बीमितको सम्पत्तिको स्रोत नखोज्दा कम्पनीहरुमाथि जोखिम बढ्दै, समिति भन्छ– छानविन गरी बीमा गर्नु

Advertisement

काठमाडौं । बीमितहरुको सम्पत्तिको स्रोत नखोज्ने गरेबाट आफूहरुमाथि अनावश्यक जोखिम बढ्न थालेको बीमा कम्पनीहरुले गुनासो गरेका छन् । बैंक वित्तीय संस्थामा बैंकको सम्पत्तिको स्रोत खोज्ने चलन भए पनि नेपालको बीमा क्षेत्रमा त्यो नरहेको बताउँदै त्यसले गर्दा आफूहरुको जोखिम बढाएको कम्पनीका सीईओहरुको भनाई छ । 

एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ०) एलपी दासले कर्पोरेट नेपालसँग भने, ‘भारतको बीमा कम्पनीहरुले बीमा गराउनुअघि बीमितको सम्पत्तिको स्रोत राम्रोसँग चेकजाँच गराउने चलन छ । नेपालमा त्यो छैन् । नेपालमा बीमितले ल्याएको पैसा कसरी आयो ? खोजिदैन । त्यसले कम्पनीहरुमाथि जोखिम बढाउने काम गरेको छ ।’ 

Advertisement

अवैधरुपमा कमाएको पैसाबाट ठूलठूलो बीमा गर्ने, त्यसैको आधारमा दुर्घटनासमेत गराउने र बीमा दावी गरेर कालो धनलाई सेतो बनाउने प्रवृत्ति रहेको बीमा क्षेत्रका जानकारहरु बताउँछन् । नेपालका बीमा कम्पनीहरुले सम्पत्तिको स्रोत बैंकले खोजिहाल्छ नि भन्ने सोच र यस्तो कुरामा बीमा समिति पनि मुकदर्शक बस्ने प्रवृत्तिले गर्दा समस्या बढ्दै गएको छ । 
 
सीईओ दासले त्यसरी मनोमानी ढंगले जहाँ बीमा हुन्छ, त्यहाँ छोटो समयमा नै ठूलो रकमको दाबी भुक्तानी दिन जरुरी हुने बताउँदै त्यसले समग्र बीमा क्षेत्रलाई नकारात्मक असर गर्ने बताए । 

नेपाल लाइफ इस्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीले समितिले ल्याएको सम्पत्ति शुद्धीकरणको कानुनी बाटो ठिक भएनभएको समीक्षा जरुरी रहेको बताए । उनले भने, ‘पछिल्लो समय बीमा कम्पनीहरुलाई जोडेर सम्पत्ति शुद्धीकरणका विभिन्न विषयहरु चर्चामा आईरहेका छन् । त्यसरी बीमा कम्पनीहरुसँग जोडिने रकमका विभिन्न आशंका रोक्न बीमितले ल्याएको सम्पत्तिको कानुनी बाटो अपनाउँदा ठिक भए नभएको समीक्षा हुनुपर्छ भन्ने लाग्छ ।’

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ राकेश पोखरेलले बीमा कम्पनीहरुले पनि बैंकले जस्तै बीमितको सम्पत्तिको खोजी गर्नु आवश्यक रहेको बताए । उनले भने, ‘बीमितको सम्पत्तिको जति धेरै खोजी गरिन्छ, त्यत्ति नै त्यसले बीमितहरुलाई नै फाइदा पुर्याउँछ ।’ 

बीमा कम्पनीहरुले अहिले एक चरणसम्म बीमितको विवरण माग्ने गरेको बताउँदै उनले भोलिका दिनमा त्यसलाई थप व्यवस्थित बनाउँदै लानुपर्ने बताए । 

यता बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुले जति अनुसन्धानमूलक बीमा गर्यो, त्यति नै त्यसले गहनाको रुपमा काम गर्ने बताए । उनले भने, ‘हामीले बीमा कम्पनीहरुले राम्रोसँग छानविन गरेर मात्रै बीमा गर्नुपर्छ भनेर बारम्बार भन्दै आएका छौं । छानविन गर्दा पनि कहीलेकाहीं समस्या देखिनसक्छ । हामीले देखिदैन पनि भन्दैनौ । तर, कम्पनीहरु यस विषयमा गम्भीर भएर बीमितको सम्पत्ति बीमा गराउनुपूर्व अनुसन्धानमा लागे त्यसले पक्कै पनि राम्रो नतिजा दिन्छ ।’

समितिका अध्यक्ष सूर्य सिलवाल पनि बीमा गरेको छोटो समयमा बीमा कम्पनीहरुले ठूला दावी तिर्दा त्यसलाई शंकास्पद रुपमा हेरिनु राम्रो हुने बताउँदै आएका छन् । उनले बीमा कम्पनीहरुले एकै पटक करोडौंको क्लेम दिएको र बीमितले बीमा गरेको छोटो समयमा नै ठूला रकमको क्लेम पर्यो भने गडबडी हुनसक्छ भनेर कम्पनीले हेर्नुपर्ने बताए । 

Advertisement

Advertisement