इन्धन आपूर्ति सहज बनाइराख्न मूल्य नबढाई विकल्प नै भएन्ः आपूर्तिमन्त्री बडू

Advertisement

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पद्धार्थको आपूर्ति व्यवस्था सहज बनाइराख्न बाध्यात्मक रुपमा मुल्यवृद्धि गर्नुपरेको दावी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सोही अनुरुप मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको बताए । बडूले नेपाल आयल निगमलाई जेठ मसान्तसम्म मात्रै ५० अर्ब रुपियाँ घाटा भएको र इन्डियन आयल कर्पोरेशनलाई २२ अर्ब कक्यौता रहेको बताए । 

Advertisement

इण्डियन आयललाई तिर्नुपर्ने रकम बढ्दै जाने हुँदा आपूर्ति व्यवस्थालाई सहज बनाउनका लागि मूल्य समायोजन गर्नुपरेको उनको भनाई छ । उनले रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा ऊर्जाको संकट निम्तिएको र पेट्रोलियम पद्धार्थको मूल्य बढेर आइरहेको बताए । 

बडूले भने, ‘नेपाल आयल निगमलाई पछिल्लो पटक मिति २०७९ असार २ गते इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मुल्यसूची अनुसार पेट्रोलको खरिद लागत मूल्य प्रतिलिटर २०९ रुपियाँ २८ पैसा, डिजेलको प्रतिलिटर २०२ रुपियाँ १६ पैसा, हवाइ इन्धनमा प्रतिलिटर १६८ रुपियाँ ७० पैसा र एलपी ग्याँसको प्रतिसिलिन्डर २५५१ रुपियाँ १५ पैसा पर्न गएको थियो । जस अनुसार मूल्य बढ्नुभन्दा पहिलेको स्थितिमा प्रतिलिटर पेट्रोलमा करिब ३१ रुपियाँ २८ पैसा, डिजेलमा करिब ३७ रुपियाँ १६ पैसा र हवाइ इन्धनमा २ रुपियाँ ७० पैसा घाटा र एलपी ग्याँसमा प्रतिसिलिन्डर ७५१ रुपियाँ घाटा हुने अवस्था रहि समग्रमा पेट्रोल पद्धार्थको कारोबारबाट नेपाल आयल निगमलाई १५ दिनको अनुमानित बिक्रीमा करिब ४ अर्ब ८२ करोड रुपियाँ घाटा हुने अवस्था रहेको थियो । पेट्रोलियम पद्धार्थको विक्रीबाट निगमलाई हुने नोक्सानीलाई मध्यनजर गर्दै मूल्य निर्धारण गर्न अधिकार सम्पन्न निगमको सञ्चालक समितिको मिति २०७९ असार ५ गतेको बैठकबाट २०७९ असार ६ गतेदेखि लागु हुनेगरी पेट्रोलमा रु. २१, डिजेलमा रु. २७ ले वृद्धि गरी नयाँ खुद्रा मूल्य पेट्रोलमा रु. १९९ र डिजेल, मट्टीतेलमा १९२ र हवाई इन्धनमा रु. १९ ले वृद्धि गरी नयाँ खुद्रा मूल्य प्रतिलिटर रु. १८५ कायम गरिएको थियो । आम नागरिकले प्रयोग गर्ने एलपी ग्याँसमा निगमलाई प्रतिसिलिन्डर ७५१ रुपियाँ अहिले पनि घाटा हुँदा समेत कुनै मूल्यवृद्धि नगरी यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखि मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करिब रु. ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेशनलाई हाल २२ अर्ब वक्यौता रहेको व्यहोरा समेत म सदन समक्ष जानकारी गराउन चाहान्छु ।’ 

मन्त्री बडूले सरकारले एलपी ग्याँसको खपत न्युनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिई राहत प्रदान गर्ने, विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छुट प्रदान गर्ने नीति लिएको पनि बताए । 

उनले विद्युत प्रयोग गर्ने उद्योगलाई विद्युत महशुलमा छुट दिने सरकारको नीति रहेको बताए । 

Advertisement

Advertisement