चुहावट रोक्न भन्दै विभाग ‘एक्सन’मा, १२४ गाडी नियन्त्रण, रु. ८ करोड ७८ लाख बिगो माग

Advertisement

काठमाडौं । भन्सार महसुल चुहावट रोक्न राजस्व अनुसन्धान विभाग आक्रामक बनेको छ । विभागले गोप्य सूचनाको आधारमा १२४ भन्दा बढी गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । 

नियन्त्रणमा लिइएको गाडीबाट आठ करोड ७८ लाख बिगो माग गरिएको छ । विभागले आफूले गरेको यो प्रतिनिधिमूलक कारबाही मात्रै हो भन्दै दैनिक रुपमा करोडौं रुपियाँ राजस्व छली भइरहेको देखिएको बताएको छ । 

Advertisement

भन्सार नाकाहरुमा खटिएका कर्मचारीहरुले व्यवसायीहरुको आर्थिक प्रलोभनमा परी यथार्थभन्दा कम महसुल लगाएर गाडी जाँच पास गराउने गरेको भन्दै विभागका अधिकारीहरुले पछिल्लो समय भैरहवा, वीरगञ्ज, त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खुलेआम कर्मचारीले सेटिङमा मालवस्तु जाँचपास गराउने कार्यमा सक्रिय रहेको बताएका छन् । 

आफूहरुको भन्सारमा कडाई गरेपछि दिनदिनै कर्मचारी र भन्सार एजेन्टहरुको भागाभाग हुने गरेको विभागको दावी छ । भन्सारमा सेटिङ गरी काम गर्नेहरुले भन्सार विभाग र कार्यालयहरुमा कार्यरत कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी जाँचपास गराउने गरेको राजश्व अनुसन्धानमा सक्रिय कर्मचारीहरुको भनाई छ ।

राजश्व अनुसन्धान विभागका एक कर्मचारीले अहिले विभागले देशभरी नै भन्सार जाँचपासलाई कडाईका साथ हेरिरहेको बताउँदै महानिर्देशकको जिम्मेवारीमा नारायण सापकोटा गएपछि तीन महिनाभन्दा कम समयमा नै १२४ गाडीमाथि कारबाही गरिएको बताए । उनीहरुको छानविन गर्दा प्रतिगाडी सात लाख आठ हजार रुपियाँ राजस्व छली भएको देखिएको उनले बताए । 

व्यवसायीले समातिएको गाडीमा तोकिएको धरौटी दाखिला गर्नु भनेको गल्ती स्वीकार गर्नु हो भन्दै ती कर्मचारीले यसले भन्सारमा राजस्व छलीको तस्वीरलाई स्पष्ट देखाएको बताए । उनले भने, ‘अहिले महानिर्देशकज्यू भन्सार महसुल चुहावटविरुद्ध निर्मम हुनुभएको छ । उहाँले भन्सारबाट पसेर आन्तरिक राजस्व विभागबाट निस्किने योजना बनाउनु भएको छ ।’ 

सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा खर्च धान्न हम्मेहम्मे परिरहेको छ । राजस्व नउठ्दा तलब भत्ता खुवाउन समेत महँगो ब्याजदरको आन्तरिक तथा बाह्य ऋण लिन सरकार बाध्य भएको छ।

सापकोटाले महानिर्देशकको जिम्मेवारी सम्हालेपछि भन्सारमा हुने चुहावटलाई मूलदेखि नै सफाई गर्ने योजना बनाएको बताएका थिए । उनले देशभरका भन्सार नाकामा हुने नयाँ प्रकृतिको चुहावटलाई समेत अध्ययन गरिरहेका बताएका छन् । 

विभागले कारबाही गरेका भन्सार कार्यालयहरुमध्ये रसुवा भन्सार कार्यालय, वीरगञ्ज भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय रहेको छ । त्रिभुवन भन्सार कार्यालयले जाँचपास गरेका मोबाइलका पार्टपुर्जा, गार्मेन्टका सामाग्री, ड्रोन इत्यादी रहेका छन्।

विभागले चालु वर्षमा २१ वटा राजस्व चुहावटतर्फको मुद्दा टुङ्गाएको छ । जसबाट ९८ करोड ४० लाख बिगो रकम माग गरेको छ । यस्तै विदेशी विनिमयतर्फ १७ वटा मुद्दा टुङ्ग्याएको छ, जसबाट छ करोड ९४ लाख रुपियाँ बिगो माग दाबी गरिएको छ । 

भेहिकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) कारबाहीबाट ७७ लाख ३८ हजार जरिवाना असुल भएको भन्दै राजश्व अनुसन्धान विभागले चालु वर्षमा दुई सय वटा गाडीलाई कारबाही गरिएको र दुई वटा लिलाम बिक्रीबाट एक करोड ३३ लाख रुपियाँ राजश्व अशुल गरेको जनाएको छ । 

Advertisement

Advertisement