राहदानी र लाइसेन्सको सास्ती पहिलो निर्णयमा, हामी आउँदा जनतामा आशा जाग्योः दाहाल

Advertisement

काठमाडौं । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ ।

सोमबार पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण हुने कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको हो ।

Advertisement

राहदानी बनाउन लामो लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य गर्न र जनतालाई सास्ती नहुने गरी काम गर्न निर्देशन दिने निर्णय भएको हो । 

त्यस्तै लाइसेन्स दिने कार्यालयमा पनि भीड हुने अवस्थाको अन्त्य गर्ने निर्णय भएको छ । बैठकले अर्थतन्त्रमा सुधार, राजस्व चुहावट नियन्त्रण, सुशासन र जनतालाई परिवर्तनको अनुभूति दिने गरी सेवामा सुधार गर्ने निर्णय भएको छ ।

प्रधानमन्त्री दाहालले आफ्नो सरकारले जनतामा आशा जगाएको दाबी पनि गरेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकपछि कुरा गर्दै उनले चुनावबाट जस्तो निर्णय आएको छ, त्यसलाई मन्त्रिपरिषद्ले समेटेको जिकिर गरे । 

दाहालले भने, ‘हाम्रो अगाडि थुप्रै जटिलता र चुनौतीहरु छन् । तर जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरुको संकल्प भएकाहरुको केन्द्रिकरण भएको छ । त्यसकारण मलाई सहज लागेको छ ।’

अर्थतन्त्रमा देखिएको जटिलतालाई सुधार गर्ने, सुशासन र जनताको सेवा प्रवाहमा केन्द्रित हुनेबारे पहिलो बैठकमै छलफल भएको बताउँदै दाहालले 
राहदानी, लाइसेन्स सेवा प्रवाह गर्ने कार्यालयमा लामो लामो लाइन रहेकोले देशका अगाडि रहेका समस्याहरु सम्बोधन गर्न केन्द्रित हुने संकल्प गरेको बताए । 

Advertisement

Advertisement