अभिकर्ताहरुलाई शेयर दिनु जायज हो: जीवन बीमक संघ, ‘स्वार्थ बाझिन्छ’-प्राधिकरण

Advertisement

काठमाडौं । पछिल्लो समय अभिकर्ताहरुले आफूहरु पनि बीमा कम्पनीको शेयर किन्न योग्य रहेको तर्क गरेसँगै जीवन बीमक संघले सो कुरा जायज रहेको प्रतिक्रिया दिएको छ । पछिल्लो समय एक अभिकर्ता एक कम्पनीको अवधारणा आएसँगै उक्त माग जायज रहेको संघको प्रतिक्रिया छ । 

जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलका अनुसार विधि र प्रक्रिया पूरा गरेर अभिकर्ताहरुले शेयर चाहियो भन्नु गलत नरहेको टिप्पणी गरे । 

Advertisement

अध्यक्ष पौडेलले भने,‘शेयर लिएपछि अभिकर्ताहरुलाई आफ्नै कम्पनी हो भन्ने महशुस हुन्छ । म्युचुअल फण्डलाई शेयर दिएको जस्तै अभिकर्ताहरुलाई पनि शेयर दिँदा राम्रो हुन्छ । बरु शेयर दिन केही मापदण्ड तोक्दा राम्रो हुन्छ ।’ 

कुनै बीमा कम्पनीमा नियमति काम गरेका, लामो समयसम्म बीमा क्षेत्रको अनुभव भएका त्यस्ता अभिकर्ताहरुलाई शेयर दिनु राम्रो कुरा हो । उनले शेयर वितरणका लागि नेपाल बीमा प्राधिकरणले पहल गर्नु पर्ने र नेपाल धितोपत्र बोर्डले स्वीकृती दिनु पर्ने भएकाले हालसालै शेयर दिन भने सम्भव नरहेको बताए ।

यता बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले आफूहरु अभिभावक भएको नाताले त्यस्तो माग राख्नु जायज भए पनि अभिकर्ताहरुले शेयर पाउने सम्भावना नरहेको बताए । 

कार्यकारी निर्देशक पौडेलले कर्पोरेट नेपालसँग भने,‘अभिकर्ताहरुले हामीसँग शेयर चाहियो भनेर माग्न पाउने अधिकार पनि छ, उहाँहरुले माग्नु जायज हो किनभने हामी त बीमा क्षेत्रको लागि एउटा अभिभावक जस्तै हौ । तर, शेयर माग्दैमा पाउने सम्भावना छैन । अभिकर्तालाई शेयर दिँदा स्वार्थ बाझिन्छ । तपाईँहरुले शेयरको सिद्धान्तमा हेर्नु भयो भने पनि त्यही देख्नु हुन्छ । जस्ले कुनै पनि कम्पनीको शेयर स्वामित्व लिन्छ भने उसले त्यहाँ काम गर्न पाउँदैन । अभिकर्ताको हकमा पनि त्यही हुन्छ ।’ 

उनले अभिकर्ताहरुले एउटा बीमा कम्पनीको शेयर किन्ने र काम अर्को कम्पनीमा गर्न राजी भएर आएमा त्यस्तो अवस्थामा भने पुनर्विचार गर्न सकिने बताए । साथै, अभिकर्ताहरुले शेयर स्वामित्व लिंदा कम्पनीप्रति अपनत्व बढ्छ भन्ने कुराको प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले खण्डन गरे । 

विगतमा पनि बीमा क्षेत्रमा भर्खर पाइला टेकेका केही कर्मचारीले ठूलो भाग खान खोजेको स्मरण गर्दै उनले भने,‘जस्ले आफ्नो मुख्य काम जे हो त्यही काम गर्दा त सफलता पाउने हो नी । काम गर्न छाडेर शेयर मात्रै लिएर बस्ने कुरा त अभिकर्ताहरुले गर्नु भएको छैन होला ।’

Advertisement

Advertisement