भृकुटीमण्डपमा ५० परिकारका रोटीको प्रदर्शन, उद्देश्य– रैथाने रोटीहरुको संरक्षण गर्नु

Advertisement

काठमाडौं । भृकुटीमण्डपमा एक दिने पाँचौं राष्ट्रिय रोटी मेला आयोजना गरियो । तिहारको अवसर पारेर सुदूरपश्चिमका थर्कबहादुर साहले रोटी मेलाको आयोजना गरेका हुन् । 

साहले वर्षेनी तिहारको अवसरमा रोटी मेला आयोजना गरिने मेला यो वर्ष पनि भयो । मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने विभिन्न प्रकारका रोटी तथा मिठाइका परिकाहरु प्रदर्शनमा राखिएका थिए । 

Advertisement

उनले लोप हुँदै गएका नेपाली रैथाने रोटीहरुको संरक्षण गर्नको लागि रोटी मेला आयोजना गरिएको बताए । साहले विभिन्न जातजाति अनुसारका रोटीहरुमा पर्यटन तथा ग्राहकहरुको आकर्षण  देखेर रोटीको संरक्षणमा लागेको बताए । साहले पहिलो पटक रोटी मेला गर्दा २० परिकार भएपनि अहिले थपिएर ५० प्रकारका रोटी प्रदर्शनीमा राखिएको बताए । 

साहले नेपालमा १०० भन्दा बढी परिकारका रोटीहरु बनाउन सकिने सम्भावना रहेको दाबी गरे । 

त्यस्तै, रोटी मेला अवलोकन गर्न आउनेहरुले नेपाली रैथाले रोटीहरुको संरक्षण गर्न रोटी मेलाको आवश्यकता रहेको बताए । मेला अवलोकनकर्ता टंक तिमिल्सिनाले मेला राम्रो भएपनि खाने रोटीहरु गुणस्तर भए नभएको सरकारी निकायले प्रमाणित गरेर प्रर्दशनी गर्नु राम्रो हुने बताए । 

त्यस्तै हरिप्रसाद अधिकारीले नेपाली विभिन्न जातजाति र ठाँउ अनुसारका रोटीका प्रकार एकै ठाउँमा देख्न र खान पाउनु राम्रो भएको प्रतिक्रिया दिए । 

पाँचौं रोटी मेलामा सेलरोटी, फिनिरोटी,रातो पुरी (नेवारी), दङ्गाली स्वारि रोटी, सेतो पुरी, भुने रोटी, अनरसा सेतो (दङ्गाली), कागती रोटी, निमकिन रोटी,अनरसा (नेवारी), रोट रोटी, अरसा रोटी, मधेसको मठरी, भक्काने रोटी, कोदोको सेलरोटी, शेर्पा रोटी रिकीकर, सिनकामरि,खुरमा लगायतका रोटीहरु राखिएका छन् । 

Advertisement

Advertisement