तपाईंको नयाँ बर्ष २०८० कस्तो रहने छ ? हेर्नुहोस् बर्षफल

Advertisement

नयाँ वर्ष २०८० साल शुक्रबार शूरु हुनेछ । गोचरको सूर्य, मीन राशिबाट मेष राशिमा प्रवेश गरेसँगै वैशाख महिनाको आरम्भ हुन्छ र सो दिनलाई वैशाख संक्रान्ति अर्थात मेष संक्रान्ति पनि भनिन्छ । वैशाख महिना, बर्ष गणनाको हिसावले पहिलो महिना भएका कारण वैशाख एकलाई नयाँ बर्षका रुपमा नेपाल, भारत लगायतका देशमा भव्य रुपमा मनाउने गरिन्छ । साथै यि देशका नागरिकहरु पुगेका संसारका धेरै देशमा वैशाख १ लाई नयाँ वर्ष मनाउने प्रचलन बढ्दो छ ।

यस बर्ष राजाका रुपमा बुध र मन्त्री ग्रहका रुपमा शुक्र रहेका छन् । साथै यस नयाँ बर्ष २०८० सालमा नलनाम संवत्सरको समाप्ति भएर पिङ्गलनाम संवत्सर आरम्भ भइसकेको छ । 

Advertisement

यस नयाँ बर्षमा सुख सुविधाका अवसरहरु भने बृद्धि हुने छ । उपभोग्य सोच, विचार र व्यावहारमा बृद्धि हुने छ । मानिसहरुले सुख सुविधाका उपकरण तथा साधनहरु खरिदका लागि अग्रसर रहने छन् । सुख भोग गरौँ भन्ने मनस्थितिमा व्यापक बृद्धि हुने छ । प्रतिष्पर्धात्मक गतिबिधिमा ह्वात्तै बृद्धि हुने छ । तर उक्त प्रतिष्पर्धात्मक दौड नैतिकता, आचार संहिता, नियम तथा पथपरेजको दायरामा भन्दा क्रुरता तथा गैरकानूनी आधारमा अघि बढ्ने छ । समाजमा बेथिति बढ्ने छ भने सर्वसाधारणले आफ्नो जीवन जीउन संघर्ष गर्नुपर्ने छ ।

सामाजिक जीवनमा खल्वली पैदा हुने छन् । सामाजिक सद्भावमा केही कमि आउने छ । मजदुर समस्याबाट उद्योग व्यावसाय तथा व्यवसायिक जगत पीडित हुने छ भने स्वयं मजुर बर्ग रोजगारी कटौति, असुरक्षा र मन्दीको दौरबाट गुज्रने छ । समाजमा हत्या, बलात्कार, चोरी, हिंसा, उत्पाद जस्ता जघन्य प्रकारका घटनाहरुमा बृद्धि हुने छन् । 

पर्यटन जगतमा केही चलायमान र बृद्धि देखिने छ । साथै होटल, ट्रेकिङ्ग, ट्राभल्स, हवाई उड्ययन जस्ता क्षेत्रमा पनि चलायमानपना बृद्धि भई सक्रियता आउने छ । सौन्दर्यका सामग्री, महिलाका लत्ता कपडा, रेडिमेड आइटम, फेसनका सामग्री, यौनजन्य उत्पादनका सामग्रीहरु, श्रृङ्गार, घर सजावटका सामग्रीहरु, रङ्गार, घर सजावटका सामग्रीहरु, रङ्ग जस्ता क्षेत्रको व्यापारमा सकारात्मक गति आउने छ । साथै मदिराजन्य व्यवसाय, डान्स बार, बार, पेय पदार्थ, होटल, रिसोर्ट, मोटल, तडकभडकपूर्ण क्षेत्रको व्यवसायमा पनि बृद्धि हुने छ । गाडि, वाहन र सवारीसाधनको कारोवारमा गति आउने छ ।

यस बर्ष वित्तिय जगत, बैकिङ्ग जगत, बीमा क्षेत्रमा अराजकताको अवस्था निम्तिने चुनौति रहने छ । राज्यका निकायहरुले व्यवस्थापकीय क्षमता गुमाउने छन् भने यसको असर सर्वसाधारणको वाणिज्य कारोवारमा प्रत्यक्ष रुपमा देखिन पुग्ने छ । बजारीकरण अर्थात मार्केटिङ्ग क्षेत्र, विज्ञापन जगत सुस्त बन्ने छ । मानिसको बोलीको विश्वासमा कमि आउने छ । साथै व्यवसायिक विश्वसनीयतामा पनि कमि आउने छ ।

२०८० सालमा राजनीति क्षेत्र अस्थिर र डगमगाउने अवस्थाबाट नै अघि बढ्ने छ । यसले देशको आवश्यकता अनुसार नेतृत्व र गति दिन सक्ने छैन् । यस बर्षमा राजनीतिक दलका केही नेताहरुको र राजनीतिक दलको साखमा गिरावट आउने छ । उनीहरु एकआपसमा अपमान र बद्नामीको क्रममा स्वयं लिप्त हुने छन् । राष्ट्रको अध्यक्षता गर्ने निकाय र राज्य संचालन गर्ने निकायका बीचको सम्बन्धमा सामान्यतया यस बर्ष औसत अवस्था रहने छ । राष्ट्र अध्यक्षता गर्ने निकायले राष्ट्र संचालन गर्ने निकायबाट भइरहने बेथितिका विषयमा सचेत ढंगबाट खवरदारी तथा मार्गनिर्देश गर्न चुक्ने छ । यसले गर्दा देशमा भ्रष्टाचार र अनियमितताले यस २०८० सालमा व्यापकता पाउने छ । राष्ट्राध्यक्ष गर्ने निकाय मुकदर्शक भएर रहने छ ।

यस सालमा चालिने राजनीतिक कदमले नतिजामुखी परिणाम दिन सक्ने छैन् । राजनीतिप्रतिको सर्वसाधारणको विश्वासमा गिरावट नै रहने छ । विश्व जगतमा पनि राजनीतिक वातावरण अस्थिर र आरोप प्रत्यारोपको टकराबबाट अघि बढ्ने छ । अदालती सक्रियता बढ्ने छ र त्यो विवादरहित हुने छैन् ।

शिक्षा र बौद्धिक क्षेत्रमा भने केही सकारात्मक गति आउने छ । बौद्धिक बर्गमा निराशाको क्रम भने यथावत रहने छ । बौद्धिक क्षेत्रका मानिसहरुमा विदेश पलायनको क्रम यस बर्ष अझ बढ्न पुग्ने छ । विदेशमा पुग्ने नेपालीहरुले यस बर्ष थप संघर्ष गर्नुपर्ने देखिन्छ ।

सर्वसाधारण विवाहयोग्य युवायुवतीमा २०८० सालमा ‘वैवाहिक बन्धनमा बाँधिनु पर्छ’ भने हुटहुटीपूर्ण उर्जा प्रवाहित हुने छ । विवाहित जोडिमा रोमाण्टिकपना उच्च रहने छ । स्वदेशी पर्यटकका रुपमा नेपालीहरुमा भ्रमणशिलतामा ह्वात्तै बृद्धि हुने छ ।

वातावरणीय प्रदुषणको असन्तुलन कायम रहने छ र यसको सिधा असर खेतिपाती तथा पशुजन्य क्षेत्रमा पर्ने छ । पशुपंछिजन्य रोग व्याधीले किसानीमा व्यवधान ल्याउने छ । पशुपालन राम्रो भए तापनि कृषि कर्ममा भने समस्या आउने छ भने कृषि क्षेत्र निराशामा रहने छ ।

राजनीति विषयलाई लिएर निकै बादविवाद र तनाव उत्पन्न हुने भएकाले त्यसको सोझो असर आर्थिक क्षेत्रमा पर्ने छ । राजनीतिक दल तथा नेताहरुमा एक आपसमा आरोप–प्रत्यारोप बढ्ने छ भने गालि गलौजको मात्रामा व्यापक बृद्धि हुन पुग्ने छ । राजनीतिक दलको विश्वसनीयतामा गिरावट आउँदा अस्थिरता बढ्ने छ । 

व्यवसायिक गतिविधिहरुमा केही चलायमान भए तापनि पेशागत अस्थिरताको अवस्था कायम रहँदा समाजमा अस्थिरताको मानसिकता विद्यमान रहने छ । उपभोग्य वस्तुहरुको अस्वाभाविक मूल्य बृद्धि भइरहँदा सर्वसाधारणको देनिकी कष्टकर रही नै रहने छ । सूचना प्राविधिको क्षेत्रमा केही सुस्तता आउने छ । सूचना प्रविधिले मानिसको प्राकृति जीवनलाई निकै नकारात्मक असर यस सालमा पु¥याउने देखिन्छ भने यसैका कारण परिवार–परिवारमा मानसिक अस्थिरता र निराशाका क्रममा ह्वात्तै बृद्धि हुन पुग्ने छ । 

संचारसँग सम्बन्धित क्षेत्रमा विश्वसनीयतामा कमि आउने छ । साथै पत्रकारिता जगतमा सर्वसाधारणको विश्वास र भरोषामा पनि कमि आउने छ । 

सर्वसाधारणमा हृदयरोग, उच्च रक्तचाप, क्यान्सर, छालाजन्य समस्या, मष्तिष्कसम्बन्धि समस्या, हाडजोर्नीजन्य समस्या जस्ता रोगहरुको दर बढ्ने छ । साथै बृद्धबृद्धाको मनोदशा नरिाशाजनक अवस्थामा रहने छ ।

कर्पाेरेट नेपालको तर्फबाट यहाँहरु सबैमा नयाँ बर्ष २०८० को पावन उपलक्ष्यमा हार्दिक मंगमय शुभकामना अर्पण गर्दछौँ ।

मलमासबारे जानकारी
यस बर्ष मलमास अर्थात अधिमास वा पुरुषोत्तम महिना परेको छ । यस बर्षको श्रावण महिनामा अधिकमास रहेको छ । यसबर्ष अर्थात २०८० सालको श्रावण २ गते मंगलबारदेखि अधिकमास आरम्भ भई श्रावण ३१ गते बुधबार अधिकमास समाप्त हुने छ । 

दशैँ तिहारबारे जानकारी
यसबर्ष अधिकमास परेका कारण दशैँ र तिहार जस्ता महत्पूर्ण चाडपर्वहरु अलि पछाडि धकेलिन पुगेका छन् । यसबर्षको बडादशैँ आश्विनको अन्तिम हप्ताबाट आरम्भ हुने छ । अर्थात आश्विन २८ गते आइतबार घटस्थापना परेको छ । फूलपाती कार्तिकको ४ गते शनिबार, महाअष्टमी ५ गते आइतबार परेको छ । विजयादशमी अर्थात बडादशैँको टीका ७ गते मंगलबार परेको छ । कोजाग्रत पूर्णिमा ११ गते शनिबार रहने छ, र सोही दिन चन्द्रग्रहण लाग्ने छ । 
यस बर्षको तिहार अर्थात दीपावली कार्तिकको अन्तिम सातामा परेको छ । यमपञ्चक कार्तिक २५ गते आरम्भ भएर कार्तिक २९ गते समापन हुने छ । लक्ष्मीपूजा २६ गते आइतबार परेको छ भने भाइटीका तथा किजापूजा २९ गते बुधबार परेको छ ।

ग्रहणबारे जानकारी
वि.सं. २०८० मा विश्वमा कुल ४ वटा ग्रहण लाग्ने छ अर्थात देखिने छ । जसमध्ये ३ वटा सूर्यग्रहण र एउटा चन्द्रग्रहण रहने छन् । यि ग्रहणहरु मध्ये २०८० वैशाख ७ गते, असोज २७ गते र चै    त्र २६ गते लाग्ने सूर्यग्रहण नेपालमा देखिने छैनन् । त्यसकारण यसको असर नेपालमा पर्ने छैनन् । जसले गर्दा यि ग्रहणको दोष पनि नेपालमा लाग्ने छैन्, अर्थात बार्नु पनि पर्दैन् । कार्तिक ११ गते लाग्ने चन्द्रग्रहण मात्र नेपालमा देखिने भएकाले बार्नु पर्दछ । 
अर्थात नेपालमा कार्तिक ११ गते शनिबार पूर्णिमा तिथिका दिन चन्द्रग्रहण लाग्ने छ । यस ग्रहण खण्डग्रास चन्द्रग्रहण हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement