खुल्ला सीमानाः असह्य हस्तक्षेप

Advertisement

कृष्णहरि बास्कोटा
नेपाल र भारतबीचको खुल्ला सीमानाका कारण नेपालको अर्थतन्त्रमा कुन हदमा क्षति पुगिरहेको छ ? भनी अध्ययन गरिएको छैन् । एकपटक नेपाल र भारतका दुईजना अर्थशास्त्रीले संयुक्तरुपमा गरेको अध्ययन अनुसार नेपाल भारतबीच ५२ प्रतिशत बैधानिकरुपमा र ४८ प्रतिशत अबैधानिकरुपमा व्यापारिक क्रियाकलाप हुने गरेको पाईएको थियो । अर्को अध्ययनका अनुसार दैनिक नेपालीहरु सीमाना पारी पुगेर खरीद गर्ने वस्तुको औसत मूल्य ८० करोड बराबर छ । दुई देशबीचको खुल्ला सीमानामा विना रोकतोक आवत जावत गर्न पाउने भएपछि सानो अर्थतन्त्र भएको मुलुक नेपाललाई लाभभन्दा हानी बढि हुनु स्वभाविकै हो ।

प्रस्तुत सन्दर्भमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्वतमान प्रमुख आयुक्त एवं नेपाल भारतबीच गठीत प्रबुद्ध व्यक्ति समूहका सदस्य समेत रहनु भएका सूर्यनाथ उपाध्यायको नेतृत्वमा समुन्नत नेपाल गुठीले गरेको अध्ययन अनुसार खुल्ला सीमानाका कारण विदेशी मगन्ते, विदेशी टोकरीवाला, विदेशी वासिन्दा र विदेशी सवारी साधनको उपयोगले नेपालमाथि असह्य हस्तक्षेप भएको छ । यसलाई समयमै नियन्त्रण गर्नुपर्छ । 

Advertisement

विदेशी मगन्तेको विगविगी:
नेपालमा विदेशी मगन्तेको संख्या दिनहु बृद्धि हुँदै गएको छ । नेपालको प्रचलित कानून अनुसार मगन्ते हुन पाईदैन । तर, पछिल्ला दिनमा काठमाडौं लगायतका शहरमा ट्राफिक लाईटका कारण सवारी साधन रोकिएका बखत रकम माग्ने विदेशी केटाकेटी, महिला लगायतको संख्या बढदो छ । 

साविकदेखि नै विभिन्न चाडपर्वमा जोगी र मगन्तेहरु विदेशबाट नेपाल आउने गरेका थिए । साथै, अपांगता भएका मानिस, कुष्ठरोगी लगायतका विदेशी माग्ने नेपालमा देखिने गरेका हुन् ।

राज्य प्रणालीबाट ध्यान नदिँदा यिनको संख्या विस्तार बृद्धि हुँदै गएको छ । समयमै यस विषयलाई सम्बोधन गर्न सकिएन भने भविष्यमा यो विकराल समस्याकारुपमा देखा पर्नेछ ।

मगन्तेको आबरणमा घरभित्र पसेर महिला र केटाकेटी मात्रै भएको मौका छोपी लुटपाट गर्ने गरिएको छ । साथै, मगन्तेकोरुपमा घरको रेकी गर्ने र राती समूहमा आई डाँका डाल्ने कार्य पनि गरिन्छ । केहिले, मगन्तेको भेषमा जासुसी कार्य पनि गरेका छन् । सडक मानवमुक्त तुल्याउने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रतिबद्धतालाई पनि मगन्तेहरुले चूनौति दिएका छन् ।

नक्कली सिफारिशपत्र देखाएर रकम माग्दै हिड्ने र मगन्तेको आबरणमा सोझा मानिसहरुलाई तन्त्रमन्त्रको वसमा पारी ठगी गर्ने घटना पनि भइरहेका छन् । यसैगरी, विदेशबाट नेपाल प्रवेश गर्ने मगन्तेका कारण गरिवीको रेखामुनी रहेका मनिसहरुको संख्या पनि बढ्दै जाने खतरा छ ।  

काठमाडौं लगायतका केही स्थानीय सरकारले मगन्तेका अबैध टहरा भत्काउने गरेका पनि छन् । तर, यो समस्या एक ठाउबाट केही समयका लागि मगन्तेलाई लखटेर मात्रै समाधान हुने देखिन्न । यसर्थ, पूरै परिवार र केटाकेटी सहितको मगन्तेको समूह नेपाल प्रवेश गर्दा सीमानामा नै यिनलाई प्रवेश निषेध गर्नुपर्छ । हेर्दैमा मगन्तै भनी प्रष्ट चिनिनेलाई पनि नियन्त्रण गर्न नसक्नु स्वयंमा विडंम्बना हो ।

नेपाल भारत सन्धीले परिचयपत्र हेरेर मात्रै सीमाना प्रवेश दिन कुनै बाधा पर्दैन । सन्धीले कुनै पनि मगन्तेलाई अनन्तकालसम्म नेपालमा बस्न दिनुपर्छ भन्दैन । यी कुरालाई मनन गरी नेपालबाट विदेशी मगन्ते धपाउने र प्रवेश निषेधको योजना लागू गर्न ढिला गर्नु हुँदैन । कुनै बेला भारतीय मगन्तेलाई भारत पठाउन खोज्दा भारतीय पदाधिकारीहरुले यस्को प्रमाण पेश गर्न नेपाली पदाधिकारीहरुलाई आग्रह गरेका थिए र नेपाली पदाधिकारीहरु नाजवाफ भएका थिए भन्ने सुनेको थिए । 

अधिकांशले सोच्दै नसोचेको यी विदेशी माग्नेले नेपालमा मागेर संकलन गरेको रकमलाई भारतीय मुद्रामा परिवर्तन गरी एकप्रकारले रेमिटेन्स सरह नेपालबाट भारत रकम पठाउने गरेका छन् । डलर तिरेर खरीद गरेको आईसी मगन्तेद्धारा पुनः भारत जान्छ र यो रकम सोचिएभन्दा ठूलो छ भन्दा सबैमा चेत खुल्ने अपेक्षा गरेको छु । 

टोकरीवालाको अर्बौं रुपियाँको कारोवारः
नेपालमा प्रतिवर्ष ४० लाख मेट्रिक टन हरियो तरकारी उत्पादन हुने गरेको छ । यो नेपालीको वार्षिक खपतका लागि पर्याप्त छैन् । फलपूmलका हकमा नेपालमा प्रतिवर्ष १ लाख मेट्रिक टनको हाराहारीमा उत्पादन हुने गरेको छ । तर, नेपालीको वार्षिक खपत करिब ५ लाख मेट्रिक टन पुगेको अनुमान छ । यसर्थ, नेपाली हरियो तरकारी र फलपूmललाई आयातित हरियो तरकारी र फलपूmल तथा विदेशी टोकरीवाला, गाडावाला, गल्लावाला, होलसेलवाला, विचौलिया लगायतले विस्थापित गरिरहेका छन् ।  

झट्ट हेर्दा साईकलमा, गाडामा, टोकरीमा राखी हरियो तरकारी र फलपूmल घर घरमा आई बिक्री गर्दा आम मानिसलाई सेवा पुगेको जस्तो अनुभूति हुन सक्छ । तर, यथार्थ यो भन्दा निकै भिन्न छ । सीमा क्षेत्रमा तस्करीबाट आउने हरियो तरकारी सस्तो हुँदा नेपाली उत्पादनको बिक्रीमा गम्भीर असर परेको छ । अर्कोकुरा, भन्सार नाका हुँदै आउँदा सरकारले राजश्व असुली गर्ने, तथ्यांक राख्ने, अत्याधिक रसायनिक मल एवं शरीरलाई असर गर्ने विषादी हाले नहालेको परीक्षण हुन्थ्यो । तर, तस्करी गरी हरियो तरकारी र फलपूmल नेपाल प्रवेश गर्दा आम नेपालीको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ ।

यस अतिरिक्त, हरियो तरकारी र फलपूmल बिक्री गर्नेले अत्याधिक ध्वनी प्रदुर्षण गरिरहेका छन् । बिरामी सुतिरहेको अवस्थामा यिनको उच्च स्वरले निद्रा खल्बल्याईदिएका छन् । कुहिएका, कुहिने अवस्थामा पुगेका गुणस्तरहीन वस्तु बिक्री गरेका छन् । घरबाट बाहिर निस्किएर पसलहरुमा छनौट गरी, मूल्य सोधी खरीद गर्ने, एक प्रकारको हिडाई हुने, बजारको बारेमा जानकारी हुने प्रणालीबाट पनि नेपाली क्रमसः विमुख हुँदै गएका छन् ।

यसरी, घर आगनमा हरियो तरकारी र फलपूmल विदेशीले बिक्री गर्ने प्रणाली नेपालमा स्लो प्वाईजनकारुपमा विकसित भइरहेको छ । यसरी साईकलमा बिक्री गर्नेले ट्राफिक जाम गरेका छन् । ढक तराजूमा ठगी गरिरहेका छन् । गलत सामान खरीद गरिएमा डुलुवा व्यापारी हुँदा फिर्ता गर्न सकिने अबस्था छैन् । यिनले अर्बौं रुपियाँको कारोवार गरे पनि एकसुका पनि कर तिरेका छैनन् । यसर्थ, यी झिना मसिना कुरा हुन् भनी नजरअन्दाज गर्न नहुने कुरातर्फ सबैलाई समयमै सजग गराउँछु । यो काम मात्रै नेपाली युवालाई दिन सक्ने तत्कालै ५ देखि १० लाखले रोजगारी पाउने अनुमान छ । 

गैरकानूनीरुपमा विदेशीहरुको नेपाल बसाई:
नेपालको अध्यागमन सम्बन्धी कानून अनुसार नेपाल बस्न भिसा लिनु पर्छ । यस वापत राजश्व तिर्नुपर्छ । यसरी भिसा लिनेले काम गर्न पाईन्न । काम नगरी नहुने अवस्था भए वर्क पर्मिट लिनुपर्छ । यस्मा सरकारलाई राजश्व प्राप्त हुन्छ । तर, खुल्ला सीमानाका कारण नेपाल भित्रिएका कैयौं विदेशीले सिकर्मी र डमर्कीको काम, प्लम्बरिङ र विद्युत लगायतको काम गरिरहेका छन् । तर, ती करको दायरामा छैनन् । कपाल काट्ने, पञ्चर टाल्ने, कवाडीको संकलन लगायतबाट गतवर्ष करिब ४ खर्ब बराबरको रेमिटेन्स नेपालबाट भारत गएको थियो । 

खुल्ला सीमानाको कारण विना रोकतोक नेपाल प्रवेश गर्ने, बसोबास गर्ने, व्यवसाय गर्ने र अन्त्यमा नागरिकता लिई यसै मुलुकको स्थायी वासिन्दा हुने गरेका छन् । यसरी, नेपाल प्रवेश गर्ने विदेशीमा आप्mनो मुलुकमा अपराध गरेका, लुक्ने प्रयोजनाका लागि नेपाल आएका, नेपालमै बसेर नक्कली नोटको कारोवार गर्ने, अबैध हातहरियार सप्लाई गर्ने, लागू पदार्थको कारोवार गर्ने र मानव तस्करी गर्नेसम्मका छन् ।

यसर्थ, मुलुकभित्र विना रोकतोक विदेशी नागरिक प्रवेश गर्ने प्रणालीमा सिघ्र सुधार गर्नुपर्छ । सीमानालाई व्यबस्थित गर्न सकिएन भने नेपालको सार्वभौमिकतामा गंभिर आघात पर्ने कुरालाई सजिलै आकंलन गर्न सकिन्छ । यस्मा पछिल्ला  दिनमा चिनिया, बंगलादेशी, पाकिस्तानी, अफ्रिकी, रोहिंगा लगायतका विदेशी नागरिकको नेपालमा घुसपैठ भइरहेको आशंका छ । 

भारतीय नम्बर प्लेटका सवारी साधनको विगविगीः
नेपालमा अत्याधिक मात्रामा भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालन भइरहेका छन् । यो पनि नेपालको लागि एउटा खतराको घण्टी हो । नेपाली नम्बर प्लेटको सवारी साधन भारतीय भूमिका गुड्न नपाउने तर भारतीय नम्बर प्लेटका सवारी साधनमा नेपाली भूमिमा गुड्न पाउने प्रणालीलाई कुनै पनि हिसावले उचित मान्न सकिन्न ।

यसले नेपालमा नयाँ सवारी साधन किनेर आयात गर्नुको सट्टा भारतीय नम्बर प्लेटको सवारी साधनको उपयोग बृद्धि हँुदा सरकारी राजश्व गुमेको छ । यसबाट नेपालको श्रम बजारमा प्रतिकूल असर परेको छ । यस्ले राष्ट्रियता जस्तो गम्भीर विषयमा निर्मम प्रवाह गरेछ । यसर्थ, यसलाई तत्कालै नियन्त्रण गर्नु पर्छ ।
केही भुक्तभोगीहरुका अनुसार भारतमा पर्मिट लिएका नेपाली मोटर पनि समातिन्छ । जरिवाना तिराईन्छ । पेट्रोलियम पदार्थ हाल्न अवरोध सिर्जना हुन्छ । तर, नेपालमा ७२ घण्टाका लागि केवल पाँच सय दस्तुर तिरेर भारतीय नम्बर प्लेटका सवारी साधन नेपालभरि जान दिईन्छ । यसै प्रसंगमा, निर्वाचनमा भारतीय नम्बर प्लेटका मोटर संचालन हुनु गम्भीर आपत्तिको विषय हो ।

तुलनात्मकरुपमा सस्तो पर्ने हुदा भारतीय नम्बर प्लेटका ढुवानीका साधन पनि नेपालमा प्रयोग भइरहेका छन् । साथै, लोडर समेत साथमै ल्याउँदा नेपाली श्रमिकको रोजीरोटी पनि खोसिएको छ । नेपालका पुलहरुको भार बहन क्षमता ५, १० वा २० मेट्रिकटन भएपनि नेपाल ४० पूmटसम्मका ढुवानी साधन आईरहेका छन् । यसरी सडक र पुलको आयू चाँडै सकिँदैछ । यसरी साना जस्ता देखिने केही महत्वपूर्ण आर्थिक पक्षममा हामी समयमै सजग हुनुको विकल्प छैन ।

०००

Advertisement

Advertisement