त्रिवि भन्सारले २५०५ बोतल मदिरा, ३२३ थान महंगा आईफोन र सामसुङ मोबाइल बिक्री गर्यो

Advertisement

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफूले जफत गरेका मदिरा, मोबाइल, सवारी साधन, कपडा, खाद्य पदार्थ विद्युतीय सामग्री लिलाम बिक्री गरेको छ । 

यी मालवस्तु लिलाम बिक्रीबाट आफूले तीन करोड ८९ लाख रुपियाँ राजस्व प्राप्त गरेको कार्यालयको भनाई छ । कार्यालयले ३३२ थान मोबाइल लिलाम बिक्रीबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपियाँ राजस्व प्राप्त भएको छ । यी मोबाइलहरु विदेशबाट फर्किने यात्रुहरुसँग जफत गरिएको हो । 

Advertisement

हालको कानुनी व्यवस्थाअनुसार एक व्यक्तिले विदेशबाट आउँदा एउटाभन्दा बढी मोबाइल ल्याउन मिल्दैन् । यदि एकभन्दा बढि मोबाइल ल्याए आर्थिक ऐनबमोजिम भन्सार महशुल तिर्नुपर्ने हुन्छ । कार्यालयले स्वदेशी तथा विदेशीबाट जफत गरिएको एप्पल कम्पनीका आइफोन, सामसुङ लगायत महँगा मोबाइल बिक्री गरेको हो । 

कार्यालयले एकै दिन दक्षिण कोरियाली नागरिकबाट ७१ लाख भन्दा बढी मूल्यका आइफोन तथा सामसुङ कम्पनीको मोबाइल जफत गरेको थियो । पछिल्लो समय भन्सार प्रशासन र विदेशबाट फर्किने यात्रुबीच मोबाइल, सुन र मदिरा ल्याउन दिने विषयमा चर्को विवाद समेत हुने गरेको छ । 

कार्यालयले एक करोड पाँच लाख ८६ हजार ६९७ रुपियाँ बराबरको दुई हजार ५०५ बोतल मदिरा बिक्री गरेको छ । कानुनअनुसार एक व्यक्तिले एक बोतल भन्दा बढी मदिरा ल्याउन मिल्दैन् । यसैगरी, एक करोड १० लाख ६८ हजार बराबरको सवारी साधन, लत्ताकपडा, खाद्य पदार्थ, विद्युतीय सामग्रीहरु बिक्री गरिएको छ । 

Advertisement

Advertisement