केपी ओली प्रधानमन्त्री नभएपछि निजी क्षेत्रले अभिभावक गुमाएको छः व्यवसायी मोतीलाल दुगड

Advertisement

मोतीलाल दुगड

अहिलेको अवस्थामा उद्योगी व्यवसायीको मनोबल निकै खस्किराखेको छ । निजी क्षेत्रले अहिले हाम्रो अभिभावक नै छैन भन्ने परिस्थिति बनिरहेको छ । सबै पीडित छन् । हाम्रो मनोबल गिरिसकेको छ । अब हामी कहाँ जाने ? भनेर व्यवसायीहरुले प्रश्न गरिरहेका छन् । 

Advertisement

देशको अर्थतन्त्र संकटपूर्ण अवस्थामा छ । त्यसलाई हेरिदिने कोही छैन । हामी कस्लाई गुहार्न जाने ? सम्बन्धित मन्त्रालयले हाम्रो कुरै सुन्दैन । यो सरकार आएको ७–८ महिना भइसक्दा पनि उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्री पनि पाउन सकेको छैन् । यो मन्त्रालय यति व्यस्त मन्त्रालय हो, जुन देशको समृद्धिसँग जोडिएको छ । त्यो मन्त्रालयमा मन्त्रीसम्म नहुनु बिडम्बनाको कुरा हो ।

केपी ओलीको सरकार छँदा संकटको अवस्थामा पनि दुई जना मन्त्रीहरु दिन रात खटिएर उद्योगी व्यवसायीलाई समस्या नहोस् भने लागेका थियौं । त्यतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्माको स्पष्ट निर्देशन थियो कि कुनै पनि मन्त्रालयमा कुनै पनि फाइल ३ दिनभन्दा बढी अड्किनु हुँदैन् । 

निजी क्षेत्रका समस्यामा गम्भीर छैन सरकार
उद्योगी व्यवसायी समस्यामा छन् । समस्याको निकास निकाल्नु पर्छ भन्ने कुरामा उद्योगी व्यवसायी गम्भीर छन् । तर गम्भीर हुनैपर्ने सरकार गम्भीर छैन् । देशलाई समृद्ध बनाउनु छ भने यहाँका युवा जनशक्तिलाई पलायन गर्न हुँदैन् । यो देशको युवा जनशक्तिलाई बाहिर पठाएर लासको रुपमा फेरि यहाँ ल्याउनु हुँदैन । हामी त्यो विकृतिमा जानु हुँदैन । देश रेमिट्यान्सको भरमा चलाउनु हुँदैन । हामीले देशमा स्वरोजगार उत्पादन गर्न सक्नुपर्छ । वास्तविक उत्पादन यहाँ गर्न सक्नुपर्छ । अनि मात्र हाम्रो देश समृद्ध हुन्छ र नेपाली सुखी हुन्छन् । 

विगतको केपी ओली सरकारले यो कुरा सोचेको थियो । तर अहिलेको सरकारले उद्योगधन्दा मास्ने, उद्योगीहरुलाई धम्क्याउने, तर्साउने कार्य गरिरहेको छ । एकजना उद्योगीले कर तिरेन भनेर उद्योग बन्द गराउने काम भइरहेको छ ।  एउटा उद्योग, एउटा होटल बन्द हुँदा कति जना बेरोजगार हुन्छन् ? त्यो भन्दा बढी निजी क्षेत्रको मनोबल कति खस्कन्छ ? त्यतातिर अहिले कसको ध्यान छ ? के यो देश हामी सबैको होइन ?

हामीले हरेक कुरालाई राजनीतिकरण गर्नु हुन्न । कसैले कर तिरेन भने, कसैले बदमासी गर्यो भने सजाय दिने अरु पनि तरिका छ । सिधैँ गएर उद्योग बन्द गराउने ? उद्योगलाई बन्द गराउन तिर लाग्यौँ भने त एक दिन फेरि यो देशमा जंगल राज आउने छ । एकदिन फेरि यो देशका उद्योग धन्दाहरु बन्द हुने छन् । उद्योगीहरु पलायन हुनेछन् । यहाँको पैसा बाहिर जाने खतरा आउन सक्छ । किनभने अहिले अवस्था संकटको अवस्था छ । 

सरकारले आर्थिक संकटकाल लगाउन सक्छ
देशको अहिले अवस्थालाई आर्थिक संकटकाल भन्न सकिन्छ । अहिलेको समयमा सरकारले आर्थिक संकटकाल लगाउन सक्छ । संकटकाल लगाइयो भने मात्रै केही गम्भीरता आउँछ । यति गम्भीर अवस्था छ कि देशमा फण्ड छैन् । बैंकहरु खाली भइसके । ढुकुटीहरु रित्तिसकेको छ । पैसा छैन् कसैसँग पनि । बैंकले स्थापना भइसकेका उद्योगहरुलाई सञ्चालन गर्नका लागि दिने पैसा छैन् । तरलताको अभाव छ । यस्तो अवस्थामा पनि सम्बन्धित पक्ष, उद्योगी व्यवसायी, प्रतिपक्षी दलका नेताहरुसँग यो सरकारले कुनै पनि छलफल र अन्तरक्रिया गरिरहेको छैन् । 

हरेक कुरालाई राजनीतिकरण नगरौँ, अहिलेको समस्याका बारेमा बसेर छलफल गरौँ । सर्वदलीय बैठक गरौँ । निजी क्षेत्रलाई बोलाएर छलफल गरौँ । अनि यो देशलाई बनाऔँ । यो देशलाई नबिगारौँ । भावी पुस्ताको भविश्यलाई नबिगारौँ । 

उद्योगी व्यवसायी पीडित छन् । काम गराउन जाँदा काम भइराखेको छैन् मन्त्रालय र विभागहरुमा । कर्मचारीले मिठो बोलिदिए मात्र पनि व्यवसायीहरुको मनोबल बढ्छ । तपाईं हप्काएर, धम्काएर, निजी क्षेत्रलाई तर्साएर व्यवहार गर्नु हुन्छ भने यो देश कदापी समृद्ध बन्दैन । तपाईंको भावी पुस्ताले गाली गर्नेछन् । तपाईंले यो देश किन बिगार्नु भयो ? 

निजी क्षेत्रलाई काम गर्न नदिने पो अपराधी !
तपाईं अपराधी जस्तो व्यवहार गर्नु हुन्छ निजी क्षेत्रसँग । निजी क्षेत्र भनेको अपराधी होइन । अपराधी त्यो हो, जसले निजी क्षेत्रलाई काम गर्न दिंदैन् । काम गर्न बाधाअवरोध जसले पुर्याउँछ, त्यो अपराधी हो । त्यस्तालाई देशद्रोही घोषणा गर्नुपर्छ । 

सरकारले निजी क्षेत्रलाई ज्वाईं जस्तो व्यवहार गर्नुपर्छ । उनीहरुलाई रेड कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ । तर अहिलेको सरकारलाई निजी क्षेत्रसँग कुरा गर्ने फुर्सद नै छैन् । निजी क्षेत्रलाई गौणरुपमा लिइएको छ । यस्तो अवस्थामा हामी चुप लागेर, हेरिरहेर मात्र बस्दैनौँ । नेकपा एमालेको उद्योग व्यवसाय विभागले उद्योगी व्यवसायीको समस्यामा साथ दिन्छ । समन्वय गर्छ । सरकारमा भए पनि विपक्षमा भए पनि हामी सहयोग गर्छौैँ । देशलाई समृद्ध बनाउनका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्छ । उनीहरुको मनोबल बढाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । 

यो देशमा औद्योगिकीकरण हुनैपर्छ । रोजगारी बढाउनैपर्छ । युवा दक्ष जनशक्तिलाई यो देशमा राख्नैपर्छ । त्यसका लागि कसैले त काम गर्नैैपर्छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ । आज पूँजीको अभाव किन भएको छ ? विकास निर्माणका कामले किन गति लिएका छैन ? यो सरकारले केपी ओली सरकारका पालामा भएका कामहरु बद्लाको भावले बन्द गरेको छ । यो प्रवृति राम्रो होइन । काम गर्नेहरुको खुट्टा नतानौँ । हाम्रो देशमा एउटा खराब प्रवृत्ति छ । काम गर्नेहरुको खुट्टा तानिन्छ । त्यसो नगरौँ । यसले राम्रो गर्दैैन । 

मोदी दुगडले नूनको तस्करी गर्यो रे !
मोती दुगडले नूनको तस्करी गरेको भनेर पनि मिडियामा आउँछ । नून ब्रिफकेशमा बोकेर तस्करी गर्यो रे ! यस्ता कुरा पनि आउँछन् । मैले गाँजा अफिम पनि तस्करी गरें रेँ । तर म यस्ता कुराबाट बिचलित भएको छैन् । इतिहासले बताउँछ कसले काम गरेको छ, कसले काम गरेको छैन् । इतिहासमा कलंक पैदा नगरौँ । 

निजी क्षेत्रले काम गर्नुस्, तपाईंलाई कानूनले अधिकार दिएको छ । राष्ट्र र राष्ट्रियता सम्झेर काम गर्नुस् । तपाईंलाई कसैले जेल हाल्न सक्दैन । यो देशलाई समृद्ध गराउनु होस् । तपाईंलाई सम्मानित गरिन्छ । निजी क्षेत्रले मनोबल नगिराउनु होस्् । तपाईंहरु यो देशको कर्णधार हुनुहुन्छ । हामी अगाडि बढौं । आलोचनाबाट नडराउनुहोस् । आलोचना हुनुपर्छ । ऐन विपरितका काम नगरौँ । यो देश बन्छ । सबै मिलेर बनाउनुपर्छ । 

(नेकपा एमालेको उद्योग विभागले आइतबार साँझ आयोजना गरेको ‘बर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफलमा पूर्वमन्त्री एवम् विभागका संयोजक दुगडले व्यक्त गरेको विचारको सम्पादित अंश) 

Advertisement

Advertisement