गुरुपूर्णिमाः मानस पटलमा अनेकौं गुरुका संस्मरण

Advertisement

यस लेख त्यस बेलाको सम्झनाबाट गरौँ जुन कुरा २२ बर्ष अघिको हो । त्यसबेला म व्यवस्थापन संकायमा प्रमाणपत्र तह अध्ययन गर्दै थिए, चितवनको भरतपुरस्थिति सप्तगण्डकी क्याम्पसमा । 

म र अर्का एक जना साथी चितवन आँखा अस्पताल अघि डेरामा बस्थ्यौँ । हाम्रा एक सहपाठी थिए । उनी भने भरतपुरको कर कार्यालय परिसरमा रहेको आवासमा बस्थे । किनकी उनका मामा कर कार्यालयका हाकिम थिए । हाम्रो डेरा र कर कार्यालयको आवास नजिकै भएका कारण उनी हाम्रोमा दिनदिनै र धेरै जसो आइरहन्थे । उनका मामा देवघाटमा बस्नुहुने एक बाबाकोमा प्रायः हरेक हप्ता जाने गर्दथे । शनिबार सरकारी गाडि आफै हाँकेर जाने ती हाकिमले साथीका रुपमा आफ्ना भाञ्जा अर्थात हाम्रा साथीलाई लैजाने गर्दा रहेछन् । 

Advertisement

ती साथीले सुनाउने गर्दथे कि ती बाबा देवघाटमा नारायणी किनारमा साधनारत रहन्छन् । कतिपय दिनहरुमा उनका मामा ती गुरुसँग अलि बेर बस्न पाए हुन्थ्यो भन्ने अपेक्षासहित पुग्दा रहेछन् । तर गुरुले ५ देखि बढिमा ७ मिनेट जति बसेपछि उनका मामालाई भन्नु हुने रहेछ ‘तँ जा अब’ । मामाले भने छन् ‘गुरु हजुरको समीपमा म अलि बेर बस्न चाहन्छु’ । गुरुले भन्नु भएछ ‘ठिकै छ, तेरो लागि समय यति नै हो, यो भन्दा बढि बस्न तँ योग्य भइसकेको छैनस्’

ती हाकिमले हरेक पटक भेट्न जाँदा फलफूल त लैजाने त भइहाले । तर गुरुले त्यो फलफूल नजिकै बस्ने विशेषगरी माग्नेहरुलाई बोलाएर तुरुन्तै बाँडिदिने गर्नुहुँदो रहेछ । एक दिन ती मामाले अदबपूर्ण रुपमा गुरुलाई भनेछन् ‘गुरु हजुर दुब्लो पनि हुनुहुन्छ, यी फलफूल हजुरले ग्रहण गर्नु भए पोषण हुन्थ्यो कि ?’ । गुरुले जवाफ साथीले हामीलाई सुनाए, ‘यी फलफूल खाने कुरा उनीहरुलाई लेखेको छ । तैंले सोचेको ठीक हो । तर तँ मेरो चिन्ता नमान ।’

ती मामा हाकिमले एक दिन गुरुलाई केही आर्थिक सहयोग गर्ने अभिप्रायले २५ हजार रुपियाँ बोकेर गएछन् । साथमा थिए उनै भाञ्जा । निकै दकसका साथ ती हाकिम मामाले गुरुलाई अलिकति पैसा हजुरलाई दिने मनसुवा राख्दा गुरुले भने, ‘यत्रो पैसा मलाई चाँहिदैन, बरु तैले नै चलाउनु ।’ ती मामाले ‘यो रकम हजुरलाई नै दिन्छु भनि संकल्प गरेकाले म चलाउन सक्दिन’ भने । प्रतिउत्तरमा गुरुले भन्नुभयो, ‘उसो भए यो पैसाले मानिसहरुलाई भोजन गराई दिनु ।’

हाम्रा ती साथी चुरोट खानुपर्ने । राम्रा–राम्रा लुगा छानेर लगाउनुपर्ने । आँखामा चश्मा फेरिफेरि लगाउनुपर्ने । जुत्ता फेरिरहनुपर्ने स्वाभावका थिए । मामाले बडो झुकावसाथ दिएको पैसा गुरुले अस्वीकार गरेको देख्दा छक्क पर्दै ती साथी भन्थे, ‘यत्रो पैसा दिन खोज्दा पनि लिनै नमान्ने ।’ मैले भने गुरुको प्रत्यक्ष दर्शन पाउन सकिन । साथीले बर्णन गर्नेगरेको मात्रै सुनें ।
करिव १९ बर्ष अघि एक जना मित्र र म मनमा शान्ति होस् भन्ने अभिप्रायका साथ बेलाबेला अनेकौँ ठाउँमा जाने गथ्र्याैं । त्यही क्रममा एक दिन काठमाडौँको शंखमुलमा बिहानको करिव ११ बजेतिर गएका थियौँ । सम्भवतः त्यसदिन शनिबार थियो । बाहिर केहीबेर बसेपछि हामी त्यहाँभित्र रहेको आश्रममा पहिलो पटक छिर्यौं । त्यहाँ पटाङिगनीमा एक जना शान्त भावका गुरु बस्नु भएको रहेछ । साथमा दुई चार जना अन्य मानिसहरु पनि थिए । हामी अलि ठिटाहरुलाई देखेपछि उहाँले हामीलाई नजिक आउन संकेत गर्नुभयो । त्यही बेला एक जना तालु खुईलिएका बौद्धिक क्षेत्रको जस्तो देखिनुहुने व्यक्ति हातमा फलफूल बोकेर आउनु भयो । उनले गुरुको दर्शन गरे । गुरुले हामीतर्फ केही बेर कुराकानी गर्ने मनसुवाले उहाँसँग सोध्नु भयो ‘कतिबेर बस्छौँ’ । उनले भने ‘बस्छु ।’ उहाँले ती व्यक्तिलाई खप्तड स्वामीको विचार विज्ञान पढ्दै गर भनेर दिनुभयो । अनि गुरुले हामीतिर हेर्दै तिमीहरुले पनि यो पढ्नुपर्छ भन्नु भयो । मैले पढेको छु भनेपछि उहाँले अलि पत्यार नमान्नु स्वाभाविक पनि थियो र भन्नु भयो ‘उसो भए तिमीले के बुझ्यौँ ?’ मैले त्यसबेला जे जति बुझेको थिएँ, सो भने । सम्भवतः मेरो भनाईमा धेरै प्रतिशत विश्वाससहित केही प्रतिशत अविश्वास रहेको उहाँले थाहा पाउनुभयो र पुनः सोध्नुभयो, ‘पुस्तकमा भनिएको कुरा हो जस्तो लाग्छ ?’ मैले केही आफ्नो थोरै अपत्याससहित धेरै कुरा हुन् भने । उहाँले मलाई पुनः विचार विज्ञान अध्ययन गर्ने सल्लाहसहित एक–एक दाना मात्र दिनु भए हुन्छ भन्दा भन्दै दुई–दुई दाना स्याउ दिएर विदाई दिनु भयो । 

त्यसको झण्डै एक दशपछि मलाई उहाँसँगको भेटको सानिध्यताको महत्व विस्तृत रुपमा महशुस भयो र पुनः खोजी गर्दै जाँदा उहाँ समाधिस्थ भइसक्नु भएको खवर मात्र पाए ।

दुई दशक अघि म अध्ययनरत रहँदै स–सानो कामहरु पनि गर्दै थिए र करियरको संघर्षको यात्रामा थिएँ । एक दिन एक साथी र म पशुपति मृगस्थलीमा अपरान्हको ४ बजेतिर पेटि जस्तो अग्लो स्थानमा बसिरहेका थियौँ । एक जना भारतीय साधु हाम्रो नजिक अरु दुई जना चेलाका साथ आउनु भयो । उहाँले हामीसँग केही कुराहरु पशुपतिका बारेमा सोध्नु भयो । हाम्रो नजिक नजिक रहेका एक मारवाडी समुदायका व्यक्ति नजिकै आएर गुरुसँग केही समय कुराकानी गरे । ती साधुले ती व्यक्तिलाई केही समयको कुराकानीपछि धन्यवाद भन्दै पुनः हामीसँग कुराकानी गर्न थाल्नु भयो । मेरो मनमा यी गुरुसँग हात देखाउनु पर्यो भन्ने लाग्यो । मैले तपाईं हात हेर्नुहुन्छ ? भनि सोधेँ । उहाँले हिन्दीमा भन्नुभयो ‘नहीँ, लेकिन मै ए कह सक्ता हुँ, तुम अच्छा करपाओगे ।’ उहाँले थप भन्नु भयो, ‘तुम्हारे आँखे कहेरहे हैं कि तुम बहुत करपाओगे, लेकिन तुमे कुछ और यात्रा करना बाँकी हैँ ।’ 

मैले सोधें, ‘कैसे प्रकारके कौन क्षेत्रमे अच्छा होगा ?’ उहाँले भन्नुभयो ‘अपने दादाको कहे हुए मार्ग ।’ मैले त्यस बेलाको बुद्धि र उमेर अनुसार खास त्यत्ति बुझ्न सायद सकिन । धार्मिक–आध्यात्मिक जगतलाई गाली भने नगर्ने । केही विश्वास गर्ने तर केही मात्रामा भौतिकवादी विचार पनि आफूभित्र रहेको अवस्थामा थिएँ । 
मैले यो कुरा पछि बुझें जतिबेला मेरो हजुरबुबाको देहान्त पछि । हजुर बुबाको ‘बाबु तँ आधुनिक शिक्षा नै पढ तर हाम्रो बंश परम्परामा जेठो छोराले ज्योतिष, धर्म–अध्यात्ममा गरेको योगदान तेरो पालमा आएर नचुडोस् ।’ अनि म मोडिए– गरिराखेको पत्रकारिता, कलेज अध्यापन तथा कानूनको अध्ययनपछिको संभावित गर्न सक्ने वकालतको क्षेत्रलाई चटक्कै पारेर आफूलाई ‘ज्योतिषी गुरु दिवाकर पन्त’ भनि चिनाउन ।

यो प्रसङ्ग म सानै हुँदाको हो । हाम्रो घर जान मस्र्याङ्गदी नदीको किनारमा रहेको सडकबाट पैदल उक्लनु पथ्र्याे । सोही सडक नजिक बेसींमा रहेको बजारमा एक जना विष्ट वैरागी हिड्ने गर्नु हुन्थ्यो । उहाँ घरबार त्यागेर हिड्नु भएको र मानिसहरुको हात हेर्ने गर्नु हुन्थ्यो । सेतो दाह्री र लामो कपाल भएका उहाँलाई मेरो आमाले एक दिन सोही बाटो हिंड्दै गर्दा यसको हात हेरिदिनु न भन्नु भयो । एक पसलको बाहिर ढुङ्गाको बनाएको पेटिमा बसेर उहाँले हात हेर्दै ‘यसको दाहिने हातमा श्री लेखिएको छ’ भन्नुभयो । अरु के के भन्नु भयो ? मलाई सम्झना छैन् । मलाई त्यत्ति मात्र सम्झना छ । सानोमा त्यत्ति यस विषय ख्याल भएन् ।सायद १९–२० को भएपछि यस विषय सम्झनामा आयो र आफ्नै हातमा पटक पटक ‘श्री’ खोजियो । दशकौँ दशकपछि आफैले हस्तरेखा अध्ययनको ज्ञान पढेपछि मात्र यस विषयको गहिराई बोध हुन आयो ।

यस्ता अनगिन्ती उर्जा र आभाले जीवनमा भूमिका खेलेको हुनुपर्छ । बाँकी अरु स्मरणका पोकाहरु कुनै सन्दर्भमा साझा गरुँला । गुरुपूर्णिमाको यस पावन दिन सबै गुरुहरुमा हृदयतः नमन, प्रणाम !!

(लेखक पन्त युवा ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् तथा पूर्वीयदर्शनका व्याख्याता हुन् । सम्पर्क ९८१३६३७२३८)
 

Advertisement

Advertisement