बाल बीमा पोलिसिमा फेरि समस्या, नयाँ निर्देशिका जारी गर्ने प्राधिकरणको तयारी

Advertisement

काठमाडौं । बाल बीमामा फेरि नयाँ समस्या उब्जिन थालेको छ । नेपाल बीमा प्राधिकरणकै कर्मचारीबाट बाल बीमालाई गलत ढंगले गर्ने गराउन कम्पनीहरुलाई दबाब दिन थालेको देखिएपछि नयाँ निर्देशका जारी गरेर सुधार गर्न लागिएको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्पोरेट नेपालसँग भने, ‘हामीले आजभोलि नै बाल बीमाको नयाँ गाइडलाइन ल्याँउदैछौं । त्यो गाइडलाइनले अहिलेसम्म बाल बीमामा देखिएका समस्याहरु समाधान गर्न मद्दत गर्छ । विगतका बाल बीमाका कारण आपराधिक घटनाहरु हुन थालेपछि हामीले केही समय बाल बीमा रोक्नुपर्यो । त्यसमा परिवारका अन्य सदस्य समेतको बीमा हुने गरी नयाँ निर्देशका जारी गरेर यो बीमा सुरु गरेका थियौं । अहिले फेरि बाल बीमाको नयाँ गाइडलाइन आवश्यक महशुस गरेका छौं ।’ 

Advertisement

उनले बाल बीमाको नयाँ गाइडलाइनको बारेमा भने केही पनि खुलाउन चाहेनन् । बाल बीमालाई परिस्कृत ढंगले ल्याउन लागेको मात्रै पौडेलले  जानकारी दिए । उनले नयाँ निर्देशिका आएपछि बाल बीमामा हुनसक्ने संभावित आपराधिक घटना अझ कम भएर जाने कसैले पनि यसभित्र रहेको ‘लुप होल’ (कमजोरी)बाट फाइदा उठाउन नपाउने बताए । 

प्राधिकरणका अर्का एक कर्मचारीले बाल बीमा गर्दा परिवारका सबै बालबालिकाको एकैसाथ गर्नुपर्ने कुरा त्यति व्यवहारिक नभएको तर्क गरे । । उनले भने, ‘यो बीमा गर्दा आफ्ना सबै बालबालिको बीमा गर्नुपर्छ भन्ने निर्देशन दिइएको अवस्था छ । त्यसलाई धेरै व्यवहारिक पाटोबाट पनि हेर्न जरुरी छ । जहाँ पनि ग्राहकहरुले भनेको आफ्नो आवश्यकता अनुसारको सेवा लिने हो । त्यसैले ग्राहकले छनोट गर्ने मौका जे खरिद गर्दा पनि पाउनुपर्छ । बाल बीमामा त एउटा मात्रै बच्चाको बीमा गर्न चाहेमा अर्को बच्चाको पनि बीमा अनिवार्य गराउनुपर्ने बाध्यकारी व्यवस्था छ ।’

ती कर्मचारीका अनुसार बाल बीमासम्वन्धी विद्यमान प्रावधान प्राधिकरणकै कतिपय कर्मचारी अलमलमा परेका छन् । बीमा कम्पनीहरुले पनि एउटा बच्चाको मात्रै बीमा गराउन आएका ग्राहकहरुलाई फर्काउनुपर्ने स्थिति छ । 

विगतमा जीवन बीमाबाट पाइने करोडौं रकम हात पार्ने लोभमा आफ्नै बालबच्चाको हत्या समेत हुन थालेपछि यो बीमालाई केही बर्ष बन्द गरिएको थियो । त्यसपछि यो बीमामा कडाई गर्दै पुनः सुचारु गरिए पनि अहिले फेरि विवाद सुरु भएको हो । यता बीमा कम्पनीहरुले बीमा क्षेत्रमै राम्रो आकर्षण रहेको बाल बीमा पोलिसिमा प्राधिकरणले पुनविर्चार गर्नुपर्ने दबाब दिँदै आएका छन् । 

Advertisement

Advertisement