Advertisement

काठमाडौं । विगत २५ वर्षदेखि बीमा क्षेत्रमा आवद्ध रहेका र गएको १२ वर्षदेखि निरन्तर बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भई व्यवस्थापनको नेतृत्व गर्दै आएका सुधुम्न उपाध्याय अहिले सानिमा जनरल इन्स्योरेन्सको सीईओ छन् । अर्गानिक व्यवसायमा विश्वास गर्ने उनी प्रतिस्पर्धी बजारमा आफूहरुले अर्गानिक ग्रोथलाई नै प्राथमिकतता दिने बताउँछन् । उपाध्याय मर्जरले बीमा क्षेत्रमा प्रतिस्पर्धा बढ्ने बताउँछन् । विगतमा धेरै बीमा कम्पनीहरुले लाइसेन्स पाउँदा बीमा व्यवसाय धरायासी बन्छ भन्ने कतिपयको टिप्पणी रहे पनि त्यो वास्तविक थिएन् भन्दै उनले लघुबीमा कम्पनीहरुलाई लाइसेन्स दिनु अहिलेको आवश्यकता भएको बताउँछन् । यसले बीमा बजारमा सकारात्मक प्रभाव पार्ने उपाध्यायको विश्वास छ । उनीसँग कर्पोरेट नेपालले गरेको कुराकानी अंशः

सानिमा जनरलको व्यवसाय वृद्धि कति सन्तोषजनक छ ?
व्यवसायीक वृद्धि सन्तोषजनक नै छ । आर्थिक वर्ष २०७८–७९ मा हामीले एक अर्ब चार करोड रुपियाँको व्यवसाय आर्जन गर्न सफल भएका छौं । यस हिसाबले हेर्दा हाम्रो व्यसायिक वृद्धि समग्र निर्जीवन बीमा बजारको तुलनामा पनि धेरै नै छ । त्यसैले हाम्रो व्यवसायिक वृद्धिलाईे सन्तोषजनक भनेका हौं ।

Advertisement

सानिमा जनरल अर्गानिक ग्रोथमा विश्वास गर्छ भन्नु भएको थियो । ग्रोथ अर्गानिक छ कि हाईब्रिड ?
एकदमै अर्गानिक छ । किनभने हामीले अहिले पनि अर्बको व्यवसाय गर्दा पोर्टफोलियो हेर्नुहुन्छ भने निकै सन्तुलित छ । कुनै पनि सूचकांक घटीबढी छैन् । 

यही मोडलबाट कहिलेसम्म अघि बढ्नुहुन्छ ?
हामीले सधैं त भन्न सक्दैनौ तर केही समयको लागि भने यही मोडलबाट अघि बढ्छौं । हामी पाँच वर्षसम्म यही अर्गानिक मोडलको ग्रोथ गर्दै अघि बढ्छौं ।

बीमा कम्पनीहरु धमाधम मर्जरमा गइरहेका छन् । मर्जरपछिको बजारलाई कसरी परिकल्पना गर्नु भएको छ ?
मर्जरपछिको बजारबारे मेरो आफ्नो धारणामा चाहिं बजार अझै परिस्कृत हुन्छ जस्तो लाग्छ । किनभने त्यति बेला बीमा कम्पनीहरुको पुँजीले पनि एउटा आकार लिइसकेको हुन्छ । बजारको पहुँच पनि दुई वटा कम्पनीको शाखा सञ्जाल जोडदा नयाँ उर्जा दिन्छ । मर्जर सजिलो काम त होइन तर यसले व्यापार बिस्तारमा सहजता पुर्याउँछ ।

सानिमा जनरलले नयाँ बीमा योजना ल्याउने तयारी गरिरहेको छ कि छैन ?
अहिले तत्कालै हामीले त्यस्तो सोचेको छैन् । बीमा कम्पनीहरुको मर्जरको लहर सक्किएपछि मात्रै हामीले त्यसमा गृहकार्य गर्छौं ।

बीमा क्षेत्रमा युवाहरुलाई अवसर कस्तो छ ?
एकदमै राम्रो छ । अहिले राम्रो विषय पढेका कर्मचारीहरु हुनुहुन्छ । पहिले एउटा बीमा कम्पनीमा जम्मा एकजना चार्टर्ड एकाउन्टेन्ट हुने गर्थे भने अहिले एउटै कम्पनीमा चार–पाँच जना चार्टर्ड एकाउन्टेन्ट छन् । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको जनशक्ति बीमा कम्पनीहरुले उत्पादन गरिरहेका छन् ।

लघुबीमा कम्पनीहरु आउँदैछन् । तपाईंहरुलाई व्यवसाय खोसिने डर कत्तिको छ ?
लघुबीमाले हाम्रो बजार खोस्ने सम्भावना कम छ । हामीले लघु बीमाका केही काम गर्न सकेनौ । अब अरु कम्पनीले त्यसमा काम गरे भने लघुबीमादेखि ठूला पूर्वाधारको बीमा हुने अवस्था आउँछ । त्यसले व्यापार खोस्दैन । हामी अरु व्यवसायमा केन्द्रित भएकाले लघुबीमामा कता कता अल्मलिएको हो कि भन्ने चाहिं हो ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिलाई के भन्न चाहानुहुन्छ ?
बीमा समितिले बजार सुहाउँदो निर्देशिका जारी गरेको छ । त्यस्तै बीमा विद्येयक पनि आउने तयारीमा छ । हामीले बाहिरका देशहरुमा पनि हेर्ने हो भने सानो देशको रुपमा पनि नेपालले गरेको बीमाको विकास राम्रो छ । बीमा समितिले हामी कम्पनीहरुको पनि कुरा सुन्नु हुन्छ । यसले भविष्यमा बजार विकासमा राम्रो प्रतिफल दिन्छ ।

आम नागरिकलाई के सन्देश दिन चाहानुहुन्छ ?
बीमा तपाईंकै लागि हो । बीमामा सोचेको जस्तो क्षतिपूर्ति पाइएन जस्तो लाग्नु स्वाभाविक हो । त्यसैले बीमा गरेपछि मात्रै सुविधा पाइने हो भन्ने कुरा बुझेर बीमा गर्नु जरुरी छ ।

Advertisement

Advertisement