रेमिटान्स बढाउन आईपीओमा कोटा सुविधासहितको प्याकेज घोषणाको तयारी

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपालीबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित दूतावास प्रमुखलाई आग्रह गरेका छन् । 

दुई दर्जनभन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महाबाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार भर्चुअल बैठक गर्दै शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । उनले भने, ‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईंहरुले विशेष भूमिका खेल्नुपर्छ । रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने बाताबरण सिर्जना गर्नुस् ।’

Advertisement

चैत महिनामा ९१ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै शर्मा यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको बताए । उनले भने, ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरुलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन् ।’ आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरुसँग पनि छलफल भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । 

अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सिर्जना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै  ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’

त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि शर्माले आग्रह गरे । उनले भने, ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईंहरुले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ ।’

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याइन् । 

Advertisement