पहिलो पटक हुन लागेको नाडा ईभी एक्स्पोको तयारी कस्तो छ ?

Advertisement

काठमाडौं । नाडा अटोमोबाइल्स एशोशियसन अफ नेपालले आउँदो असोज ६ देखि ९ गतेसम्म भृकुटीमण्डपमा विद्युतीय सवारी साधनहरुको मेला ‘नाडा ईभी एक्स्पो’ आयोजनाको तयारी गरेको छ । नाडाले सोमवार पत्रकार सम्मेलन गरी मेलाको तयारीबारे जानकारी दियो । 

नाडाले विद्युतीय सवारी साधनहरुको मेला पहिलो पटक आयोजना गर्न लागेको हो । मेलामा नेपालमा बिक्री हुँदै आएका अधिकांश विद्युतीय सवारी साधन र तिनका पार्टपूर्जाबारे जानकारी दिने, बिक्री गर्ने गरिन्छ । 

Advertisement

नाडा ईभी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहने सात वटा ब्राण्डका चार पाङ्ग्रे, १६ ब्राण्डका दुई पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे तथा तीन ब्राण्डका टायरहरुको प्रदर्शनी हुने बताए ।

नाडाका अध्यक्ष ध्रुव थापाले अहिले ईभी गाडीको माग बढेकोले मेला गर्नु आवश्यकता भएको बताए । उनले नाडाले अटो शो गर्ने सबै प्रक्रिया पूरा गरे पनि सरकारले सवारी साधनको आयात खुला नगरेको कारण अन्तिम समयमा रोक्नुपरेको बताए । 

थापाले अहिले सवारी साधनको आयातमा १० प्रतिशत विद्युतीय सवारी साधनले ओगटेको बताए । अबको पाँच वर्षपछि नेपालमा ५० प्रतिशत विद्युतीय सवारी साधनको बजार हुने उनको विश्वास छ ।

वर्तमान समयमा विद्युतीय सवारी साधनहरुको महत्व र माग दिन प्रतिदिन बढ्दै गएको, यस्ता सवारी साधनको बढ्दो प्रयोगले मुलुकमा उत्पादित जलविद्युतको उपभोग बढ्न गई देशलाई आत्मनिर्भर बनाउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको छ ।

Advertisement

Advertisement