रेमिट्यान्स बीस प्रतिशतले बढ्यो, चालु आवको पहिलो महिनामा ९२ अर्ब २१ करोड भित्रियो

Advertisement

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २०.३ प्रतिशतले बढेको छ । 

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० को पहिलो महिनाको तथ्याङ्कमा आधारित आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उक्त तथ्याङ्क उल्लेख छ ।  

Advertisement

उक्त तथ्याङ्क अनुसार समीक्षा अवधिमा रेमिट्यान्स २०.३ प्रतिशतले वृद्धि भई रु. ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको
थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई रु.१०१ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

Advertisement