पूर्ण ज्ञान भएमा देव, अपूर्ण ज्ञानले असुर

Advertisement

शिरीषवल्लभ प्रधान
पूर्ण ज्ञान भएमा देव भइन्छ भने अपूर्ण ज्ञान भए असुर भन्ने कुरा छान्दोग्योपनिषद् मा उल्लिखित इन्द्र र विरोचनको कथाबाट स्पष्ट हुन्छ । एक दिन प्रजापतिले घोषणा गर्छ, जुन आत्मा जन्म, मृत्यु रहित, पाप शून्य, भोक, प्यासरहित सत्यकाम र सत्यसंकल्प स्वरुप छ, त्यसैको खोजी गरिनु पर्छ । जसले शास्त्र र गुरुको उपदेशअनुसार आत्माको खोजी गरेर त्यसलाई जान्दछ, त्यसले सम्पूर्ण लोक तथा समस्त कामनाहरुलाई प्राप्त गर्दछ । 

प्रजापतिको त्यस घोषणा सुनेर असुर र देवताहरु दुवै उत्साहित हुँदै आत्मालाई जान्न भनेर आपसमा प्रतिस्पर्धा गर्दै प्रजापति कहाँ जाने निश्चय गर्छन् । प्रजापतिकहाँ गएर ३२ वर्षसम्म ब्रह्मचर्य वास गरेपछि प्रजापतिले उनीहरुलाई दर्शन दिन्छ । प्रजापतिले सोध्छ, तिमीहरु के इच्छा लिएर यहाँ आयौ ? उनीहरु भन्छन्, भगवान्, त्यस  अजन्मा, अमर, पापरहित, भोकप्यासरहित आत्मालाई जानेर जीव सारा लोकहरुमाथि विजय प्राप्त गर्छन् र समस्त भोगहरु प्राप्त गर्छन् भन्ने तपाईंको बचन सुनेर त्यस आत्मालाई जान्ने इच्छा भएकोले यहाँ आएका हौं ।

Advertisement

यो जुन पुरुष नेत्रहरुमा देखिन्छ, यो नै आत्मा हो, यही अमृत हो, यही अभयस्वरुप हो, यही ब्रह्म हो । प्रजापति को कुरा सुनेर उनीहरुले प्रश्न गर्छन्, भगवन्, यो जलमा सबैतिर प्रतीत हुने र दर्पणमा देखिने छायामध्ये आत्मा कुन हो ? त्यसको उत्तरमा प्रत्यक्षरुपमा आत्मा कुन हो भनी नबतार्ई प्रजापतिले अप्रत्यक्षरुपमा संकेत गर्दै भन्छ, मैले जुन नेत्र अन्तर्गत पुरुषको वर्णन गरें, त्यही यी सबमा सबैतिर प्रतीत हुन्छ ।

प्रजापतिले अरु व्याख्या गर्दै भन्छ, जलले भरिएको तलाउमा हेरेर आत्माको विषयमा तिमीहरुले जे जान्न सकेनौ, त्यसबारे मलाई बताऊ ।  उनीहरुहरुले जलको प्रतिबिम्बमा हेरेपछि प्रजापतिले प्रश्न गर्छ, तिमीहरुले त्यहाँ के देख्यौं ? उत्तरमा उनीहरुले भने, भगवन् हामीले  आफ्नो त्यस आत्माको रौंदेखि नङसम्म सबै कुरा जस्ताको तस्तै देख्यौं । यसरी उपनिषद्ले कसरी गुरु र शिष्यबीच छलफल र तर्कवितर्कव्दारा ज्ञान उजागर गरिन्छ भन्ने कुरा स्पष्ट पार्छ । तर इन्द्र र विरोचन दुबैले यहाँ शरीरलाई नै आत्मा ठान्छन् । 

प्रजापतिले फेरि उनीहरुलाई आदेश दिन्छ, तिमीहरु राम्रो बस्त्र र गहनाले सुसज्जित भएर फेरि जलमा आफ्नो प्रतिबिम्ब हेर, त्यहाँ के देख्छौ भन् । उनीहरु नयाँ वस्त्र र गहनाले सुसज्जित भई जलमा आफ्नो प्रतिबिम्ब हेर्दै भन्छन्, भगवन्, हामी जसरी अलंकृत र परिष्कृत भएर आयौंं, जलमा पनि त्यस्तै अलंकृत र परिस्कृतरुपमा देख्यौं । त्यसपछि उनीहरु दुबै शान्त चित्त लिएर त्यहाँबाट जान्छन् । उनीहरु त्यसरी गएको देखेर प्रजापतिले मनमनै भन्छ, उनीहरु दुबै आत्मालाई नजानिकनै, विना साक्षात्कार नै गएछन् । देवता होस् वा असुर, जो, जो यसरी जान्छन्, तिनीहरु पराभाव अर्थात् विनाशलाई प्राप्त गर्छन् । 

यसरी त्यहाँबाट शान्त चित्त भई फर्केर गएका विरोचन देहलाई नै आत्मा ठानेर दैत्यहरुकहाँ पुगेर गर्व गर्दै भन्छ, यस लोकमा देह अर्थात् आत्मा नै पूजा गरिन र जान्न योग्य छ । यसरी देह अर्थात् आत्मालाई उपासना गर्ने वा त्यसलाई जान्ने व्यक्तिले यस लोक र परलोक दुबैलाई प्राप्त गर्छन् । उपनिषद्ले शरीरमा आत्मबुध्दि गर्ने व्यक्तिको निन्दा गर्दै भन्छ, यस लोकमा दान नगर्ने श्रध्दा नगर्ने र यज्ञ नगर्ने जो पुरुष छन्, तिनलाई विव्दान्हरु आसुरी स्वभाव भएको भन्छन् । ती असुरहरु नै मृत शरीरलाई नाना प्रकारका पुष्प, सुगन्ध, वस्त्र अलंकार  आदिले सुसज्जित गराई हामी यसव्दारा परलोक प्राप्त गर्छौं, भनी विश्वास गर्छन्, उपनिषद्ले भन्छ ।

तर इन्द्र देवताहरुकहाँ नपुगिकनै फर्कन्छ, किनकि उसलाई यो भय हुन्छ, कतै उसले पाएको ज्ञान अधूरो पो छ कि ? यदि वस्त्र र अलंकारले सुसज्जित भएमा आत्मा सुन्दर देखिन्छ भने नराम्रो वस्त्र लगाएमा वा मानिस अन्धो भएमा आत्मा पनि कुरुप वा अन्धो हुने भयो । त्यसो भए त शरीर नाश भएमा आत्मा पनि नष्ट हुने भयो, तब त्यो कसरी अविनाशी, जन्ममृत्यु रहित आत्मा भयो ? उनलाई त्यसमा शंका लाग्न थाल्छ । ऊ त्यस छायात्म दर्शनमा कुनै सार नदेखी पुनः फर्केर प्रजापतिकहाँ जान्छ र प्रजापतिले उसलाई भन्छ, तिमी त शान्त चित्त लिएर विरोचनकासाथमा गएका थियौ, अब कुन इच्छाले यहां आयौ ? उसले प्रजाति सामु आफ्नो शंका राख्दै त्यस छायात्मदर्शनमा कुनै सार नभएको कुरा बताउँछ ।

इन्द्रले तिम्रो कुरा सही हो भन्दै तिम्रोनिम्ति म फेरि आत्माबारे व्याख्या गर्छु तिमी बत्तीस वर्ष पुनः ब्रह्चर्य बस भनी आदेश दिन्छ । इन्द्र अर्को ३२ वर्ष ब्रह्मचर्य बसेपछि प्रजापतिकहां जान्छ र उसले उपदेश दिन्छ, जो यो स्वप्नमा पूजित भएर विचरण गर्छ, त्यो आत्मा हो, त्यो अमृत हो, अभय हो, यही ब्रह्म हो । इन्द्र देवताहरुकहां फर्कन लाग्दा लाग्दै त्यसबारे पनि उसलाई शंका हुन्छ । यद्यपि यो शरीर अन्धो होला, तथापि स्वप्न शरीर त अन्धो हुंदैन । यो शरीर काम गरेर थाक्छ, तर त्यो स्वप्न शरीर त थाक्दैन । यसको दोषले त्यो दूषित हुँदैन ।

इन्द्रले पुनः विचार गर्छ, कि त्यो स्वप्न अवस्था कसरी आत्मा हुनसक्छ, किनकि त्यो त अस्थायी हुन्छ । ब्युंझिए पछि त्यसको अस्तित्व रहँदैन । फेरि स्वप्नमा पनि कसैले पीडा देला कि वा कसैले हत्या गर्ला कि भन्ने भय रहन्छ । आत्मा त भय र शोक रहित हुन्छ, त्यसैले स्वप्न देख्ने शरीर पनि आत्मा हुन सक्दैन । त्यस्तो ठानेर ऊ पुनः प्रजापतिकहाँ जान्छ र आफ्नो शंका व्यक्त गर्छ । प्रजापतिले उसलाई पुनः ३२ वर्ष ब्रह्मचर्य बस्ने आदेश दिन्छ र ऊ ३२ वर्ष ब्रह्मचर्य बसेर पुनः प्रजापतिकहाँ जान्छ । तब प्रजापतिले भन्छ, यो जुन सुषुप्तिको अवस्था छ, जसमा मानिस आनन्दको अनुभव गर्छ तर स्वप्न देख्दैन, त्यही आत्मा हो । प्रजापतिको यो कुराले पनि इन्द्र सन्तुष्ट हुँदैन, उसले पुनः शंका व्यक्त गर्दै भन्छ, सुषुप्तिको अवस्थामा त उसलाई आफू छु भन्ने पनि थाहा हुँदैन अर्थात् कुनै चेतना नै हुँदैन । त्यसैले त्या्े पनि आत्मा हुन सक्दैन । प्रजापतिले उसलाई पुनः ५ वर्ष ब्रह्मचर्यव्रत वस्ने आदेश दिन्छ र त्यसपछि कुल १०१ वर्ष ब्रह्मचर्य बसेका इन्द्रको जिज्ञासा अन्तमा प्रजापतिले समाधान गरिदिन्छ । उसले इन्द्रलाई अशरीरि, अजन्मा, अमर, सर्वव्यापी आत्मावारे सविस्तार बताउंछ ।

प्रजापतिले भन्छ, हे इन्द्र, यो शरीर मरणशील छ, जो यस अशरीरि अमृतधारी आत्माको अधिस्थान अर्थात् भोगायातन हो । मन, इन्द्रीय आदिले युक्त सशरीर जीव प्रिय र अप्रियका भागी हुन्छ भने अशरीर आत्मालाई प्रिय, अप्रियले स्पर्श गर्न सक्दैन ।  

आत्माबारे अरु स्पष्ट पार्दै प्रजापतिले भन्छ, जसले नेत्रेन्द्रियव्दारा रुप ग्रहण गर्छ, त्यो चेतना आत्मा हो । जसले श्रोत्रेन्द्रियव्दारा ध्वनी ग्रहण गर्छ त्यो आत्मा हो, जसले वागिन्द्रियव्दारा वाणी बोल्छ, त्यो आत्मा हो, जसले घ्राणेन्द्रियव्दारा गन्ध सुंघ्छ त्यो आत्मा हो, जसले मनव्दारा मनन गर्छ, त्यो आत्मा हो । जसले यसरी आत्मालाई जान्छ, उसले समस्त लोकमाथि विजय हासिल गरी सम्पूर्ण भोगहरु प्राप्त गर्छ, प्रजापतिले भन्छ । यसरी आत्माको पूर्ण ज्ञान पाएका इन्द्र देवताहरुका राजा हुन्छ भने अपूर्ण ज्ञान पाउने अर्थात् शरीरलाई नै आत्मा भनी जान्ने विरोचन असुरहरुको राजा कहलिन्छ ।

Advertisement

Advertisement