‘सरकारको झन्झटिलो प्रक्रिया र सही नीति नहुँदा आयात बढ्यो, स्वदेशी फर्निचर संकटमा परे’

Advertisement

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघका अध्यक्ष सुजल श्रेष्ठले बैंकको चर्को ब्याजदर, भन्सार महशुल र कच्च पदार्थको सहज उपलब्धता नहुँदा फर्निचर व्यवसायीहरु ठूलो मारमा परेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुले वनसम्वन्धी सरकारी निकायसमक्ष आफ्ना समस्या अवगत गराए पनि सम्बोधन नभएको बताउँदै नेपालमै ९० प्रतिशत काठ पाइने भए पनि सरकारी झन्झटिलो प्रक्रियाका कारण बाहिरको काठ आयातमा भर पर्नुपर्ने अवस्था रहेको बताए । 

Advertisement

श्रेष्ठले महासंघले यही आउँदो बैशाख २९ देखि ३१ गतेसम्म राजधानीको भूकुटीमण्डपमा फर्निचर मेला आयोजना गर्न लागेको जानकारी पनि दिए । हरेक बर्ष मेलामा फर्निचरका उत्पादन, त्यसका लागि आवश्यक कच्चा पदार्थ, मेसिनरी सामानको प्रर्दशन हुने गर्छ । यस्तो मेला फर्निचर व्यवसायीका समस्याबारे सरकारलाई जानकारी दिने, फर्निचरका ब्राण्डहरुको बजारीकरण गर्ने, बिक्री गर्ने, समस्याहरुबारे छलफल गर्ने माध्यम पनि हो भन्दै उनले यस पटकको मेला विगतको भन्दा परिस्कृत हुने बताए ।  

श्रेष्ठले हाल निर्माणाधिन नयाँ संसद भवनका लागि साढे दुई अर्ब रुपियाँ बराबरको फर्निचरको ठेक्का लिएको जानकारी पनि दिए । वन कार्यालयबाट लिलामी भएर आएका काठ आफूहरुले किन्दा निकै झन्झटिलो र महंगो हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले सिधै वन कार्यालयबाट खरीद गर्न सकिने व्यवस्था भए लागत कम भई उपभोक्ताले सस्तोमा गुणस्तरीय फर्निचरहरु किन्नसक्ने र आयात पनि कम हुने थियो भने । 

नेपालमा फर्निचर उद्योग उकासिन कठीन भएको उनले गुनासो गरे । श्रेष्ठले सरकारलाइ राजश्व फाइदा हुने भएकाले स्वदेशभित्र उद्योग खोल्न चासो नदिएर आयातलाई नै प्रोत्साहन गर्ने गरेको हुनसक्ने बताए । 

उनले स्वदेशी फर्निचर उद्योगलाई ठाउँ दिन सकियो भने नेपालको पैसा नेपालमै हुने, धेरैलाई रोजगारी सिर्जना पनि हुने बताए । अहिलेको समयमा फर्निचर उद्योग दर्ता गर्न धेरै चुनौति रहेको उनको गुनासो छ । 


श्रेष्ठले भने, ‘फर्निचर क्षेत्रमा धेरै संभावना छ । तर सरकारले बेवास्ता गर्दा उद्योगीहरुले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् । फर्निचर उद्योग दर्ता घट्दो अवस्थामा छ ।’ 

विदेशी काठभन्दा नेपालका काठ फर्निचर बनाउन धेरै बलियो र टिकाउ हुने भन्दै तर सरकाने वन पैदावारको सही सदुपयोग गरी स्वदेशी फर्निचर उपभोग गर्न हिचकिचाएका कारण हेर्दा राम्रो मात्रै देखिने अर्बौं रुपियाँको गुणस्तरहीन फर्निचरहरु नेपाल भित्रिने गरेको बताए । 

साथै, श्रेष्ठले नेपालमा दर्ता बिना पनि कतिपयले फर्निचर व्यवसाय गर्दै आएको तर त्यसतर्फ सरकारको ध्यान नपुगेको बताए । यसले गर्दा राज्यलाई पनि ठूलो राजश्व नोक्सान भएको बताए । राजधानी काठमाडौंमा दुई हजार पाँच सय जति फर्निचर उद्योग दर्ता भएर सञ्चालन भए पनि अरु कयौं उद्योग बिना दर्ता सञ्चालन भइरहेको देखिएको बताए । 


अध्यक्ष श्रेष्ठले महासंघले प्रत्येक वर्ष वृक्षारोपन गर्ने, रुख बिरुवा संरक्षण गर्ने, यस्ता रुख बिरुवालाई मल उपलब्ध गराउने जस्ता काम गर्दै आएको पनि बताए । 

Advertisement

Advertisement