भृकुटीमण्डप खुल्ला बजार: अस्थायी संरचनाभित्र पनि आकर्षक व्यापार

Advertisement

काठमाडौ । राजधानीको भृकुटीमण्डपस्थित खुल्ला बजारभित्र बिगत ३० बर्षदेखि अस्थायी संरचनाभित्र विगत तीन दशकदेखि विभिन्न सामानहरु बिक्री गर्ने पसलहरु सञ्चालन हुँदै आएको छ । 

एउटै छानामुनी धेरै खालका सामानहरु सस्तो मूल्यमा पाइने आशामा धेरै ग्राहकहरु भृकुटीमण्डभित्रको यो बजारमा धाउने गर्छन् । सोही कारण यो बजारभित्र छिरेपछि मानिसहरुको चहलपहल पनि निकै देखिन्छ । 

Advertisement

व्यापार पनि राम्रो हुने भएकाले होला भृकुटीमण्डपका खुल्ला बजारका व्यापारीहरु सो ठाउँ छोड्न मान्दैनन् । समाज कल्याण परिषद्लाई सस्तो भाडा तिरेर पसल सञ्चालन गर्न पाएका उनीहरु उपयुक्त विकल्पविना सो ठाउँ छोड्न तयार छैनन् । 

देशको प्रशासनिक केन्द्र सिंहदरबारको ठिक अगाडि रहेको यो बजारका कारण राजधानीको शोभा बिग्रिएको भन्दै कतिपयले यसलाई अन्यत्र सार्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् । तर भृकुटीमण्डप खुल्ला बजारका व्यापारीहरुको संगठित प्रतिरोधका कारण सरकारले उनीहरुलाई हटाउने प्रयास गर्न सकेको छैन् । 

बिहान बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ने यो बजारलाई हङकङ बजारको रुपमा समेच चिनिन्छ । भृकुटीमण्डप खुल्ला बजारमा चोरी हुने र जबरजस्ती सामान किन्न लगाउने गरेको गुनासो कतिपय ग्राहकको देखिन्छ । तर सो ठाउँका व्यापारीहरु सो आरोप अस्वीकार गर्छन् । 

बजारभित्र भुजुरी नेपाली कपडा र फेन्सी चाइनिज कपडाहरु बिक्री गर्ने व्यापारीहरु अधिकांश देखिन्छन् । भुजुरी नेपाली कपडाको मूल्य १९० रुपियाँदेखि एक हजार रुपियाँसम्म पर्छ भने फेन्सी कपडाको मूल्य सात सयदेखि छ हजार रुपियाँसम्म पर्ने एक व्यापारी टेकबहादुर मजरकोटले बताए । 

आफूले १० महिनाअघि नेपाली कपडा पसल डेढ लाख रुपियाँमा खरीद गरेको बताउँदै उनले नेपाली कपडाबाट घरखर्च कटाएर मासिक ३५ हजार रुपियाँ बचत गर्ने गरेको बताए । 

अर्का व्यापारी रुपक लामिछानेले आफूले भृकुटीमण्डप खुल्ला बजारमा फेन्सी कपडाको व्यापार सुरु गरेको १३ बर्ष भइसकेको बताए । उनले दैनिक ३०–३५ हजारको व्यापार गर्ने गरेको बताउँदै मासिक एक लाखसम्म बचत हुने गरेको बताए । 

कोभिड महामारीको समयमा व्यापार घटे पनि पछिल्लो समय राम्रै व्यापार भएको बताउँदै लामिछानेले आफूले बिक्री गर्ने कपडा नयाँ सडकको रञ्जना गल्ली र महाबौद्धबाट ल्याउने गरेको बताए । भृकुटीमण्डप खुल्ला बजारमा हाल एक हजार ३५० व्यापारीको पसल रहेको जनाइएको छ । 

Advertisement

Advertisement