तरकारीका बिचौलियालाई जेल हालियोस्, तरकारीको आयात बन्द गरियोस्ः ज्ञानेन्द्र शाही

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गरेका छन् । 

उनले आइतबार संसदमा बोल्दै नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गरे । शाहीले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दबाब दिए । 

Advertisement

नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उनको माग छ । शाहीले चालू आर्थिक वर्षको ६ महिनामा १० अर्ब ११ करोड २२ लाख रुपियाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै नेपालको ठूलो धनराशी यसरी खेर गइरहेको बताए । 

शाहीले एशियामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो ? भनी सरकारलाई प्रश्न पनि गरे । सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै उनले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताए । 

शाहीले भने, ‘चुनावको बेलामा हामीले भोट माग्दै गर्दा र जनताले हामीलाई भोट हाल्दै गर्दा आफ्नो सपना र भविष्यलाई आत्मसाथ गर्दै हामीलाई भोट हालेका हुन । तर यो संसदमा आएर हामीले जसरी समय बर्बाद गरिरहेका छौं । यसका लागि जनताले हामीलाई मत हालेका होइनन् । म यही प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । र, साथसाथै हामीलाई भोट मात्रै होलेका होइनन् । आफ्नो भविष्यलाई, आउने पुस्ताको समेत भविष्यलाई आत्मासात गरेर भोट हालेका हुन । आज प्रजातन्त्र आएको झण्डै ७२ वर्ष भएछ । यसबीचमा झण्डै चार वटा व्यवस्था फेरिए । यो कुसीको रङ फेरियो, त्यो रोष्टमको रङ फेरियो । यहाँ व्यक्ति फेरिए । तर प्रवृत्ति उही रह्यो ।’ 

शाहीले थपे, ‘हिजो भारतर बंगलादेशबाट हामीले मजदुर आयात गथ्यौंं । आज एक रोटी खानका लागि र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानुपर्ने परम्परा बसेको छ । अझै हामीले संसदमा बसेर ठूलो कुरा गर्ने सुहाउँदैन भन्ने मलाई लाग्दछ । आज व्यापारीले व्यापार गर्न पाएको छैन । आज किसानले खेती गर्न पाएको छैन । विद्यार्थीले गुणस्तरीय शिक्षा पाएको छैन । विरामीले गुणस्तरीय उपचार पाएको छैन । अझै हामी सिद्धान्त र नयाँ क्रान्तिका कुरा गरिरहेका छौं । सत्ता र कुर्सीको लडाईमा रुमलिरहेका छौं । हाम्रो ध्यान कतातिर जाँदैछ ? र, अहिले पनि हिजो विदेशीलाई खाद्यान्न दिने देश आज टमाटर टिप्नका लागि हाम्रा युवा साथीहरु विदेशिनु परेको छ । हिजो हामीेले धान, चामल निर्यात गथ्र्यौं । तर आज नाकाबन्दी गरेपछि हामी भोकभोकै मर्ने डर हुन्छ ।’

उनले एशियाकै सबैभन्दा ठूला कहलिएका ४४ वटा उद्योग आज कहाँ गए ? अब यो खोजीको विषय बनेको बताए । कुनै जमानामा हाम्रा राष्ट्र प्रमुखले त्यतिखेर संसारकै शक्तिशाली मानिएका बेलायत र अमेरिकाको भ्रमण गर्दा सडकभरी जम्मा भएर सम्मान गर्थे भन्दै उनले तर, आज हाम्रो राष्ट्रप्रमुखको सम्मान कहाँ गयो ? भनी प्रश्न गरे । 

शाहीले भने, ‘अहिले मात्रै बैंक तथा वित्तिय क्षेत्रमा कम ब्याजदरमा ऋण प्रवाह गरी असुल उपर गर्दा व्याजदर बढाउने गरेका छन सभामुख महोदय । जसले साना व्यवसायीलाई धराशायी भएको र ऋण तीर्न नसकी आत्मदाह र आत्महत्याको बाटो रोज्दैछन । इलामका प्रेम प्रसाद आचार्य र पोखराका डल्फिन सहकारीका संचालक यसैकारण आत्महत्या गर्न बाध्य भए । नेपाल सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि हस्तक्षेपकारी नियमन गर्नु पर्यो । जुन अनियन्त्रित व्याजदर छ । त्यसलाई रोक्नु प¥यो जीवन सहजताका लागि अनेकौ कोसिस गर्दागर्दै विषय परिस्थिति, कमजोर आर्थिक नीति, नियम, भ्रष्टाचारयुक्त राज्य संयन्त्र, व्यापार व्यवसायमा कालोबजारीकरणको कारण मान्छेहरु आज आत्मदाह र आत्महत्यको बाटो रोज्न बाध्य छन । आत्मदाह र आत्महत्या गर्न बाध्य पार्नुमा राज्य प्रणालीको हात छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । होइन भने अझै प्रेम प्रसाद आचार्यहरु उत्पन्न हुनेछन् । यहाँ हजारौंले झुण्डिएर मनुपर्ने अवस्था आउन सक्छ ।’ 

आफूले हिजो एउटा किसान चितवनमा रोईरहेको देखेको बताउँदै उनले हजारौं किसानहरु आज सडकमा आएको बताए । तर साँसदहरु रोष्टममा बसेर खोक्रा भाषण ठोकिरहेको भन्दै शाहीले व्याङग्यात्मक आलोचना गरे । उनले भने, ‘हाम्रो नीति कहाँ छ ? माननीय कृषिमन्त्रीलाई आग्रह गर्दछु– भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउ भविष्य छैन् । खाडी जाउ उमेर छैन् । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन । झण्डै अघिल्लो वर्ष १७ अर्व, ८० लाख ९० हजार र यो वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँ हरियो तरकारी आयात गरिएको छ । विदेश पैसा पठाइएको छ । नेपाली किसान बजार मूल्य नपाएर आत्महत्या गरिरहेका छन ।’ 

प्रमुख सचेतक शाहीले नेपालका किसानहरुले भारतमा तरकारी बेच्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको पनि अन्त्य गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

Advertisement

Advertisement