चिनियाँ नाका राम्रोसँग सञ्चालन हुन नसक्दा जाडोका कपडा आउन सकेनन्

Advertisement

काठमाडौं । जाडो बढेपनि बजारमा न्यानो कपडाहरुको व्यापार बढ्न नसकेको व्यापारीहरुले बताएका छन् । काठमाडौंको मुख्य व्यापारीक केन्द्र न्युरोड तथा असनका व्यापारीहरुले गत वर्षको भन्दा यो वर्षको तुलनामा जाडो महिनामा लगाउने न्यानो कपडाको व्यापार ३० प्रतिशत कम भएको गुनासो गरे । 

उनीहरुले विगतका वर्षहरुमा जाडो महिना लागेसँगै बजारमा न्यानो कपडा किन्न मानिसहरुको भीड लाग्ने गरे पनि यो वर्ष सुनसान रहेको बताए । उनीहरुले पछिल्लो समय बैंकको ब्याजदर उच्च वृद्धि तथा चिनियाँ नाका खोल्ने र बन्द गर्ने काम भइरहेकाले साना व्यापारीहरु मर्कामा परेको गुनासो गरे । 

Advertisement

व्यापारीहरुले बजारमा न्यानो कपडाको अभाव नभएको तर ग्राहकले रिटेलमा किन्ने मूल्य होलसेल मूल्य पर्नेगरी मूल्य वृद्धि भएको बताएका छन् । काठमाडौं न्युरोड रञ्जना मलका कपडा होलसेल व्यापारी नवराज तिमिल्सिनाले गत वर्षको भन्दा यस वर्ष शुरुवाती चरणमा न्यानो व्यापारमा ३० प्रतिशतले कमी आएको बताए । 

उनले न्यानो कपडा तथा अन्य फेन्सी कपडाहरु चीनबाट आउने भएकाले सामान आयात गर्न समस्या रहेको पनि बताए । तिमिल्सिनाले चीन जानको लागि पनि भिसाको समस्या भएकाले फोटोको आधारमा अडर गर्दा सामान अर्कै आउने गरेको बताए । 

उनले चिनियाँ नाकामा कहिले खुल्ने र कहिले बन्द हुने समस्याले सामान अर्डर गरेको ९ महिनासम्म पनि सामान काठमाडौं आइनपुग्ने ठूलो समस्या रहेको बताए । तिमिल्सिनाले सामान अर्डर गरेको ९ महिनासम्म सामान नआउँदा साना व्यापारीहरु ठूलो मर्कामा पर्ने गरेको बताए । 

सरकारले साना व्यापारीहरुलाई पनि गरिखाने वातावरण सहज बनाउनको लागि चिनियाँ नाका सहज बनाइ दिनुपर्ने उनले बताए । तिमिल्सिनाले बैंकहरुमा ब्याजदर वृद्धि हुने, भन्सार दरमा वृद्धि हुने, सामान आउन समय लाग्ने भएर व्यापार नहुने तर घरभाडा बढी रहने समस्याले साना व्यापारीहरु पीडित रहेको बताए । 

उनले भने, ‘गत वर्षको तुलनामा जाडो लागे पनि व्यापार कम छ । सामान आयातमा नै समस्या छ । आफू स्वयम गएर सामान ल्याउन सक्ने अवस्था नभएकाले फोटो हेरेर समान अर्डर गर्दा फोटो एउटा समान अर्कै आउने समस्या छ । चीनबाट आउने समानहरु अर्डर गरेको ९ महिनासम्म पनि समान आइपुग्दैन् । सामान ल्याउँदा चीनमा सहज हुँदा नेपालमा समस्या र नेपालमा सहज हुँदा चीनमा समस्या हुने भएको छ । सरकारले साना व्यवसायीहरुलाई काम गर्ने वातावरण बनाई दिनुपर्छ । बैंकहरुमा ब्याजदर वृद्धि, भन्सार दरमा वृद्धि, सामान आउन समय लाग्ने,व्यापार ३० प्रतिश कमी आएको अवस्था रहेको छ । तर घरभाडा बढेको अवस्थाले साना व्यापारीहरु पीडित रहेका छौं ।’

व्यापारीहरुले ग्राहकहरुले खोजे जस्तो न्यानो कपडा आयात गर्नको लागि मुख्य समस्या हुँदा व्यापारमा समेत असर परेको गुनासो गरेका छन् । सामानहरुको मूल्य वृद्धि भएर आएकाले पनि व्यापार गर्न कठिन भएको व्यापारीको भनाइ छ । 

Advertisement

Advertisement