिव्युटर भएर काम गरेका उनले अटोमोवाइल क्षेत्रको सुरुवात एक हजार दुई सय रूपियाँ पारिश्रमिककको जागिरबाट सुरु गरेका थिए । २०६२ सालमा आइपुग्दा उनको तलब बढेर ६३ हजार रूपियाँ पुगिसकेको थियो । 

आफ्नो क्षेत्रमा राम्रो दक्षता र ज्ञान भएकाले उनले धेरैतिरबाट अफर पनि आएका थिए । तर, मल्लले एमएडब्लु अर्थात (बिष्णु अग्रवालसँगको सहयात्रा छोडेनन् । लामो समयको जागिरे जीवनपछि उनी २०६२ बाट व्यवसायिक जीवनमा प्रवेश गरे । 

त्यस समयमा उनले पुल्चोकमा रिसिक अटोमोवाइल्स प्रालि खोलेर यामाहाका मोटरसाइकल तथा स्कुटरहरुको बिक्री सुरु गरे । मल्ल भन्छन्, ‘एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु सर र मैले ५०–५० प्रतिशत शेयर राखेर यो कम्पनी खोलेका हौं । यामाहा मोटर साइकलको बिक्रीको आधारमा सबैभन्दा धेरै बेच्ने ठाउँमा पनि मेरै नाम लिएको सुन्दा खुशी लाग्छ ।’

आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने सोचले गोरखाबाट काठमाडौं आएका मल्ल सेल्स असिस्टेन्ट हुँदै अहिले करोडौंरुपियाँ कारोबार गर्ने कम्पनीको सञ्चालक भएका छन् । कामप्रतिको इमानदारिता, लगनशीलता, सक्रियताबाट जागिरे जीवनमा पनि पदोन्नती गर्दै र व्यवसायी जीवनमा पनि सफलता पाउँदै आएका मल्ल अटोमोवाइल क्षेत्रमा अझै उचाईमा पुग्यो योजनामा छन् । 

मल्लले यामाहाको डिलर लिएर काम शुरु गरेको पनि १५ वर्षभन्दा बढि समय भइसकेको छ । व्यवसायमा सफलता मिल्दै गएपछि उनले रिकोल इन्भेष्टमेन्ट कम्पनी पनि सञ्चालनमा ल्याएका छन् । 

कुमारीपाटीबाट शुरु भएको मल्लको व्यवसाय २०७५ मा ग्वार्कोमा पनि विस्तार भयो । अहिले बल्खुमा पनि उनको यामाहाको अर्को शोरुम खुलिसकेको छ । बल्खुको शोरुम उत्कृष्ट प्रविधियुक्त सर्भिस सेन्टरसहितको छ ।

उनी विगत पाँच वर्षदेखि रिलायबल अर्थमुभर्स प्रालि र रिसिक ट्रेडिङ प्रालिमार्फत स्वयम्भुमा हेभी इक्युपमेन्टको शोरुम समेत सञ्चालनमा ल्याएका छन् । एमएडब्लुले आयात गर्ने यामाहा र हेभी इक्युपमेन्ट सबैभन्दा बढी बिक्री गर्ने मल्लकै डिलर पर्दछ । 

उनले अहिले सय जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । नाडामा हेभी इक्युपमेन्ट समितिको सभापतिसमेत भएर काम गरेका मल्लले दोस्रो कार्यकाल नाडामा रहेर सक्रिय भूमिका खेल्दैछन् । मिलनबाबु सबैसँग मिल्ने र सबैको विश्वासिलो भएर होला, नयाँ अध्यक्ष ध्रुव थापाले उनलाई कोषाध्यक्षमा प्रस्ताव गरे र उनलाई कार्यसमितिले अनुमोदन पनि गर्यो । 

मोटरसाइकल अनिवार्य आवश्यकता
अहिले मोटरसाइकल अनिवार्य आवश्यकता बनेको छ । घरमा गाडी भए पनि ‘एउटा स्कूटर राखौं न’ भन्ने गरेको पनि पाइन्छ । विगतमा यस्ता साधन काठमाडौं केन्द्रित बिक्री हुन्थ्यो भने अहिले ३०–३५ प्रतिशतको हाराहारीमा मात्रै यहाँ बिक्री हुन्छ । पछिल्लो समय स्कूटरको माग अझै बढेको मल्ल बताउँछन् । मुख्य शहरहरूमा ठूला सिसिका बाइक नै रूचाईन थालेको उनको भनाई छ । 

एफआई स्टेसन किन ?
मोटर साइकलको समस्या कम्प्यूटरबाट पत्ता लगाउनका लागि मल्लले एपआई स्टेसन खोलेका छन् । मान्छेको ईसीजी गरे जस्तै समस्या पत्ता लगाएर प्रिन्ट गर्न मिल्ने सुविधा यो प्रविधिमा छ । 

उनी भन्छन्, ‘हाम्रो वासिङ सेन्टर महावीर पुनले आविष्कार गर्नुभएको हो । यसले आफै मोटर साइकल धुने काम गर्छ । यस प्रविधिमा २४ वटा गनबाट पानी आउँछ भने त्यसमा सर्फले मोटरसाइकललाई धुने काम गर्छ । स्विच थिचेकै भरमा मिसिनले मोटर साइकल हुन्छ । यसले ग्राहक र बिक्रेता दुवैलाई सहज बनाएको छ । अहिले दैनिक रूपमा सयभन्दा धेरै मोटरसाइकल अनटाइम सर्भिसिङ गर्न सक्ने क्षमता हाम्रो कम्पनीको छ ।’

मल्लले जति प्रविधिको विकास भयो, त्यति नै खर्च पनि महङ्गो हुने अनुभव सुनाउँदै थपे, ‘मैले सर्भिस सेन्टरका संरचनाका लागि दुई करोड रूपिया खर्च गरेको हो ।’

महामारीले खासै छुन नसकेको मोटरसाइकल व्यवसाय
पछिल्लो समय कोरोना महामारीले धेरै व्यवसायलाई असर गर्दा पनि मोटरसाइकलको व्यवसायमा भने धेरै असर नगरेको मल्ल सुनाउँछन् । महामारीमा सार्वजनिक यातायात चढ्न बढि जोखिमयुक्त भएपछि दुई पाङ्ग्रे निजी सवारी साधनको माग झन बढेको उनको भनाई छ । 

अहिले सवारी साधनको स्पियर पार्टसलगायतका अटोमोवाइलजन्य वस्तु किन्न सजिलो छ । धेरै जसो समानहरूको विकल्प पनि आएका छन् । तर, मोटरसाइकल किन्दा बिक्री पछिको सेवामा ग्राहकले ध्यान दिनुपर्ने मल्ल सुझाव दिन्छन् । आफूहरुले बिक्री पछिको सेवामा पनि ग्राहकलाई सन्तुष्ट बनाउँदै आएको उनले सुनाए । 

Advertisement