बाँसका हस्तकला सामग्रीको उद्योगबाट पहरीलाई सफलता, रेष्टुरेन्टदेखि पर्यटकसम्मको रोजाई

Advertisement

काठमाडौं । बाँसका छडीबाट विभिन्न प्रकारका   आकर्षक सामग्री बनाउँदै आएकी महिला उद्यमी हुन् कल्पना पहरी । पाँच वर्षअघि उद्योग खोल्दा उनको बाँसको चोयाबाट बनेका सामान किन्न कमै मानिस आउँथे । 

पहरीको ‘कल्पना ब्याम्बो ह्ण्डीक्राफ्ट’ घरेलु तथा साना उद्योग दर्ता छ । उनको उद्योगबाट सयभन्दा बढी प्रकारका बाँसका सामान तयार हुन्छन् । उद्योगले थुप्रैलाई रोजगारी पनि दिएको छ । बाँसको व्यवसाय सुरु गर्दा ठ्याक्कै कति लगानी भयो ? पहारीलाई यकिन छैन् । यद्यपि उनको व्यवसाय भने निरन्तर फस्टाउँदै गएको छ । 

Advertisement

कल्पना पहारीले उत्पादन गरेका चोयाबाट बनेका तयारी सामग्री बजारमा सय रुपियाँदेखि १५ हजार रुपियाँसम्ममा बिक्री हुन्छन् । आफूले दैनिक सरदर १५ हजार रुपियाँको व्यापार गर्दै आएको उनले सुनाइन् । यो अडर आएका सामानबाहेको हिसाब हो ।   

विशेषगरी नयाँ बनेका क्याफे, रेष्टुरेन्ट, होटलमा पहारीले तयार गरेका बाँसका मुडा, कुर्सी, बत्ति झुण्डाउने झुम्मर जस्ता सामानको अडर आउँछ । त्यसबाहेक सौखिनहरुले दैनिक उपभोग्य वस्तुको रुपमा र सजावटका लागि बाँसको घडी, डटपेन राख्ने, डोको, डालो, नाङ्लो, टोकरी, टोपी, चिया छान्ने जाली आदि सामग्रीहरु खरीद गर्छन् ।  
 
पहरी भन्छिन्, ‘मैले सामानहरु आफूले नै नयाँ तथा फरक तरिकाले बनाउँछु ।’ गोदावरीमा रहेको उनको उद्योगबाट तयार भएका सामान जावलाखेलस्थित गोदाममार्फत कुपन्डोल, लाजिम्पाटलगायतका ठाउँका ब्याम्बो शोरुम तथा गुठी संस्थाहरुलाई बिक्री गरिन्छ । 

‘कल्पना ब्याम्बो ह्ण्डीक्राफ्ट’ सञ्चालनमा आएदेखि कार्यरत अस्टबहादुर नगरकोटीले फुर्सदको समयमा उद्योगमा काम गर्ने र बाँसका उत्पादनहरुको व्यवसाय गर्दै आएको बताए ।

झापाबाट ल्याइएका बाँस राजधानीका विभिन्न डिपोमा आउँछन् । ती डिपोबाट एउटा बाँस खरीद गर्दा तीन सय रुपियाँ जति पर्छ । बाँसको सामान तयार पार्न निकै कठिन हुने अनुभव सुनाउँदै नगरकोटी आफूहरुले बनाएका सामग्री विदेशी पर्यटकले पनि निकै रुचाउने गरेको बताउँछन् । उनले बाँसका सामग्री बढी टिकाउ हुने र घर तथा कार्यालयको शोभा पनि दिने भएकाले बढी बिक्री हुने गरेको उनले बताए ।

Advertisement