एक लाख रात्रीकालिन व्यवसायी र तीन लाख मजदुर सडकमा निस्किने चेतावनी

Advertisement

काठमाडौं । रात्रीकालिन व्यवसायीहरुले एक हप्ताभित्र व्यवसाय सञ्चालन गर्न नदिए लाखौंलाई सडकमा उतार्ने चेतावनी दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर व्यवासायीहरुले स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले व्यवसाय सञ्चालन गर्न नदिए एक लाख व्यवसायी र तीन लाख मजदूरसहित सडक संघर्षमा उत्रने चेतावनी दिएका हुन् ।   

दरबारमार्ग व्यवसायी संघ (किङ्स लाउन्ज)का संयोजक कुमार गुरुङले स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न नदिए आफूहरु लाखौंको संख्यामा एकसाथ सडकमा उत्रने चेतावनी दिए । उनले भने, ‘वार्षिक पाँच अर्बसम्म कर बुझाउने हाम्रो व्यवसाय बन्द हुँदा आत्महत्याको अवस्थामा पुगिसक्यौं । हाम्रा लागि सडकमा उत्रनुको विकल्प छैन ।’ 

Advertisement

गृह मन्त्रालय, पर्यटन मन्त्रालय तथा सम्बन्धित निकायमा पुगेर आफूहरुको पीडा सुनाए पनि सुनुवाई नभएको बताए । गुरुङले रात्रीकालिन पेशा व्यवसाय सबैभन्दा पहिला बन्द गर्ने र सबैभन्दा पछि खोलिने गरिएको भन्दै असन्तुष्टि पोखे । यस क्षेत्रमा काम गर्ने हजारौं बेरोजगार भई देशमा अर्को संकट आउने खतरा उनले औल्याए । 

गुरुङले भने, ‘सार्वजनिक स्थानमा हजारौको संख्यामा भेला हुँदा कोरोना नसर्ने तर राती ८ बजेपछि मात्र कोरोना सर्ने ?’ अमेरिका जस्ता ठूलो देशमा पहिलो यही पेशा बन्द गरिए पनि पछिल्लो समयमा भने खुलाएको उनले उदाहरण दिए । 

नेपालमा कुनै आधार नभई रात्रीकालिन व्यवसाय बन्द गरिएकोमा आफूहरुको आपत्ति रहेको सुनाउँदै गुरुङले भने, ‘यो पेशाको आधारमा मात्रै कतिलाई कोरोना सर्यो ? यो व्यवसाय बन्द गर्दा कति कोराना घट्यो ? त्यसको कुनै डाटा छैन् बिना आधार हाम्रो व्यवसाय बन्द गरिदैछ ।’ 

देशमा राज्य नभएको महशुस आफूहरुलाई भएको बताउँदै उनले कानुनी राज्य भएको देशमा सबै पेशा व्यवसायको सुरक्षित र व्यवस्थित हुने बताए । सरकारले सञ्चालन गर्ने अनुमति दिएमा आफूहरुले आदेशको उल्लघंन नगरी रात्रीकालिन व्यवसाय संचालन गर्ने गुरुङको भनाई छ । धेरै जनता रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको उनले बताए । 

रात्रीकालिन मनोरन्जन व्यवसायका अध्यक्ष आशिष खड्काले सरकारले तत्काल व्यवसाय सञ्चालन गर्न नदिए सडकमा उत्रन बाध्य हुने चेतावनी दिए । उनले भने, ‘एक लाख व्यवसायीहरु र तीन लाख मजदुर एकसाथ सडकमा उत्रनेछौ । समयमै सरकारको चेत खुलोस् ।’ 

खड्काले आफ्ना समस्याहरु सुनाउन धेरै मन्त्रालयलमा पुगिसकेको बताए । तर, आश्वासन आउने कार्यान्वयन नहुने गरेको उनको गुनासो छ । खड्काले भने, ‘उहाँहरुले जति सक्दो चाँडो खुलाउने आश्वासन दिनुभएको छ । तर कार्यान्वयन हुनेमा ढुक्क छैनौं ।’ 

उनले अन्य पेशा व्यवसायलाई जस्तै रात्रिकालिन व्यवसाय पनि स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चानल गर्न पाउनुपर्ने माग राखे । खड्काले भने, ‘हामी पनि अन्य व्यवसायी जस्तै हौ । हामीहरुले कानूनअनुसार व्यवसाय गर्ने अधिकार पाउनुपर्छ ।’

दोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठले रात्रीकालिन व्यवसाय बन्द हुँदा कामदारहरुले धमाधम आत्महत्या गरिरहेको बताए । आफूहरुका लागि अब संघर्षमा उत्रनुको विकल्प नभएको उनको भनाई छ । 

श्रेष्ठले भने, ‘कोरोना पहिलो र दोस्रो भेरियन्टको समयमा २ सय ५० जना भन्दा बढी कामदारले आत्महत्या गरिसके ।’ सरकारले विना अध्ययन नै यो व्यवसायलाई बन्द गराउँदा संचालक मात्र नभएर त्यहाँ कार्यरत श्रमिकहरुको समेत बिजोग भएको उनले बताए । यसले सामाजिक र आर्थिक क्षेत्रमा दूरगामी समस्या आइसक्दा पनि सरकारको चेत नखुलेको श्रेष्ठको भनाई छ । 

व्यवसायी केशर बहादुर बुढाथोकीले अन्य पेशा व्यवसाय भन्दा सबैभन्दा बढी मर्कामा पर्ने रात्रीकालिन व्यवसाय भएको बताए । यसरी पटक–पटक व्यवसाय बन्द गराइँदा अर्बौं नोक्सान भएको उनले बताए । बुढाथोकीले युवाहरुलाई विदेश पलायन हुनबाट जोगाउन नेपालमै रोजगारी सिर्जना गरेको तर राज्यले आफूहरुलाई बर्बादीमा धकेलेको सुनाए । उनले भने, ‘कर तिर्ने व्यवसायीको बर्बादी राज्यको बर्बादी हो ।’

राज्यले आफूहरुलाई उपेक्षित र हेलित व्यवहार गरेको बुढाथोकीको टिप्पणी छ । उनले भने, ‘रातीको ८ बजेपछि मात्र कोरोना सर्ने ? राज्यले हामीलाई सौतेलो व्यवहार गरेको छ ।’ लामो समयसम्म व्यवसाय बन्द हुँदा घरको भाडा पनि तिर्न गाह्रो भएको बुढाथोकीले गुनासो गरे । 

Advertisement

Advertisement