विमानस्थल अगाडि क्यानको तारे होटल जस्तो नयाँ कार्यालय भवन, पूरानो भाडामा दिइने

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थल अगाडि सिनामंगलमा सुविधासम्पन्न नयाँ कार्यालय भवन निर्माण गरेको छ । 

एक अर्ब ७० करोड रुपियाँ लागत अनुमान गरिएको यो भवन हेर्दा पाँच चारे होटल जस्तो भव्य देखिन्छ । २०७२ सालको विनाशकारी भूकम्प आउनुभन्दा १२ दिनअघि (२०७२ वैशाख १ गते) निर्माण सुरु गरिएको यो भवन अझै पनि सम्पन्न भने हुन सकेको छैन् । 

Advertisement

भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता समस्याका कारण निर्माण कार्य ढिलो हुन पुगेको प्राधिकरणका प्रवन्धक एवं इन्जिनियर नलविक्रम थापाले बताए । उनले कार्यालय भवनको निर्माण कार्य अन्तिम चरणमा रहेको बताए । 

उनले भने, ‘नयाँ भवनको निर्माण कार्य ९५ प्रतिशत सक्किएको छ। अहिले फिनिसिङ् र सरसफाइको काम भइरहेको छ । चैत मसान्तसम्म सम्पन्न गर्नेगरी काम गर्दैछौं ।’ प्राधिकरणको मुख्य कार्यालय अब सिनामंगलमा रहे पनि केही काम भने बबरमहलस्थित पूरानो भवनबाटै हुनेछ । प्राधिकरणले पूरानो भवनको केही अंश आफूले प्रयोग गरेर बाँकी भाडामा लगाई आयस्रोत बढाउने योजना बनाएको छ । 

पूरानो भवनबाट नियमनसम्वन्धी काम हुने र नयाँ भवनबाट सेवा प्रवाहका बाँकी सबै काम हुने जनाइएको छ । नयाँ भवनको तल्लो दुई तहमा ‘बेसमेन्ट’ पार्किङ छ । कार्यालय अगाडि पनि पार्किङको सुविधा रहने छ । यस भवनमा चार सयभन्दा बढी कर्मचारी काम गर्नसक्छन् । 

यस भवनमा निर्माणसम्वन्धी नयाँ प्रविधि र सुरक्षा उपकरणहरु जडान गरिएको बताउँदै थापाले यस कार्यालयको डिजाइन आधुनिक किसिमको रहेको बताए । उनले भने, ‘स्पेस पार्टिसन, फर्निचर सबै आधुनिक छन् । फायर अर्लाम सिस्टम, फायर फाइटिङ सिस्टम जडान गरिएको छ । लिफ्ट चार वटा छ । भवन हेर्दा आकर्षक पनि छ । क्यानमा विदेशीहरु पनि आइरहन्छन् । त्यही भएर पनि आधुनिक र आकर्षक भवन निर्माण भएको हो ।

क्यानको नयाँ भवन ११ तल्लासम्मको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ड्युटीमा बस्न नपर्ने खालका प्राधिकरणका कार्यालयहरु पनि नयाँ भवनमा राख्ने योजना छ । ड्युटी अफिस भने विमानस्थलभित्र नै रहने थापाले बताए । उनले पूरानो भवन पनि भाडामा दिन नयाँ डिजाइनिङ भइरहेको बताए । 

चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण भएको प्राधिकरणको नयाँ भवन तुण्डी रसुवा जेबीले निर्माण गरेको हो । 

Advertisement

Advertisement