इप्पानको टोलीले दाहाललाई भेटेर भने– सीता हाइड्रोपावरका आक्रमणकारीलाई कारवाही होस्

Advertisement

काठमाडौं । उर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यही गएको फागुन  १५ गते सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ स्थित सीता हाइड्रोपावर प्रा.लि.ले निर्माण गरिरहेको ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको निर्माणस्थलमा एक समूहले गरेको आगजनी, तोडफोड तथा कर्मचारीमाथिको सांघातिक आक्रमणमा संलग्नलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

मुख्यसचिव शंकर बैरागीसमेत सहभागी उक्त बैठकमा व्यवसायीहरुले सीता एयरमा भएको आक्रमण आपराधिक भएको बताउँदै आक्रमणको निस्पक्ष छानबिनका लागि कार्यदल निर्माण गर्न लिखित माग पनि गरेको छ । 

Advertisement

विभिन्न बहानामा आयोजनाका प्रवर्द्धकलाई मानसिक र भौतिक भय, त्रास उत्पन्न गराएर अनुचित लाभ प्राप्त गर्न आयोजनास्थलमा यस्ता आपराधिक गतिबिधि श्रृङ्खलाबद्ध हुन थालेको भन्दै इप्पानले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताएको छ , 
 
विद्युत ऊर्जा उत्पादनमा निजी क्षेत्रले ठूलो योगदान नगरेको भए यतिबेला मुलुकले चर्को लोडसेडिङको मार झेलिरहरको हुने थियो भन्दै इप्पानले निजी क्षेत्रले ऊर्जामा गरेको लगानीकै कारण आज मुलुक बिद्युत निर्यात गर्ने अवस्थामा पुगेको, ठूलो संख्यामा रोजगारी सिर्जना भएको बताएको छ । 

विश्वब्यापी आर्थिक संकट आएको अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन बिद्युत ऊर्जाको योगदान उच्च रहेको र यसरी अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको बिद्युत ऊर्जाको क्षेत्रलाई यस्ता आपराधिक, उदण्ड र अराजक गतिबिधिले निरुत्साहित गर्नुको साथै मुलुकमा लगानीको वातावरण छैन् भन्ने देश, बिदेशमा सन्देश प्रवाह हुने कुरातर्फ ईप्पानले सरकारलाई ध्यानाकर्षण गराएको छ । 

आयोजनास्थलमा हुने यस्ता आपराधिक क्रियाकलाप हुन नदिन सरकारले आयोजनासथलमा सुरक्षाको उचित प्रबन्ध गर्न र त्यस्त क्रियाकलापमा संलग्न आपराधिक जमातलाई कडाभन्दा कडा कानुनी कारबाहीको दायराभित्र ल्याएर उनीहरुबाटै पीडक पक्षलाई उचित क्षतिपूर्ती भराउने ब्यवस्था गर्न पनि आग्रह गरिएको छ । 

त्यस क्रममा प्रधानमन्त्री दाहालले जलबिद्युत आयोजनामाथि भएको त्यसप्रकारको आक्रमणबाट आफू दुखी भएको बताउँदै आक्रमणमा संलग्न जोकोही भए पनि तिनलाई कानुनी कारबाहीको लागि सरकारले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाए । 

Advertisement

Advertisement