‘काठमाडौंबाट सिन्धुली विद्युतीय गाडीमा तीन सयले पुगिन्छ, पेट्रोलमा गए चार हजार खर्च हुन्छ’

Advertisement

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले देशले विद्युतको क्षेत्रमा ठूलो क्रान्ति गरिरहेको दावी गरेकी छन् । मंगलबार रत्नपार्कमा सञ्चालनमा ल्याइएको चार्जिङ सेन्टरको उद्घाटनपछि उनले सो कुरा बताएकी हुन् ।

भुसालले विद्युत उत्पादन गरेर आफैँले प्रयोग गर्नु महत्वपूर्ण काम भएको बताउँदै यातायात सञ्चालनको लागि विदेशबाट डलर खर्च गरेर करिव तीन खर्बको डिजेल र पट्रोल आयात हुने अवस्था न्यूनीकरण गर्न विद्युत खपत बढाउने एक मात्रै विकल्प विद्युतीय यातायात भएको बताइन् ।  

Advertisement

भुसालले पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेपनि विद्युतीय यातायातको सोचे जस्तो विकास नभएको बताइन् । उनले रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या ऊर्जा संकट भएको बताइन् । 

भुसालले विश्वका धेरै देशहरुलाई डिजेल र पट्रोलको प्रतिस्थापनको विकल्प नभएको भन्दै नेपालमा डिजेल र पट्रोलको विकल्प विद्युतबाट परिपूर्ति गर्नुपर्ने बताइन् । विद्युत खपत बढाउने तथा बढी भएको विद्युत निर्यातमार्फत मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्ने उनको भनाई छ । 

भुसालले भनिन, ‘नेपालको ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति हो । मुलुक भित्रकै जलस्रोतबाट बनेको विद्युत उत्पादन गरेर हामी आफैँले प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । अर्को नेपालमा विदेशबाट डलर खर्च गरेर करिव ३ खर्बको डिजेल र पट्रोल आयात हुने गरेको छ । उत्पादित विद्युत खपत बढाउने एउटा मात्रै माध्यम विद्युतीय यातायात हो । पछिल्लो एक वर्षमा विद्युत खपत २२ प्रतिशतले बढेको छ । यातायात क्षेत्रमा भने जस्तो विद्युतीय भएको छैन् । विद्युतीय सवारीको माग पनि बढेको छ ।’ 

उनले थपिन, ‘पछिल्लो समय रुस र युक्रेन युद्धको कारण विश्वले भोगेको मुख्य समस्या भनेको ऊर्जा हो । विश्वका धेरै देशहरुलाई डिजेल  र पट्रोलको प्रतिस्थापनको विकल्प छैन । नेपालीले गौरव गर्नुपर्छ नेपालमा डिजेल र पट्रोलको विकल्प रहेको छ । नेपालको विद्युत धेरै सस्तो रहेको छ । काठमाडौंबाट सिन्धुली जाँदा विद्युतीय सवारीमा ३ सयको विद्युत खपत हुन्छ । तर डिजेल र पट्रोल प्रयोग हुने सवारीमा ४ हजार खर्च हुन्छ । यो भन्दा विद्युत १० गुणा सस्तो रहेको छ । विदेशमा जाने पैसा नेपालमा नै बस्छ । कृषि र ऊर्जा आयात गर्नाले ठूलो आर्थिक असन्तुलन रहेको छ । मुलुकको व्यापार घाटा कम गर्ने एउटा माध्यम जलविद्युत नै हो ।’

Advertisement

Advertisement