देउवाको चिन्ता– अव्यवस्थित शहरीकरणले नगरपालिकाहरु कुरुप भए, असुरक्षित भए

Advertisement

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । 

सोमवार नेपाल नगरपालिका संघको कार्यक्रममा उनले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुनेगरी स्थानीय स्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दयित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए । 

Advertisement

स्थानीय तहको सम्भाव्य स्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताउँदै देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए । 

उनले जनताको काम बिना झन्झट, छिटो, छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभुति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक रहेको पनि बताए । देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रवन्ध गर्न आवश्यक रहेको पनि बताए । 

नेता देउवाले मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका बताए । उनले काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए । 

देउवाले भने, ‘एकीकृत तवरले पूर्वाधारलाई विकास गर्न आवश्यक छ । आज मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको छ भने अर्कोतर्फ हाम्रा शहरहरु दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका छन् ।’ 

उनले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडल अवलम्वन गर्न सुझाव दिए । उनले शहरहरुलाई आर्थिक विकासको हबका रुपमा समेत विकास गर्ने कार्यमा सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे । 

Advertisement

Advertisement