पेट्रोल पम्पहरुको स्टक क्लियरेन्स नगरी मूल्यवृद्धि गर्दा ४० करोड भ्रष्टाचार भएको छः अर्याल

Advertisement

काठमाडौं । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले पेट्रोल पम्पहरुमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै यसमा करोडौं भ्रष्टाचार हुने गरेको बताएकी छन् । 

सोमबार संसदमा बोल्दै उनले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी चर्को मूल्य बढाएर करोडौंको चलखेल गरिएको भन्दै यसको छानविन र दोषीमाथि कारवाहीको माग गरेकी छन् । 

Advertisement

अर्यालले एक पटक पेट्रोल पम्पमा भरेको इन्धनले तीन दिनको माग धान्ने र स्टक क्लियर नगरी मूल्यवृद्धि गर्दा करोडौं भ्रष्टाचार हुने गरेको बताउँदै आइतबार पनि त्यही भएको बताइन् । 

आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक रहेको तर आइतबार रातिदेखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपियाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने उनको हिसाव छ । 

अर्यालले यो रकम सीमित व्यक्तिको खल्तीमा मात्र गएको छ कि मन्त्रीको भागमा पनि परेको छ ? भन्दै यसअघिका मूल्यवृद्धिमा पनि जेठमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पनि स्टक क्लियर नगरी मूल्यवृद्धि गरी २२ करोड घोटाला भएको बताइन् । 

पेट्रोलियम पदार्थमा यति ठूलो महंगी सायद इतिहासमा पहिलो पटक भएको हो भन्दै उनले जनताको ढाड सेकेर असुली गरेको पैसा कहाँ गएको छ ? भनी प्रश्न गरिन् । अर्यालले भनिन, ‘माननीय मन्त्रीज्यूहरुको संलग्नता भएको छैन भने किन मौन बस्नुभएको छ ? किन मुकदर्शक बन्नुभएको छ ?’

Advertisement

Advertisement