एकीकृत बचत तथा ऋण सहकारी संस्थाले गर्यो निःशुल्क महिला स्वास्थ्य शिविर

Advertisement

काठमाडौँ । रौतहट जिल्लाको चन्द्रपुर स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरको उद्घाटन मधेस प्रदेशका मन्त्री प्रमोद यादवले गरेका थिए । 

श्री परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौँ र भक्तपुर क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा उक्त शिविर भदौ २७ र २८ गते चन्द्रपुर सरकारी अस्पतालमा सम्पन्न गरिएको हो ।

Advertisement

शिविरमा महिनाहरुको पाठेघरको मुखको क्यान्सर, महिनावारी समस्या र उच्च रक्तचाप जस्ता महिला सम्बन्धी रोगको निःशुल्क परीक्षण र आवश्यक औषधि वितरण गरिएको थियो । 

परोपकार प्रसुति अस्पतालका डा. अश्विनीकुमार गुप्ता, डा. विजय रानाभाट र भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अफिसर डा. रक्षा अर्याल, नर्सिङ सुपरभाइजर लक्ष्मीकेशरी श्रेष्ठ र सिनियर सिस्टर रिता श्रेष्ठ अमात्यबाट परीक्षण गरिएको थियो । 

शिविरमा ६०१ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । यी मध्ये ५० प्रतिशतमा पाठेघरको संक्रमण, २० प्रतिशतमा महिनावारी सम्बन्धी समस्या, ५ प्रतिशतमा निःसन्तान र २५ प्रतिशतमा पिसाब सम्बन्धी समस्या देखिएको थियो । दुई जनामा पाठेघरको मुखको क्यान्सर, २ जनामा छातिको क्यान्सर र २ जनामा भीआईए पोजेटिभ देखिएको स्त्रीरोग विशेषज्ञ डा. अश्विनकुमार गुप्ता र क्यान्सर रोग विशेषज्ञ डा. सुदीप थापाले बताए । क्यान्सर रोगीलाई भक्तपुर क्यान्सर अस्पतालले निःशुल्क उपचार गरिदिने जनाएको छ । 

उक्त शिविरमा  परीक्षण गर्ने सबैलाई आवश्यक औषधी संस्थाले निःशुल्क वितरण गरेको थियो । बाँकी रहेको औषधी एकीकृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण खड्काले चन्द्रनिगाहपुर सरकारी अस्पताललाई हस्तान्तरण गरेका थिए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष खड्काले बताए ।     

Advertisement

Advertisement