माग पूरा गर्न फुटपाथ व्यवसायीको बालेनलाई एक महिने अल्टिमेटम

Advertisement

काठमाडौं । फुटपाथमा व्यवसाय गर्दै आएका साना व्यवसायीहरुको संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकाले माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । आज आइतबार पत्रकार सम्मेलन आयोजना गरेर संघले एक महिनाभित्र पनि महानगरले माग पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । 

संघले महानगरपालिकाका मेयर बालेन शाहले वार्ता र सम्वादमार्फत समस्या समाधान गर्नुपर्ने र चाडवाडलक्षित गरेर निश्चित् स्थान र समय निर्धारण गरी व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने माग अघि सारेको छ ।  स्वरोजगार श्रमिकहरुको व्यवस्थापनको लागि कानून तथा नीति निर्माण गरिनुपर्ने, श्रमिकहरुलाई टहराको व्यवस्था गरी व्यवसाय गर्ने वातावरण तत्काल बनाउनुपर्ने संघले माग गरेको छ । 

Advertisement

यसैगरी, चाडवाडलक्षित गरेर अल्पकालिन रुपमा बिहान र बेलुकीको निश्चित् समय निर्धारण गरी यथास्थानमा व्यवसाय गर्न प्रबन्ध मिलाउन, जफत गरिएका सामानहरु फिर्ता गर्न पनि संघले आग्रह गरेको छ । 

स्वरोजगार श्रमजीवीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा सत्ताको शक्तिको प्रयोग गरेर लछारपछार गर्ने, लगानी नै सिध्याइदिनेगरी सामान नियन्न्त्रणमा लिने कार्यको संघले विरोध जनाएको छ । त्यस्तै, श्रम डेक्सको स्थापना गरी आफ्ना पालिकाभित्रका श्रमसम्बन्धी विषयहरुलाई व्यवस्थित गरि श्रमिकहरुको आवश्यक सुचीकरणलगायतका श्रम व्यवस्थापनसँग सम्बन्धित कामको थालनी गर्नुपर्ने संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

तत्काल उत्पन्न भएका समस्या समाधान र दिर्घकालिन संकटहरुको व्यवस्थापनका लागि नेपाल स्वरोजगार व्यापार श्रमिक संघसहित सरोकारवालाहरु सम्मिलित ‘उपत्यकामा सञ्चालन गरिने नागरिक बजार तथा स्वरोजगार श्रमिकको समस्या समाधानका लागि सर्वपक्षीय कार्यदल’ तत्काल गठन गरी आवश्यक कामको थालनी गर्र्नुपर्नेमा जोड दिएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष माया गुरुङले आफूले नेतृत्व गरेको संगठनमा १८ हजार श्रमिकहरु सदस्य रहेको बताइन् । कोभिड महामारीमा पनि लामो समय काम गर्न नपाएको सुनाउँदै उनले सडकमा बसेर व्यापार गर्ने आफूहरुको रहर नभई बाध्यता भएको बताइन् । 
मेयर बालेन शाहले फुटपाथमा बसेर व्यवसाय गर्नेहरुलाई व्यवस्थित गर्ने आफ्नो प्रतिवद्धता बिर्सिएको समेत गुरुङले बताइन् । उनले भनिन्, ‘लाखौं करोडौं सम्पत्ति भएकाहरुलाई अवैधानिक संरचना भत्काउँदा खासै असर पर्दैन् । तर ५ हजार रुपियाँले व्यापार गर्नेलाई ठूलो असर गर्छ ।’ 

गुरुङले फुटपाथ व्यवसायीहरुलाई महानगरका प्रतिनिधिहरुले लछारपछार गरेको उल्लेख गर्दै त्यसको विरोध गरिन् । महानगरले साना व्यवसायीहरुले बिक्री गर्ने सामान राखिएको गोदामसमेत फुटाइदिएको भन्दै उनले आपत्ति जनाइन् । 

महानगरले सबै जनताको पक्षमा काम गर्नुपर्ने उनको भनाइ थियो । उनले महानगरले एकलौटी ढंगले अमानवीय र दमनकारी हिसाबले गलत कार्य गरेको भन्दै त्यसको विरोध जनाइन् । 

त्यस्तै, प्रतिनिधि परिषदका प्रमुख नारायण न्यौपानेले फुटपाथको व्यापार राज्यलाई नभई नहुने व्यवसाय भएको जिकिर गरे । नेपाल जस्तो गरिब देशले निम्नस्तरको काम नगरी बाँच्न नसक्ने भन्दै उनले ठूला–ठूला काम र कुराले मात्रै राज्य चल्न नसक्ने बताए । 

Advertisement

Advertisement