घरेलु तथा साना उद्योगसम्वन्धी मेलाको पहिलो दिनमा करीब ६० लाख रुपियाँको व्यापार

Advertisement

काठमाडौं । राजधानीमा सुरु भएको १६औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु तथा साना उद्योग महोत्सवको पहिलो दिनमा करीब  ६० लाख रुपियाँको व्यापार भएको आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ । 

घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको यो मेलामा व्यापार राम्रो भइरहेको र अवलोकनकर्ताको उपस्थिति पनि अपेक्षाभन्दा धेरै भइरहेको महासंघका उपाध्यक्ष सूर्यबहादुर कंडेलले बताए । 

Advertisement

मेलामा जम्मा १८६ स्टल रहेका छन् । मेलामा भारत, पाकिस्तान, बङलादेशका १५ वटा स्टल पनि रहेका छन् । कोरोना महामारीका कारण विगतका तीन बर्ष महासंघले यस किसिमको मेला आयोजना गर्न सकेनन् । यद्यपि स्थानीयस्तरमा भने यस्ता मेला आयोजना हुने गरेका थिए । आउने दिनमा पनि देशका प्रमुख शहरमा महासंघले मेला आयोजना गर्न लागेको कंडेलले बताए । 

जारी मेलामा स्टल राखेका व्यवसायीले भने पहिलो दिनमा अपेक्षा गरेजस्तो व्यापार हुन नसकेको बताए । ढाकाका उत्पादन बिक्री गर्न बसेकी धनकुटाको सेमी घरेलु तथा ढाका उद्योगकी पुष्पा थोक्लेनले पहिलो दिनमा व्यापार अपेक्षा गरेजस्तो हुननसकेको बताइन् । चौध वर्षदेखि  ढाकाको व्यवसाय गर्दै आएकी उनले ढाकाको पछ्यौरा, चौबन्दी, कोट, साडी, कुर्था, दौरा, सुरुवाल बिक्री तथा ढाकाको सिलाई बुनाई गर्दै आएकी छन् । 

आफूहरुले धनकुटाको बजार र गाँउमा गरी  चार वटा साना उद्योग सञ्चालनमा ल्याइरहेको बताउँदै थोक्लेनले १५ स्थायी रोजगारी र सयौंलाई अस्थायीरुपमा रोजगारी र तालिम दिँदै आएको बताइन् । धैर्यतापूर्वक काम नगर्नेले ढाकाको व्यवसाय गर्न नसक्ने उनको अनुभव छ । थोक्लेनले आफूले ढाकाका उत्पादन अमेरिका, अष्ट्रेलियात लगायतका देशमा अडरअनुसार पठाउने गरेको बताइन् । 

Advertisement

Advertisement