योञ्जनद्धारा रु. छ लाख लगानीमा सम्राट पापड उद्योग सञ्चालन, खाद्य मापदण्ड पूरा गरेर उत्पादन

Advertisement

काठमाडौं । उद्यमी रमिला योन्जनले झण्डै एक वर्षदेखि बल्खुमा पापड उत्पादन तथा बिक्री गर्दै आएकी छन् । छ लाख रुपियाँ लगानी गरी सम्राट पापड उद्योग सुरु गरेकी उद्यमी योन्जनले अहिले मासिक ३० हजार रुपियाँ आम्दानी गर्छिन् । 

उनले पापड उत्पादन गर्ने  मेसिन  भारतबाट र पापड सुकाउने मेसिन चीनबाट आयात गरेकी हुन् । पापड व्यवसाय सुरु गर्नुअघि पिछडिएका महिलाहरुका लागि काम गर्दै आएकी योन्जनले अहिले भने जीवनयापनका लागि उत्पादनमूलक क्षेत्रमा लागेकी छन् । 

Advertisement

उनी भन्छिन्, ‘खाद्य मापदण्ड पूरा गरेर हामीले पापड उत्पादन गर्ने हो । स्वस्थ र गुणस्तरीय भएकाले बजारमा बेच्न गाह्रो भएको छैन् ।’ लगनशील भएर काम गर्दा पापड व्यवसायबाट राम्रो मुनाफा हुने सुनाउँदै योन्जन विशेषगरी घरमा बसेका महिला गृहिणीले यस्ता व्यवसाय गर्नसक्ने बताइन् । 

पापड चनाको दाल, मुङ्गको दाल र घरायसी मसलाको प्रयोग गरेर उत्पादन हुने सम्राट पापडमा अन्य अखाद्य वस्तुहरुको मिसावट नहुने योन्जनको भनाई छ । उनले थपिन्, ‘मैले उत्पादन गर्दै आएको पापडमा कुनै केमिकल प्रयोग हुँदैन् । यसले मानव स्वास्थ्यलाई कुनै असर पर्दैन्  ।’ दुई आकार प्रकारका पापड उत्पादन गर्ने योन्जनले ७ इन्चको पापडको प्याकेटमा आठ पिस हुने र ५ इन्चको पापडको प्याकेटमा ११ पिस हुने बताइन् । दुवै प्रकारका पापड एक सय ग्राम हुने ३० रुपियाँमा बिक्री गर्ने गरिएको छ । 
  
सम्राट पापड काठमाडौं उपत्यकाभित्रका होटल, रेष्टुरेन्ट तथा डिलरहरुमा बिक्री हुने गरेको छ । योन्जनको उद्योगमा रहेको मेशिनको उत्पादन क्षमता एक दिनमा २० हजार पिस रहेको छ । उनले उत्पादन भएको पापड चार महिनासम्म प्रयोग गर्न सकिने बताइन् । 

Advertisement