कर्णालीमा कृषि– सम्भावनै सम्भावना

Advertisement

पदम भण्डारी
मूलुकको समावेशी विकासको अवधारणालाई आत्मसात गर्ने हो भने कर्णालीमा भएका कृषि क्षेत्रको सम्भावनाहरुलाई उजागर गर्नुपर्छ । यसका लागि दिगो, जलवायु अनुकूलका कृषि बालीहरुको उत्पादन र उत्पादकत्व बढाउने र सामाजिक रुपमा विपन्न समूहहरुको सहभागिता सुनिश्चित गर्ने लक्ष्य अनुरुप काम गर्नुपर्ने हुन्छ ।  

यस पंक्तिकारले दुई दशकभन्दा बढी समय कर्णालीमा रहेर काम गर्दाको अनुभवमा आधारित रहेर कर्णालीमा कृषिमा आधारित मूल्य श्रृंखलाहरु, जसले उच्च बजार सम्भावना र जलवायु–उत्थानशील र कम सिंचाई भए पनि राम्रो उत्पादन दिने बालीहरुको उत्पादन र बजारीकरणको ठूलो सम्भावना देखेको छ । तीमध्ये तरकारी, आलु, अमिलो जातका फलफूल, स्याउ, ओखर, अदुवा, बेसार, टिमुर, रैथाने बालीहरु, दुध, बाख्रा र मह हुन् । यी कृषि बालीहरु सम्बन्धित उच्च संख्यामा वृद्धि र दिगो आम्दानी र लाभहरु प्रदान गर्ने सम्भावनाको आधारहरु हुन् । 

Advertisement

मूल्य श्रृंङ्खलाहरुमा रहेका अधिकांश उत्पादकहरुले उत्पादन एवं उत्पादकत्व बढाउन र वान्छित मात्रामा गुणस्तरीय कृषि सामग्रीको समयमै आपूर्ति गर्ने चुनौतीहरु सामना गरिरहेका छन् । उत्पादन मात्रा र उत्पादकत्व न्यून भएकाले कृषि उत्पादनले स्थानीय बजारको माग समेत पूरा गर्न सकेको छैन । कम उत्पादन र कम उत्पादकत्वका केही प्रमुख कारणहरुमा जलवायु परिवर्तन, नयाँ कीरा र रोगहरु, सिँचाइको सीमित आपूर्ति, प्रविधिको कमजोर अवलम्बन र खेती व्यवस्थापनमा अभ्यासहरुका लागि लचिलो उत्पादन विधिहरुको अभाव हो। स्थानीय बजारको माग पूरा नभएका कारण कृषि उत्पादनको आयात उच्च छ। स्थानीय उत्पादनहरुले गुणस्तर र मूल्यको हिसाबले आयातित उत्पादनहरुसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण अपर्याप्त उत्पादन र फसलपछिको अभ्यासको कारण हो। खेतीमा रहेका चुनौतिहरुबाहेक बजारसँग सम्बन्धित धेरै समस्याहरु छन्, जसमा सङ्कलन केन्द्रहरुको अभाव, असंगठित बजार संयन्त्रहरु, अपर्याप्त बजार जानकारी, कमिशन एजेन्टहरुको एकाधिकार एवं कमजोर नियमन र कहिलेकाहीं यातायात सेवाहरुको अनुपलब्धताका कारण बजार पहूँच सिमित भएको छ। 

तरकारीः तरकारी सबैभन्दा उच्च सम्भावित मूल्य श्रृंखलाहरु मध्ये एक हो। ७८ प्रतिशतभन्दा बढी कृषि घरपरिवारले घरेलु उपभोगका लागि  विभिन्न किसिमका तरकारीहरु उब्जाएर अर्थतन्त्रमा वार्षिक छत्तिस अर्ब रुपैयाँभन्दा बढी योगदान पुर्‍याउँदै आएको नेपालको सबैभन्दा महत्त्वपूर्ण मूल्य श्रृंङ्खला हो। महिलाहरुका लागि सबैभन्दा आकर्षक कृषि मूल्य श्रृंङ्खला तरकारी हो। महिलाहरु खेतीपातीमा मात्र संलग्न छैनन्,  प्रशोधन र बेचबिखनमा समेत संलग्न छन्। आफ्नो जीविकोपार्जन सुरक्षित गर्न महिलाहरुलाई तरकारी खेतीमा संलग्न हुन प्रोत्साहित गर्दै आएको छ । तरकारी उत्पादनले न्यून आय भएका घरपरिवारलाई सहयोग गर्छ, महत्वपूर्ण आम्दानी हुन्छ र मूल्य श्रृंङ्खलाभरि ठूलो संख्यामा बजारकर्ताहरुलाई फाइदा पुर्याउछ । भरपर्दो बढ्दो बजारको अस्तित्व, कृषि सामग्रीहरुमा बढ्दो पहूँच र सरकारी एवं गैर(सरकारी संस्थाहरुद्वारा प्रदान गरिएको समर्थनले यस क्षेत्रको वृद्धिलाई नेतृत्व गरिरहेको छ। विभिन्न सहयोगी उपायहरु भए पनि सबै स्थानीय तहहरुमा तरकारीको स्थानीय बजार माग पूरा गर्न उत्पादनको मात्रा अपर्याप्त छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा न्यून उत्पादन, मौसमी तरकारी खेतीमा सीमित किसानहरु, गुणस्तरीय सामग्रीको उपलब्धता र कमजोर सडक र यातायातका कारण बजारमा पुग्न कठिनाइ प्रमुख चुनौतीहरु रहेका छन्। 

आलुः नेपालको सबैभन्दा बढी आयात हुने खाद्य बाली हो। वर्षौंदेखि घरेलु उपभोग र औद्योगिक उद्देश्यका लागि आलुको आवश्यकता उल्लेखनीय रुपमा बढेको छ। आलुको बजारको मागको बीस प्रतिशत मात्र स्वदेशी उत्पादनबाट पूरा हुन्छ । बजारको बढ्दो माग आलुको उत्पादन र आपूर्ति बढाउनको प्रमुख कारक हो। तर ढुवानी सुविधा र उचित भण्डारणको अभाव, उत्पादन बढाउनको लागि बीउ र मलको उपलब्धतामा समस्या, अपर्याप्त भण्डारण सुविधा र बढ्दो उत्पादन लागतका कारण स्थानीय उत्पादनमा बाधा पुगेको छ। हिमाल, पहाड तराई जताततै आलु उब्जाउने सम्भावनाले यसलाई देशका दुर्गम र सीमान्त पहाडीहरुका लागि पनि उपयुक्त बाली बनाउँछ । त्यसैले यो मूल्य श्रृंखलामा अधिकांश सीमान्तकृत जनसंख्या समावेश छ। तर, आलुको उत्पादन श्रमप्रधान छ र अन्य तरकारीको तुलनामा धेरै शारीरिक श्रम नचाहिने गरि यान्त्रिकरणको जरुरी छ ।  

अमिलो जातका फलफूलः कर्णाली प्रदेश अमिलो जातका फलफूलहरु विशेष गरि सुन्तला र कागतीको लागि एकदम उपयुक्त छ । अहिले पनि सुन्तला सबैभन्दा व्यापक रुपमा उत्पादन गरिएको र ब्यवसायिक फलहरु मध्ये एक हो। दैलेख र चुरे पाहाडी कष्त्रहरुमा अमिलो जातका फलफूल उत्पादन हुने गर्दछ र यसको ब्रान्ड र बजार मूल्य राम्रो छ । चाखलाग्दो कुरा के छ भने उत्पादन क्षेत्र विस्तार भए पनि फलफूलको उत्पादन मात्रा घट्दै गएको छ । यो मुख्यःतया जलवायु परिवर्तन, खराब बगैचा व्यवस्थापन, सीमित विस्तार सेवाहरु र फसल पछिको क्षतिको कारणले ल्याएको समस्याहरुको कारण हो। 

स्याउः जुम्ला, डोलपा, कालिकोट र हुम्लामा उत्पादन हुने स्याउको राम्रो बजार खोज्न सडक सञ्जाल प्रमुख चुनौती बनेको छ । त्यस्तै, स्याउको भण्डारण क्षमता विस्तार गर्न भण्डारण सुविधा महत्त्वपूर्ण छ। । प्रशोधन सुविधाहरु समान रुपमा आवश्यक छन्, विशेष गरी उत्पाउन हुने मौसममा स्थानीय बजारले पुरै उत्पादन उपभोग गर्न नसक्ने भएकाले उत्पादन खेर जान्छ । उन्नत जात र स्थिर बजारको उपलब्धतालाई ध्यानमा राख्दै  धेरै किसानहरु आफ्नो बगैचा विस्तार गर्न इच्छुक छन्। स्याउको उत्पादकत्व र गुणस्तर जलवायु परिवर्तनको लागि संवेदनशील छ। तसर्थ कम उत्पादकत्व र फलफूलको गुणस्तर घट्ने जस्ता समस्याहरुको सामना गर्न जलवायु अनुकूल खेती विधि र जलवायु अनुकुलन प्रजातिहरुको आवश्यकता छ ।  

ओखरः उत्पादकहरुले केही समय यता दाँते अर्थात पातलो खोल भएका ओखरका बोट रोप्न थालेको भएतापनि हालसम्म हाडे ओखरको तुलनामा दाँते ओखरले प्रयाप्त क्षेत्रफल ओगटेको छैन । प्रशोधन प्रविधि नहुँदा कृषकले संकलन गर्न चासो दिएका छैनन् । पातलो खोलको ओखरको व्यावसायिक उत्पादन विस्तार गर्न सम्बन्धित स्थानीय तहहरुमा पर्याप्त जमिन छ ।  

अदुवा र बेसारः  यी बालीहरु कर्णालीमा सबैभन्दा व्यवसायिक रुपमा आकर्षक बाली हो जसले सीमान्तकृत मानिसहरुलाई आय र रोजगारीको अवसर प्रदान गरिरहेको छ । रोग र कीराको सङ्क्रमण र भारततर्फ काँचो अदुवाको निर्यातमा कमीका कारण विगत पाँच वर्षदेखि बेसारको उत्पादन तुलनात्मक रुपमा स्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित अदुवा ९सुठो० को पर्याप्त माग भए पनि निर्यातका लागि अदुवा प्रशोधन गर्ने थोरै मात्र उद्योगहरु छन् । त्यसैले प्रशोधनलाई प्रोत्साहन गरेर अदुवाको बजार खोज्नु महत्त्वपूर्ण छ। उत्पादन बढाउनुअघि कच्चा र प्रशोधित अदुवा बेच्नको लागि भारत सहित अन्य वैकल्पिक बजार खोज्नुपर्छ । 

टिमुरः कर्णाली नेपालको सबैभन्दा धेरै टिमुर उत्पादन गर्ने क्षेत्र हो जसले टिमुरको निर्यातमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। टिमुर सरकारी एवं सामुदायिक स्वामित्वको वन र प्राकृतिक रुपमा बढेको बाँझो जमिनबाट संकलन हुने भएकाले गरिब र भूमिहीनहरुका लागि आयको राम्रो स्रोत हो । कच्चा टिमुर, टिमुरको तेल र अन्य टिमुरमा आधारित उत्पादनको बढ्दो अन्तर्राष्ट्रिय माग पूरा गर्न व्यावसायिक टिमुर रोपण र उत्पादन आवश्यक छ। बढ्दो बजार मागको फाइदा उठाउने उत्पादक र व्यापारीहरुलाई अवसर छ। यद्यपि, गुणस्तरीय रोपण सामग्री र आधुनिक फसल काट्ने औजारको उपलब्धता नभएका कारण किसान एवं सङ्कलनकर्ताहरुले सङ्कलन बढाउन  संघर्ष गरिरहेका छन्।

रैथाने बालीहरुः  रैथाने बालीहरु जस्तै उवा, जौ, चिनो, कागुनो, कोदो, फापर आदि हुम्ला, मुगु, कालिकोट, लगायत उच्च पहाडी क्षेत्रमा लोकप्रिय छ। नेपालका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने यी उत्पादन अन्य आयातित जातका समान उत्पादनको तुलनामा धेरै स्वादिलो मानिन्छन् । बढ्दो मागका बाबजुद पनि गुणस्तरहीन बीउ, जलवायु परिवर्तन र अकुशल उत्पादन अभ्यासका कारण कम उत्पादकत्वका कारण यी बालीको उत्पादन घट्दै गएको छ । खराब भण्डारण र कटनी पछि प्रक्रियाहरुले उत्पादनहरुको भण्डारण क्षमता छोटो बनाएको छ। यी बालीहरुले दुर्गम क्षेत्रका बासिन्दाहरुको आर्थिक वृद्धि र सामाजिक र वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्न मद्धत पुर्याउँछ । 

दुध एवं दूग्धजन्य पदार्थः दुध एवं दूग्धजन्य पदार्थ (डेरी)ले महिला र अन्य सीमान्तकृत समूहहरुलाई रोजगारीका अवसरहरु सिर्जना गर्ने र धेरै बजारकर्ताहरुलाई समावेश गर्ने महत्वपूर्ण मूल्य श्रृंखला हो । कर्णाली प्रदेशको कुल दुध उत्पादनमा सुर्खेतको योगदान २१ प्रतिशत रहेको छ । दूधको स्थानीय तथा राष्ट्रिय बजारहरु प्रयाप्त रहेकाले पोखरा र काठमाडौंका डेरी प्रशोधनकर्ताहरुलाई आपूर्ति गर्ने ठूलो सम्भावना छ । सडक सञ्जाल र चिस्याउने केन्द्रका कारण बजारसम्मको पहूँच, सामग्रीहरुको सहज पहुँच, सल्लाहकार सेवा र बजार जानकारीले दूग्ध व्यवसायीहरुलाई बढी दुध उत्पादन गर्न उत्प्रेरित गरेको छ । तर दूध उत्पादन बढाउन घाँसमा आधारित पशुपालन ब्यवसायलाई बढावा दिन जरुरी छ । दूग्ध उत्पादनको प्रशोधन र विविधीकरणमा ध्यान दिनु जरुरी छ । 

मौरीपालनः मौरीपालनका लागि अनुकूल प्राकृतिक वातावरणको कारणले कर्णाली प्रदेशको चुरेले समेटेको क्षेत्र, हुम्लाको दोझाम, जाजरकोटको पिपेमैले, नलगाड, कलपत एवं सल्यतानको कालिमाटी लगायत अन्य क्षेत्रहरु मह उत्पादनको सम्भावनाको रुपमा परिचित छ । अनुसन्धान कार्यक्रमहरुमा अपर्याप्त सहयोग, गुणस्तरहीन व्यवस्थापन, मौरीको बसाइँसराइ, अपर्याप्त प्रशोधन र उत्पादन विविधीकरण मह उत्पादन बढाउन प्रमुख बाधाहरुको रुपमा छन् । उत्पादकहरु उत्पादकत्व बढाउन जलवायु अनुकूल मौरीपालन अभ्यास सुरु गर्ने बारे पूर्ण रुपमा सचेत छैनन्। साथै अन्य बाली उत्पादनमा कीटनाशकको अत्याधिक प्रयोगले मौरीपालनमा प्रतिकूल असर पारेको छ । निकासीमा व्यापार अवरोधका बाबजुद हुम्ला जस्ता पहाडी क्षेत्रबाट आउने महलाई औषधीय उत्पादनका रुपमा चिनिन्छ र बजारमा प्रिमियम मूल्य पाईरहेको छ । 

मासुः मासुको बढ्दो मागले व्यावसायिक बाख्रापालक कृषकहरुलाई प्रशस्त अवसरहरु ल्याएको छ। नेपालका प्रायः हरेक ग्रामीण घरपरिवारले बाख्रा पाल्छन् किनभने यसले थोरै लगानीमा उल्लेखनीय प्रतिफल दिन्छ। भेरीगंगा, बराहताल, नौमुले जस्ता प्रशस्त चरन क्षेत्र र घाँसका लागि वनको पहुँचका कारण बाख्रा उत्पादनको उच्च सम्भावना छ । कृषकहरु औषधि, घाँस, दाना र प्राविधिक सेवाहरु जस्ता सेवाहरुका लागि निजी क्षेत्रबाट सञ्चालित कृषि र पशु सेवा केन्र्दहरुमा भर पर्ने हुनाले तिनीहरुको सेवा र ब्यवसायलाई बढावा दिनु जरुरी छ । उच्च हिमाली भेग जुम्ला, डोल्पा, मुगु भेडा च्याङ्ग्रापालनको लागि उपयुक्त थलो हो । बाख्रापालन एवं भेडा च्याङ्ग्रापालनको लागि चरिचरण महत्वपूर्ण कुरा हो त्यसैले चरण क्षेत्रहरुको ब्यवस्थापन र निजी जमिनहरुमा घाँस खेति गर्नु जरुरी छ । अधिकांश स्थानीय तहहरुले आफ्नो कृषि बजेटको ठूलो हिस्सा बाख्रापालनमा विनियोजन गरेको भए पनि त्यो अनुदानको रुपमामात्र जाने भएकोले त्यसको सहि सदुपयोग नभएको गुनासाहरु छन् । अनुदानलाई ब्यवसायसंग जोडेर उन्नत जातका पाठापाठीहरु उत्पादन गर्ने नश्ल सुधार फार्महरु खोल्नु जरुरी छ । बाख्रापालन ब्यवसाय सोचेको भन्दा ढिलो व्यवसायीकरण भएको देखिन्छ। व्यवसायीकरणलाई प्रभावित पार्ने कुराहरुमा प्रभावकारी रोग नियन्त्रण संयन्त्र,  सुधारिएको घाँस तथा दाना संरचना र आधुनिक मासु उत्पादन गर्ने नश्लहरुको पहूँच र व्यवस्थापनको साथ बाख्राको मूल्य श्रृंखला बजारकर्ताहरुको संग्लग्नता महत्वपूर्ण छ । परम्परागत रुपमा बाख्रापालनलाई नेपालमा महिलाको नेतृत्वमा कृषि पेशाको रुपमा मान्यता दिइन्छ र आम्दानी एवं खर्चका सबै निर्णयहरु महिलाहरुले नै गर्छन्। तर, व्यावसायीकरण भईरहँदा ठूला बाख्रापालन फार्महरु महिलाको स्वामित्वमा भए पनि प्रायः पुरुषहरुद्वारा व्यवस्थित हुन्छन् र निर्णयहरु पनि पुरुषहरुद्वारा लिइन्छ। 

महिला र अपाङ्गता भएका व्यक्तिहरुका लागि उपयुक्त हुने ुफार्मु र ुगैर(फार्मु दुवै गतिविधिहरुको योजना र प्रोत्साहन गर्न जरुरी छ। यसका साथै समावेशिता सुनिश्चित गर्न र सीमान्तकृत समूहहरुको वित्तीय व्यवस्थापन क्षमतालाई बलियो बनाउन आवश्यक छ। जलवायु परिवर्तनले धेरै समस्याहरु खडा गरेको छ र किसानहरुलाई उनीहरुको उत्पादन बढाउनबाट रोकेको छ। उदाहरणका लागि, अमिलो जातका फलफूलहरु र तरकारीहरुमा रोग र कीराहको प्रकोप बढेको छ । वन क्षेत्रको संकुचन र पशुधनको दानामा भएको परिवर्तनले विकास दर र दूध उत्पादनको मात्रालाई सुस्त बनाएको छ। अत्याधिक गर्मी वा चिसो तापक्रमका कारण मौरीहरुको बसाइँसराइले मौरीको प्रजनन र मह उत्पादनमा कमी आएको छ। अत्याधिक वर्षाका कारण आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध हुँदा कृषिजन्य वस्तु तथा सामग्रीको ढुवानीमा समेत अवरोध पुगेको छ । यी चुनौतिहरुको सामना गर्न र जलवायु अनुकूल कृषि प्रणाली अवलम्वन गर्नु आवश्यक छ।

माथि उल्लेखित पहिचान गरिएका कृषि मूल्य श्रृंखलाका वस्तुहरुबाट बजारकर्ताहरुले मुख्य लाभ उठाउने बिन्दुहरु र विद्यमान चुनौतीहरुलाई ध्यानमा राख्दै अवरोध र चुनौतीहरुलाई सम्बोधन गर्न र मूल्य श्रृंखलाहरुको विकासलाई सहज बनाउन निम्न अनुसार सिफारिस गरिन्छस्

–सामग्री आपूर्तिकर्ताहरुको क्षमता (गुणस्तर, मात्रा) सुदृढ पार्ने कार्यक्रमहरु तय गर्ने जसबाट कृषि सामग्रीहरुको समयमै आपूर्ति सुनिश्चित होस्। यसको उद्देश्य हाल काम गरिरहेका आपूर्तिकर्ताहरुको क्षमता बढाएर उच्चगुणस्तरको सामग्रीहरुको उत्पादन र आपूर्ति बढाउने हो। यसले उच्च उपज प्रदान गर्ने र अधिक जलवायु प्रतिरोधी नयाँ प्रजातिहरुको अनुसन्धान र विकासमा पनि योगदान पुर्‍याउँछ। मुख्य लक्ष्य भनेको उत्पादकहरुलाई समयमै उच्चगुणस्तरको सामग्रीहरु प्रदान गर्नु हो जसले तिनीहरुलाई थप उत्पादन गर्न, बजारको माग पूरा गर्न र उनीहरुको आम्दानी बढाउन मद्दत गर्दछ।

–उत्पादन एवं उत्पादकत्व वृद्धि गर्न र माग अनुसारको उत्पादन ढाँचाहरु पालना गर्न उत्पादकहरुको क्षमता (प्राविधिक सीप र व्यवसाय अभिमुखीकरण) सुधार गर्नुपर्छ । यसको लक्ष्य भनेको मागमा आधारित उत्पादनको लागि राम्रो कृषि अभ्यास सम्बन्धी किसानहरुको ज्ञान र सीपहरु निर्माण गर्नु, उत्पादन पछिको क्षति न्युनिकरण गर्ने र तिनीहरुको उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने हुनुपर्छ। उत्पादकहरुलाई के उब्जाउने, कहिले उब्जाउने, कति उब्जाउने, कसरी पोष्ट हार्भेस्ट क्षति कम गर्ने  र उत्पादनको लागि उपयुक्त बजार मूल्य कसरी ल्याउने जस्ता जानकारी जरुरी छ ।  

–कम लागत, कुशल भण्डारण प्रविधिरअभ्यासहरुको प्रवर्द्धन, विद्यमान स्थानीय भण्डारण सुविधाहरु गुणस्तर कायम राख्न र उत्पादन बढेपछि भण्डारण गर्न हाल उपलब्ध गोदामहरु वा भण्डारण एकाइहरुलाई स्तरोन्नतिको आवश्यकता छ जबकि स्थानीय आवश्यकताहरु पूरा गर्ने र किफायती हुने नयाँ भण्डारणको माग पनि छ। कम लागत, शून्य ऊर्जा भण्डारण प्रणालीले उत्पादकहरुलाई उत्पादन बढाउन र व्यापारीहरुलाई स्थानीय उत्पादन सङ्कलन गर्न प्रोत्साहित गर्छ ।  

–हाल कार्यरत प्रशोधन कम्पनीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ । प्रशोधन व्यवसाय शुरु गर्न इच्छुक कम्पनीहरुलाई प्राविधिक सीपहरु साथै ब्यवसाय सम्बन्धित ज्ञान प्रदान गर्नुपर्छ । सामान्यतया, नेपाली कृषि प्रशोधित उत्पादनहरुको रुप, मानकीकृत प्याकेजिङ्ग, लेबलिङ र गुणस्तर आयातित वस्तुहरुको तुलनामा न्यून हुन्छ। स्वाद र सामग्रीको सन्दर्भमा उत्पादनको गुणस्तरमा थोरै समानता छ। उद्यमहरुलाई गुणस्तर कायम राख्न, प्याकेजिङ्ग सुधार गर्न, प्रमाणीकरण प्राप्त गर्न र मापन गर्न प्राविधिक सहयोग चाहिन्छ। निजी सेवा प्रदायकहरुलाई लक्षित क्षेत्रहरुमा आफ्नो कार्यहरु विस्तार गर्न र प्रशोधनकर्ताहरुलाई तिनीहरुको व्यवसाय विस्तार गर्न प्रोत्साहनको आवश्यकता छ । 

–जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र अनुकूलन गर्न मद्दत गर्नुपर्छ । यसका लागि जलवायु परिवर्तनका नकारात्मक असरहरुलाई न्यूनीकरण गर्न मल्चिङ, थोपा सिँचाइ, हरित घर, प्लाष्टिक टनेल खेती, जलवायु अनुकूलित बीउ र बिरुवा जस्ता जलवायु(स्मार्ट कृषि प्रविधिहरु आवश्यक छ । यी प्रविधिहरु वातावरणीय परिवर्तनलाई सम्बोधन गर्न र जलवायु जोखिमहरु विरुद्ध लचिलोपन निर्माण गर्न मात्र होइन उत्पादन मात्रा र उत्पादकत्व बढाउन पनि हुन्।

–उत्पादनलाई बजारसंग जोड्न अर्थात ब्यापार व्यवसायलाई उत्पादकसंग जोड्नको लागि विद्यमान व्यापार सम्बन्धमा सुधार गर्नुपर्छ । प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा दिगो बजार स्थापना एवं व्यावसायिक पकेटहरु स्थापना गरेर तथा भरपर्दो व्यापार सञ्जालहरु निर्माण गरेर गर्न सकिन्छ। यी सञ्जालहरुले उत्पादकहरुलाई व्यावसायिक उत्पादनतर्फ प्रोत्साहन गर्दै दिगो बजार निर्माण गर्न मद्दत गर्नुपर्छ ।

–कृषि मूल्य श्रृंङ्खलाका बजारकर्ताहरु बिच डिजिटल प्रविधिहरुको प्रवर्द्धन मार्फत जानकारी र साझेदारी संयन्त्रमा सुधार गर्नुपर्छ । कृषिमा डिजिटल प्रविधिहरु खेती अभ्यास, रोग र कीट व्यवस्थापन, उत्पादन ट्रेसिङ (ब्लकचेन) र वित्तीय सेवाहरुमा जानकारी प्रसारको लागि प्रयोग गर्नुपर्छ । सेवा प्रदायकहरुको संख्या काठमाडौं र शहरी क्षेत्र वरपर सिमित र केन्द्रित भएकोले यी सेवा प्रदायकहरुलाई ग्रामीण बजारमा सेवा विस्तार गर्न प्रोत्साहन गर्नुपर्छ । सरकारहरु र अन्य बजारकर्ताहरुले पनि डिजिटल सेवा प्रदायकहरुसँग सहकार्य गर्नुपर्छ र यी प्रविधिहरुलाई उनीहरुको सूचना उत्पादन र प्रसार प्रणालीहरुमा समावेश गर्न मद्धत गर्नुपर्छ । 

–हाल साना किसानहरुको लागि उपयुक्त ऋण, आकार, चुक्ता, जोखिम र सेवा प्रदायकहरुको लागि उच्च परिचालन लागतका कारण वित्तीय र बीमा सेवा उपलब्ध छैनन्। किसानहरु र सेवा प्रदायकहरुका लागि बढी उपयुक्त हुने वित्तीय र बीमा सेवा प्रणाली लागु गर्नुपर्छ । बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादक र कृषि व्यवसायहरुलाई ऋण दिन प्रोत्सागहन गर्ने कार्यक्रम लागु गर्नुपर्छ ।  बैंक तथा वित्तीय संस्था, उत्पादक, कृषि व्यवसाय र अन्य सान्दर्भिक सरोकारवालाहरु विचको जानकारी र ज्ञानको खाडललाई कम गर्न विभिन्न सरोकारवाला बैठकहरु र उपयुक्त कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ । बैंक तथा वित्तिय संस्थाहरु एवं बिमा कम्पनीहरुहरुलाई सम्बोधन गर्न बलियो अनुगमन संयन्त्र बनाउनु पर्छ । 

–राम्रो कृषि(भण्डारण तथा ढुवानी सेवा प्रदायकको अभावमा पहाड, माथिल्लो पहाडी र हिमाली क्षेत्रका किसान र व्यापारीहरुले धेरै चुनौतीहरुको सामना गर्नुपरेको छ। उत्पादक तथा व्यापारीले आफ्ना वस्तुहरु सहुलियत दरमा ढुवानी गर्न सक्नेगरि सुधारिएको प्याकेजिङ्ग प्रविधिरअभ्यास सहितको ढुवानी सेवा स्थापित गर्नुपर्छ । उक्त सेवा प्रदान गर्न निजी सेवा प्रदायकहरुलाई प्रोत्साहन गर्नुपर्छ । 

–मूल्य श्रृंखलाहरुलाई लक्षित गरि प्रभावकारी कृषि मेसिनरी र प्रविधिहरुको उपलब्धतामा सुधार गर्नुपर्छ । सरकारी तथा गैरसरकारी निकायबाट जोत्ने, छर्ने र फसल काट्ने जस्ता यान्त्रिक प्रविधिको प्रवर्द्धनका लागि धेरै प्रयास भए पनि लक्षित क्षेत्रमा प्रभावकारिता देखिएको छैन । यसकालागि कृषि मेशिनरीहरु भाडामा लगाउने अर्थात कष्टम हायरिङ सेन्टरहरुको स्थापनाका लागि निजी क्षेत्र तथा सहकारीहरुलाई प्रोत्साहित गर्नुपर्छ ।

–सरकारद्वारा कृषि र व्यवसायमा उपलब्ध गराइएका प्रोत्साहन र प्रावधानहरुमा सीमित ब्यक्ति वा समूहको पहूँच भएको गुनासाहरु छन् । अनुकूल व्यवसायिक वातावरणको सृजना गर्न निजी व्यवसायीहरुको लागि प्रोत्साहन गर्नुपर्छ । 
    
माथि सुझाव गरिएका कार्यक्रमहरुको सफल कार्यान्वयनले न्यून आय भएका उत्पादकहरुका लागि आर्थिक अवसरहरु विस्तार गर्ने, कृषि उत्पादकत्वमा सुधार गर्ने र विद्यमान मूल्य श्रृंङ्खला सम्बन्धहरुलाई सुदृढ गर्ने अपेक्षा गरिएको छ, जसले बजारमा संलग्न सबै पक्षहरुलाई फाइदा पुर्‍याउँछ। बजार प्रणालीमा परिवर्तन ल्याउनका लागि माथिका क्रियाकलापहरु कार्यान्वयन गर्दा सबै बजारकर्ताहरु, सेवा प्रदायकहरु र सक्षमकर्ताहरुको संलग्नता आवश्यक छ। 

सरकारी र विकास कार्यक्रमहरुले अनुदान मोडेलमा काम गर्दा उत्पादकहरुको बढ्दो निर्भरता देखाउँछ जसले बजारलाई विकृत गर्न र निजी क्षेत्रको संलग्नतालाई निरुत्साहित गर्नसक्छ। कुनै पनि बजार प्रणालीको दिगो विकासका लागि निजी क्षेत्रको नेतृत्वमा विकास अत्यावश्यक हुन्छ। तसर्थ यहाँ उल्लेखित मूल्य श्रृंङ्खलाहरुको दिगो विकासको लागि सरकारको संलग्नता र बजार शक्तिहरुबीच सन्तुलन आवश्यक छ । साथै माथि उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनको लागि अतिरिक्त बजारकर्ताहरु र सहजकर्ताहरुको उल्लेखनिय संलग्नता आवश्यक पर्दछ । विशेषगरि निजी क्षेत्रबाट स्थानीय निकायहरु, संघहरु र समान लक्ष्यहरु भएका दातृ संस्थाहरु साथै संघीय सरकारको समर्थन एवं प्रभावकारी कार्यान्वयन गर्नु जरुरी छ । 

कर्णालीमा माथि उल्लेख गरिएका कृषि मूल्य श्रृंखलाहरुको वृद्धि र बजार सम्भावना ठूलो छ । अहिले विभिन्न कारणहरुले गर्दा ती मूल्य श्रृंखलाको वृद्धि ओझेलमा परिरहेको छ । सबैभन्दा महत्वपूर्ण भनेको स्थानीय तहहरुलाई कृषि बजार र व्यापारिक केन्द्रहरुसँग जोड्ने सडक सञ्जालको विकास हो जसले कृषि उत्पादन र बिक्रीको लागि बजार अवसरहरु सिर्जना गर्दछ । तरकारी, आलु, अमिलो जातका फलफूल, स्याउ ओखर, अदुवा, रैथाने बालीहरु, दुध, बाख्रा र मह प्रायः स्थानीय बजारको माग पूरा गर्न उत्पादन गर्नुपर्छ भने अदुवा, बेसार, मह र टिमुरको अन्तर्राष्ट्रिय बजारमा निर्यातको उच्च सम्भावना रहेको छ। उत्पादन र विक्री वृद्धि गर्ने सम्भाव्यतासँगै धेरैजसो मूल्य श्रृंङ्खलाहरुसँग सम्बन्धित बजार कार्यहरुको विभिन्न स्तरहरुमा समस्याहरु र चुनौतीहरुको राम्रोसंग लेखाजोखा गरि सोहि अनुरुप समाधान खोज्नुपर्छ । 

(कृषि बजार प्रणालीमा चासो राख्ने र कलम चलाउने लेखक कृषि तथा वन विज्ञान विश्वविद्यालयको एडजङ्ट प्रोफेसरको रुपमा समेत आवद्ध छन् ।) 
 

Advertisement

Advertisement