‘एक्चुरी’ नभेटेर समस्यामा पर्यौंः जीवन बीमा कम्पनीहरु, सस्ता होइन् महंगो खोज, भेटिन्छः सिलवाल

Advertisement

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिरकरणले जीवन बीमा कम्पनीहरुलाई बीमांकीय मूल्यांकन (एक्चुरी भ्यालुयसन) समयमा दबाब दिएको बेला कम्पनीहरुले भने ‘एक्चुरी’ नभेटेर समस्यामा परेको गुनासो गरेका छन् । 

बीमांकीय मूल्यांकन समयमा सम्पन्न नगर्नेहरुलाई कुनै छुट नहुने भन्दै प्राधिकरणले पेलिरहेको बेला ‘एक्चुरी’ नपाएपछि कम्पनीहरु चेपुवामा परेका हुन् । कम्पनीका सीईओहरुले आफूहरुले एक्चुरीको खोजेको महिनौ भइसक्दा पनि पाउन मुस्किल परेको बताएका छन् । 

Advertisement

प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले ऐन कानुन भन्दा माथि कोही पनि नहुने र कम्पनीहरुले पनि समयमा नै एक्चुरी खोज्नुको विकल्प नरहेको बताए । उनल भने, ‘खाली हाम्रा बीमा कम्पनीहरु भारतकै सस्ता एक्चुरी खोजेर बस्छन् । त्यसैले सधैं वित्तीय विवरण प्रकाशन गर्न ढिलाई हुन्छ । एक्चुरी भनेको त जहाँको पनि एउटै हो । भारतको मात्रै पर्खेर किन बस्नु पर्यो ?’ 

सिलवालले थपे, ‘तपाईंहरुले हेर्नु भयो भने विश्वभरी एक्चुरी नै एक्चुरी छन् । जुन एक्चुरी ल्याउँदा पनि हुन्छ । अब सस्तो एक्चुरी खोजेर ढिला गर्ने दिन गए ।’ महंगा एक्चुरी खोजेर भए पनि समयमा वित्तीय विवरण बुझाउन उनले सुझाव दिइरहँदा अपेक्षाकृत नाफा गर्न नसकेका बीमा कम्पनीहरु महंगा एक्चुरी खोज्ने पक्षमा देखिन्नन् । अहिले बीमा कम्पनीहरुको मुनाफा घटेर एकल अंकमा झरेको छ ।   

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईले एक्चुरी गर्ने जनशक्ति नेपालमा नभएकाले आफूहरुले निकै दुःख पाएको बताउँछन् । उनी भन्छन्, ‘लेखापरीक्षण वास्तवमा समयमा नै गर्नु पर्ने कुरा हो । यो कुरा सबै कम्पनीको हकमा लागू भए पनि जीवन बीमा कम्पनीमा चाहिं एक्चुरी गर्ने जनशक्तिको कमी हुँदा साह्रै समस्या भएको छ ।’ 

प्रसाईंले विदेशी एक्चुरीबाट बीमांकीय मूल्यांकन गर्दा विवरण पठाउने र उनीहरुले मूल्याकन गरेर फिर्ता गर्दा समय लाग्ने अवस्था रहेको समस्या सुनाए । उनले थपे, ‘यसको मुख्य कारण भनेको नेपालबाट पठाएको एउटा कम्पनीको वित्तीय विवरणको बीमांकीय मूल्यांकन गर्न तीन महिना समय लाग्ने गर्छ । यति समयभित्र गर्नु भने पनि जीवन बीमा कम्पनीको लागि यो आफ्नो नियन्त्रण भन्दा बाहिरको कुरा हो । त्यही कारण हरेक पटक ढिलाई हुने गर्छ ।’

सीईओ प्रसाईंले वित्तीय विवरण पठाउन ढिलाई हुनुमा एउटा कम्पनीको मूल्यांकन गर्दा अर्को कम्पनीले पर्खेर बस्नुपर्ने अवस्था छ । तर विगतको तुलनामा हेर्दा यसमा धेरै सुधार भएको छ । अझै सुधार गर्नुपर्छ भन्ने कुरा पनि सत्य हो । 

सिलवालको भनाईः 
कम्पनी खडा गरेपछि जे नियम आउँछ, त्यो मान्नु उसको दायित्व पनि हो । जहाँसम्म एकै पटक एक्चुरी भेटिदैन भन्ने छ, कानुनमा भन्दा बाहिर गएर कसैले पनि बाह्र सताईस कुरा गर्नै पर्दैन । हामीलाई पनि कानुनले बाध्छ । कम्पनीलाई पनि कानुनले नै बाध्छ । अहिले बीमा प्राधिकरणले वित्तीय विवरणको काममा कुनै ढिलाई गरेको छैन् । अब जति ढिलाई हुन्छ, त्यो कम्पनीहरुकै कारण हो । अब कम्पनीको समस्या त हाम्रो समस्या होइन नि । 

संसारमा एक्चुरीको कमी छैन् । भारतबाहेक अन्य देशबाट एक्चुरी ल्याउनुपर्यो । सस्तो एक्चुरी खोजेर अब ढिलाई गर्ने दिन गए । म त अझ महङ्गो एक्चुरी ल्याएर भए पनि जीवन बीमा कम्पनीहरुले आफ्नो कामलाई प्राथमिकता दिनुपर्छ भन्छु ।  

Advertisement

Advertisement