आर्थिक मन्दीको ठूलो असर बीमा व्यवसायमा परेको छ, लगानीकर्ता पनि त्रसित छन्ः भट्टराई

Advertisement

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशकुमार भट्टराईले पछिल्लो आर्थिक मन्दीको प्रभाव जीवन बीमा व्यवसाय परेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आर्थिक मन्दीको प्रभावले गर्दा जीवन बीमा व्यवसायमा गिरावट आएको बताएका हुन् । भट्टराईले भने, ‘अरु उद्योग व्यवसाय आर्थिक मन्दीका कारण प्रभावित भए जस्तै बीमा क्षेत्र पनि यसबाट अछुतो छैन् ।’ 

Advertisement

साथै, उनले जीवन बीमा व्यवसाय कठिन अवस्थाबाट गुज्रिनुपरेको बताउँदै थपे, ‘अहिले बीमा व्यवसाय निकै कठिन अवस्थाबाट गुज्रिरहेको छ । लगानी गर्न लगानीकर्ताहरुलाई त्रास उत्पन्न भएको अवस्था छ ।’ आर्थिक मन्त्रीकै कारण लगानीकर्ता यस क्षेत्रमा लगानी गर्न डराइरहेको पनि भट्टराईले बताए । 

उनले भने, ‘अहिले त मान्छेहरु सबै डराएको अवस्था छ । कहाँ लगानी गर्दा के हुने हो ? त्यसको केही निश्चितता छैन । यसले त विशेषगरी जीवन बीमालाई धेरै ठूलो असर पुर्याएको छ । मेरो अध्ययनबाट पनि जीवन बीमा क्षेत्र अहिले अन्य क्षेत्रको तुलनामा निकै संकटको अवस्थामा छ ।’ 

सीईओ भट्टराईले पछिल्लो समय बीमा व्यवसायकै लागि आफू देश दौडाहामा लागेको बताए । उनले आफू देशका विभिन्न ठाउँमा घुमेको र भोलि नेपालगञ्ज जाने तालिका तय भएको बताए । 

जनतामा एकातिर राजीतिक अन्योलताको अवस्था देख्न सकिन्छ भने अर्को आर्थिक अन्योलता देखिन्छ भन्दै भट्टराईले बलियो सरकार नै अहिलेको आवश्यकता बनेको बताए । बलियो सरकारबाट नै बैंकिङ क्षेत्रसहित समग्र आर्थिक चलायमान हुने उनको विश्लेषण छ । 

भट्टराईले थपे, ‘जबसम्म क्यास फ्लो (नगद प्रवाह) सहज हुँदैन, तबसम्म बीमा व्यवसाय पनि राम्रोसँग अघि बढ्न सक्दैन । यसले गर्दा अहिले स्थिति गाह्रो देखिएको छ ।’ बीमा क्षेत्रमा बजारीकरण गर्ने भनेको अभिकर्ताहरुले नै हो भन्दै उनले यस्तो अवस्थामा अभिकर्ताहरुको मनोबल गिर्न दिन नहुने बताए । आफूहरुले अभिकर्ताका लागि तलिमहरुको समेत आयोजना गरेको भट्टराईले जानकारी दिए । 

अहिलेको विषम अवस्थामा कम्पनीको उच्च तह चुप लागेर बस्ने भन्दा पनि कर्मचारीहरुसँगै गएर समस्या समाधानमा लागिपर्ने बेला रहेको छ भन्दै भट्टराईले आगामी केही समयपछि भने बीमा क्षेत्रले पनि धेरै कर्मचारीहरु माग गर्ने अवस्था आउने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement