चार महिला समूह मिलेर साबुन उद्योग सञ्चालन गर्दै स्वरोजगार बन्दै, अझै विस्तार गर्ने योजना

Advertisement

काठमाडौं । बूढानीलकण्ठस्थित नीलकण्ठ सोप एण्ड हार्पिक प्रा.लि.का चार महिला समूहले बोसोरहित साबुन उत्पादन गर्दै आएका छन् । उनीहरुले विगत पाँच वर्षदेखि साबुन उत्पादन गर्दै आएका छन् । 

चार महिला समूहमध्ये एक समूहकी उद्यमी मुना महर्जनले आफूहरुले साबुन, झोल साबुन, झोल पिताम्बरी, फिनेल, हर्पिक जस्ता सामग्रीहरु उत्पादन गर्दै आएको बताइन् । आफूहरुको उत्पादन स्थानीयस्तरमै सजिलै खपत हुने बताइन् । 

Advertisement

वडा कार्यालयको १५ दिनको तालिमबाट सुरु गरिएो साबुन व्यवसायबाट आफूहरु आत्मनिर्भर हुँदै व्यवसायलाई निरन्तरता दिँदै आएको महर्जनले बताइन् । चार महिला समूह मिलेर उत्पादन गरेको साबुन बजारमा पाइनेभन्दा निकै सस्तो र गुणस्तरीय रहेको उनीहरुको दावी छ । 

तीन हजार रुपियाँ लगानीबाट उत्पादन सुरु गरिएको साबुन बिक्री गर्नको लागि महिला समूहका सदस्य खुद्रा पसल र गाउँघरमा जाने गर्छन् । कोरोना महामारीको समयमा दुई बर्ष आफूहरुको व्यवसाय थला परे पनि अहिले भने सुधार हुँदै गएकोमा उनीहरु खुशी छन् । 

मुना महर्जनले भनिन्, ‘एक पटक हामीले उत्पादन गरेको साबुन प्रयोग गरेका ग्राहकले बारम्बार हाम्रै साबुन प्रयोग गर्छन् । हामी हरेक दिन साबुन उत्पादन गर्दैनौं । बजारको माग भयो भने आवश्यकताअनुसार उत्पादन गर्ने हो । एक पटकमा ५० किलोसम्म साबुन उत्पादन गर्ने गरिन्छ । साबुन पूरै तयारी अवस्थामा आउन एक हप्ताको समय लाग्छ ।’

नीलकण्ठ सोपले सोन पाउडर, सेलरी, सोडा, पाम आयल जस्ता अन्य कच्चा पदार्थबाट साबुन उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्ने बोसोरहित साबुनले मानिसको छालालाई कुनै असर नगर्ने महर्जनको दावी छ । 

उनी भन्छिन्, ‘हामीले बनाउने साबुनमा कुनै रासायनिक पदार्थ प्रयोग हुन्न ।’ एक किलो साबुन एक सय पचास रुपियाँमा बिक्री गर्ने महिला समूहको कम्पनीले झोल साबुन उत्पादन गर्न विभिन्न रंग, कागती, ज्यास्मिन जस्ता स्वाद प्रयोग गर्दै आएको छ । 

यस उद्योगलाई थप लगानीसहित व्यवसायिक ढंगले अगाडि बढाउने र थप महिलालाई रोजगारी दिन सकिने आफूहरुको विश्वास रहेको बताउँदै महर्जनले सरकारले पनि यस्ता स्वरोजगारमूलक उद्योगलाई प्रोत्साहन गर्न सहयोगको खाँचो रहेको बताइन् । 

Advertisement

Advertisement